म त कालो भन्छु बरु

विञ्जु महत

रङ्गिन जिन्दगीमा आफ्नो रङ थप्छु भनी इन्द्रेणी आइपुग्यो
रङ्गहरू घुल्दै जाँदा कालो रङ्गमा परिवर्तन हुन पुग्यो ।

सुख, आनन्द, शान्ति इत्यादी चाहने मनमा एक्कासी
दुख, कष्ट र पीडा पाउने रहर नै भएको जसरी हिँड्नुपर्‍यो ।

हो, कर थिएन, तर स्वामी बिनाको घर, घर भएन
सुखमा साथी हुन्छु, दुख पर्दा साथ दिन्छु भन्ने वचन काफी थिएन
निभाउनु झन ठूलो वचन थियो मेरो लागि ।

नियतिको खेल भनौं या मेरो अभागी भाग्य
सायद त्यो कालो रङ्गको प्रभाव होला
मैले जीवनमा दुई पलको खुसीबाहेक केही पाइनँ ।

विष्णु स्वरूप श्रीमान् त पाएँ
तर सुख शान्तिले उहाँसग जीवन बिताउन पाइनँ
सायद त्यो कालो रङ्गको प्रभाव उहाँमा पनि लागू भएको हुन सक्छ ।
फेरि नलागोस् पनि कसरी ?
आखिर मेरै स्वामी ।

जसो तसो दुखमा पनि हाँस्दै थियौँ
भर्खरै त किचडमा कमलको कोपिला लाग्दै थियो
पापी गिद्देनजरहरू खोइ कसोरी आइलागेछन्
सायद फूलको मोह धेरै भएर होला
कोपिला नटिपी बस्नै सकेनन् ।

चाहेको भए त्यो कोपिलालाई भुल्न नि सकिन्थ्यो होला
तर फूलको बीच भाग (मुटु)लाई नै पो टिपेर लगेछन् ।

निकै गाह्रो भयो पछ्याउन
त्यही भएर प्रकृति र नियतिले एकै साथ, साथ दिन लागे
दुवैको सङ्गमको अगाडि कसैको केही लागेन
मै हुँ भन्नेले पनि आफ्नो अहंता त्यागेन ।

आखिर आफ्नो जिदले आफैलाई खायो
फूलले फेरि कोपिलासँग बस्ने मौका पायो ।

तर आध्यारो रङ्ग जीवनबाट अझै हटेको थिएन
बाटो भरी मलाई पछ्याउँदै आयो
रङ्ग यति बढ्न थाल्यो, केवल मेरो शरीर मात्र कोइला सरी धप्धपी बल्न लाग्यो ।

किरणको आशा स्वामीसँग मागेँ
बदलामा अग्निपरीक्षा पाएँ
एक्लै हिडेँ, एक्लै बलेँ, स्वामीको माया आगोमै छाडेँ
कालो रङ्ग हराउदै गयो, खोइ किन होला त्यही इन्द्रेसँग मोह बस्यो ।

आज पनि मेरो कहानी सोच्दा एउटै रङ्गदेखि सुरु गरेर
एउटै रङ्गमा अन्त्य हुन्छ
मिश्रण भन्छन् ज्ञानीहरू
म त कालो भन्छु बरु
म त कालो भन्छु बरु ।

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button