
सिँढी टेकेर मन्दिर पुग्नेलाई के थाहा ती सिँढीहरू कति दुखेका छन् ?
सिँढीहरू
ओमकुमारी बन्जारा रानाभाट
सामाखुशी, काठमाडौं
सिँढीहरूकै
छातीमा टेकेर
मन्दिर पुग्ने
तिर्थयात्रीहरूलाई
के थाहा
ती सिँढीहरू
कति दुखेका छन् ?
बुट बजार्दै
गन्तव्यतर्फ लागेका
बुटका नमेटिने छाप
अझै मेटिएका छैनन् कि !
कतिले
चप्पलले
सिँढीहरूका छातीमा
दुख्नेगरी हिर्काए होलान् ?
कतिले
चप्पलको धूलो
टक्टक्याएर हिँड्दा
सिँढीहरूले
स्वंयमलाई चिनेनन् कि !
कतिले
हिलो टेकेर
आएका चप्पलले
हिलाम्मे बनाइदिएर
सिँढीहरू कुरूप भए कि !
सिँढी सुकिलो देखिन
बर्षायाम नै
कुर्नुपरेको पीडा
सिँढीहरूबाहेक
कसलाई थाहा छ होला र ?
लपक्कै झार पलाएर
सिँढीहरूकै
अस्तित्व मेटाउन
लागिपरेको अबिजालोलाई
के थाहा
गन्तव्यमा पुग्न
आतुर यात्रीहरूलाई
सिँढी सुकिलो हुन
कति जरुरी छ भन्ने कुरा ?
सिँढीहरूमैँ
यात्री चिप्लेर
लड्लान् भन्ने
पिरलो सिँढीहरूलाई हुन्छ
कसले थाहा पाउनु ?
यो वेदना सिँढीहरूको
यात्रीका पदचापले
कहिल्यै नथाक्ने
सिँढीहरूसँग
सिक्नु छ मान्छेले
धीरता
सिँढीहरूका पत्थरसँग
सिक्नु छ
मान्छेले कला
र संस्कृति
जहाँ सभ्यताका
असङ्ख्य छापहरू
सिँढीभन्दा माथि
अझ माथि
धेरै माथिसम्म अग्लन्छन्
र संसार फैलन
तल तल
अझ तलसम्म
हिमाल पग्लेझैँ पग्लन्छन्
यिनै सिँढीबाट
तेञ्जिङ्
अग्लिए सगरमाथा
बुद्ध
पग्लिए विराट् ब्रह्मण्ड!!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



