
बेबी सावरः जन्मेको मर्दैछ, पेटमा बधाई छ
टंक सुवेदी
सुस्तरी चलेको बतासको स्पर्शले
मनको तरेलीमा ज्वारभाटा उठाउँदा
तिमीले भनेको सम्झना आयो
तासको घर नबनाउनु
हावामा न उड्नु अनि
दिउँसो सपना नदेख्नु ।
मुटुको छोटो छोटो चाल सुनेर
प्रत्येक शिरा छट्पटिएको सुन्दा
यात्राहरु सम्झना आयो
अरु जस्तो नहिँड्नु
बाटो नबिराउनु
घरीघरी नधाउनु ।
पस्किएको तातो खानाको बासनाले
नाकको फेदीमा बसेका घ्राणग्रन्थी जगाउँदा
होटलका मेन्युहरु याद आयो
हुँदा खाने
खाने बेलामा हुने
परिकारहरु ।
पढेपछि मथिङल हल्लाउँदै दवावमा राख्दा
बुढी औंला मात्र चलाउने फेसबुकेहरु
शब्द पोख्ने मनकारी
केही नलेख्ने
केही नभन्ने दरिद्र
फेरि याद आयो ।
सम्पत्तिको तुजुकमा हल्ला गर्ने नवधनाढ्यहरु
लाखौंको गाडी सडकमा राखेको देख्दा
दुइचार सयको चाबी घरभित्र
जड निर्बुद्धि
निीठुरी
खेलौना याद आयो ।
बाआमालाइ बृद्दाश्रममा राखेर पित्री भज्दा
बेबी सावर र मुख हेर्ने दिन याद आयो
जन्मेको मर्दैछ
पेटमा बधाई छ
अरु केही पाएन
यो के लेख्दैछ ?
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)