प्रेम: खोजेँ वेश्याका मन्दिरमा, देउताका वेश्यालयमा

कविता

लक्ष्मण खतिवडा
जोरपाटी, काठमाडौं

उज्यालो अन्धकारमा खोजेँ
अँध्यारो ज्योतिमा खोजेँ
खोजेँ मेरो स्वप्नमा
मेरै जाग्रितीमा खोजेँ ।

कोही नभएर एक्लो उमङ्गमा खोजेँ
कोही भएर एक्लो उदासीमा खोजेँ
खोजेँ छुट्दै गरेका हातहरुमा
जोडिँदै गरेका ओठहरुमा खोजेँ ।

अस्विकृत प्रेम प्रस्तावमा खोजेँ
स्विकारिएको स्वार्थी सम्झौतामा खोजेँ
खोजेँ घिनलाग्दा संभोगहरुमा
सुन्दर हस्तमैथुनमा खोजेँ ।

श्रापित भूतमा खोजेँ
आशा भरिएको भविष्यमा खोजेँ
खोजेँ घृणा लाग्ने सम्झनामा
माया लाग्ने कल्पनामा खोजेँ ।

कुरुप पहाडहरुमा खोजेँ
चिसा फाँटहरूमा खोजेँ
खोजेँ वेश्याका मन्दिरहरुमा
देउताका वेश्यालयमा खोजेँ ।

खोज्दै जाँदा
मैले आफ्नै परिचय भूलेँ
र यसरि म स्वयं प्रेम भएँ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button