
गणतन्त्रको बगैँचामा शक्तिशाली ज्योतिष !
सुबिन न्यौपाने कान्जिभाइ
गणतन्त्रको बगैंचामा
सिङ्गो मुलुकको चिना लिएर बसेका छन्
पुरातन चेतले ग्रस्त एक ज्योतिष !
एउटा हातमा रुद्राक्षको माला
र,अर्को हातमा मुलुकको कुण्डली लिएर
रातो गलैँचामा बसेका उनै ज्योतिषले
हल्लाउछन् गणतान्त्रिक राज्य !
हल्लाउछन् राष्ट्रको प्रगतिशील चेतना !!
उसो त
क्रान्तिकारी कविको कविता भन्दा
शक्तिशाली छ यी ज्योतिषको भविष्यवाणी !!
देखेपछि ज्योतिषको अनुहार
सुनेपछि ज्योतिषको मन्त्र
मार्क्सवादलाई भाग्यवादले हैरान बनाउँछ
कमरेडहरू पूँजीवादको बाटो भएर
सरकार चलाउने दिवास्वप्न देख्छन्
र लुसुक्क छिर्छन्
सङ्कटा मन्दिर सङ्कटमोचन गर्न !
बीपी विचारका प्रजातान्त्रिक मनहरू
चटक्क बिर्सेर आफ्नो विचार
सात चोटि सिँहदरबार सम्हाल्ने
ज्योतिषवाणीले प्रफुल्ल हुन्छन्
एउटा अभागी देश
शरण पर्छ शक्तिशाली ज्योतिष निर्मित चिनामाथि ।
रातो गलैचा बिछ्याएर
हरियो रुखमुनि बसेको
ज्योतिष देखेपछि
भयभीत हुन्छन् बन्दुक बोकेका मान्छेहरू !
डराउँछन् नगरपिता बन्न आतुर नौजवानहरू
खैलाबैला हुन्छ कलमले क्रान्ति सम्पन्न गर्छु भन्नेहरुमा
मजदुरहरू नाम्लो बिसाएर निदाउँछन्
एक आस्थावान् निन्द्रा
ज्यामीको श्रम शोषण गर्ने उद्योगका मालिक
ज्योतिषीलाई माटो हेराएर
नगरभरि ठड्याउँछन् आलिसान महल !
गणतान्त्रिक देशको ज्योतिष
रातो कार्पेटमा बसेर
हेरिरहेछ देशको आखत
र,सगर्व घोषणा गरिरहेछ-
देशबाटै देश कतै हराइसकेको छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)