
तिम्रो काम बाँच्नका लागि हरप्रयास गर्ने हो, मार्ने काम मेरो हो
मृत्यु–११
ठाकुर बेलवासे
आफ्नो हत्याको तयारी गर्दै थिएँ
मृत्यु अघिल्तिर आएर भन्यो–
‘मर्नका लागि हतार नगर
तिम्रो काम बाँच्नका लागि हरप्रयास गर्ने हो
मार्ने काम मेरो हो
म सोचिरहेको छु
तिम्रो अन्त्य !’
मृत्युका कुरा सुनेर
अघिसम्म मर्ने तयारी गर्दै गरेको म
लगलग काँप्न थाले
मृत्युले सत्य भन्यो
पृथ्वीका सारा प्राणी बाँच्नका लागि भगीरथजस्तो संघर्ष गरिरहेका छन्
मर्न किन हतार गर्नु
बाँच्छु सकेको बाँच्छु !
मृत्युसंग लुकेरै बाँच्छु !
म आफूलाई बचाउनका लागि माहुरीजस्तो
र बाँच्नका लागि कमिलाजस्तो बन्न थाले
मान्छेहरु मलाई बाँचोस् भन्ने चाहेनन्
सरकार म बाँच्नु पर्छ भन्ने सोच्दैसोचेनन्
अब आफू बाँच्न मैले
अरुको हत्या गर्ने योजना बनाए
फेरि मृत्यु सामुन्ने आएर भन्यो–
‘जीवित लासहरु यसो गर्छन्
संसारमा जीवित लासहरुको जगजगी छ
तिमी बाँचुञ्जे जिउँदो मान्छे भएर बाँच !
मृत्युसंग भागेर, होइन
डराएर बाँच
अनि आफ्नो जीवनको माया लागेजस्तै
अरुको जीवनको पनि माया लाग्छ !’
मृत्युका कुरा सुनेर
म मूर्तिवत भएँ
मृत्युसंग सोध्न मन छ
मैले जीवितमान्छे भएर बाँच्ने समय अब कति बाँकी होला !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)