
फूल मसँग तर्कियो
कविता
रुद्रप्रसाद उप्रेती
एकाबिहानै बगैंचा पुगें
नित्यपुजाका लागि
एउटा सुन्दर फूल मनमनै रोजें
फूल टिप्न हात लम्काउन खोजें
फूल मसँग तर्कियो ।
मैले सोधें फूललाई
तिमी मसँग किन तर्कियौ ?
फूल भन्न थाल्यो–
मलाइ टिपे पनि नटिपे पनि
क्षण भंगुर छु
तर मेरा केहि इच्छा त सुन
अनि मलाई मनलाग्दी गरौला
मलाई टिपेर जताततै छरौला ।
मलाइ टिपेपछि
कुनै भगवानको चरणमा
चढाउनेको इच्छा पुर्तीका लागि नचढायोस्
कुनै सुन्दरसुन्दरीको विवाह मण्डप सजाउन
तिनको देह उजिल्याउन प्रयोग नगरियोस्
कुनै नेताअभिनेताको
सवारिमा मञ्च र तिनको गला सजाउन
मलाइ उपयोग नगरियोस् ।
कुनै तथाकथित राजामहाराजा
समाज सुधारक, महान व्यक्तिको महाप्रस्थानमा
शव यात्रामा प्रयोग नगरियोस्
कसैको सवारी, सम्मान र स्वागतमा प्रयोग नगरियोस् ।
ए मानव मलाई टिपेर
त्यहि धुलाम्य सडकमा छरिदेऊ
जहाँ मानिसहरु
सामाजिक तथा राष्ट्रिय मुक्तिको विगुल बजाएर
जनजिवीका र युगानुकुल राष्ट्र निर्माणका बाजा बजाएर
हुलकाहुल हिँडिरहेका छन्
तिनका पैतालाले टेकुन् मलाई
र, त्यहि धुलोमा विलय हुन पाउँ ।
ए मानव मलाई टिपेर त्यो चउरमा छरिदेऊ
त्यो चोकमा छरिदेऊ
त्यो काल कोठरीमा छरिदेऊ
जहाँ मुक्तिका लागि लडनेहरुको शरीर ढलेको थियो
जहाँ योद्धाहरुको रगत बगेको थियो
जहाँ विरहरुको मनोवल उच्च भएर पनि
भौतिक शरिर गलेको थियो
म त्यहि माटोमा विलीन हुन पाउँ
म त्यहिं धर्तीमा धुलिसात हुन पाउँ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



