
श्रीमतीले श्रीमानको अर्की श्रीमती भेट्टाएपछि जापानमा के भयो ?
कथाः रहस्य
रूपा अधिकारी
काठमाडौं
‘हेलो मम्मी ढोग’, एकाबिहानै जापान बस्ने छोरा सुधीरले आमालाई फोन गर्यो ।
आमाले फ़ेसबुक मेसेन्जरमा केटीको फोटो पठाइदिइन्, ‘कस्तो लाग्यो बाबु केटी ?’
‘केटी त राम्री छन् तर म अहिले विवाह गर्ने सोचमा छैन के आमा । कुरा बुझ्नुस् न ।’
‘बाबु ३० वर्ष लागिसकिस् । कहिले गर्ने त विवाह ? तँ यो पालि उम्कन पाउन्नस् । लगन जुराई खबर गर्छु । तँ आउनु पर्छ ।’
‘हुन्छ मम्मी, म हारेँ ।’
उस्को विवाह भयो । श्रीमतीलाई नेपाल छोडी गएको उस्ले धेरै समयसम्म पनि जापान लान सकेन । श्रीमतीले जापानी भाषा पढिन् र एक पुरुषको नक्कली (सम्झौताको) श्रीमती बनी डिपेन्डेन्टमा भए पनि जापान जाने र आफ्नो श्रीमानसँग बस्ने तरखरमा लागिन् । श्रीमानले उनलाई ‘यसरी नआऊ, म मिलाई बोलाउँछु’ भने । तर श्रीमतीको भिषा लाग्यो ।
ऊ जापान पुगी । जापान पुराई दिने काम मात्र सम्झौताको श्रीमानको थियो । ऊ एयरपोर्टमा श्रीमानलाई कुरेर बसी । श्रीमान आयो तर केही समय कोठा म्यानेज गर्नुपर्ने कारण सँगै लान नमिल्ने भनी होटेलमा बस्ने व्यवस्था गरिदियो ।
केहि समय बित्यो । बल्ल उस्ले आफ्नो श्रीमतीलाई आफूसँग लग्यो । श्रीमान प्रायः अफिसको कामले घर आउन पाउँदैन थियो । एक्कासि उस्लाई अफिसको कामले एक महिनाको लागि अर्कों देश जानु पर्ने भयो । एक दिन घरमा एक पत्र आयो । पत्र जापानी भाषामा थियो ।
‘तिमीसँग फोन सम्पर्क हुन सकेन । दुई हप्ता भयो । छोरी बिरामी छ । उस्लाई कति समय हस्पिटलमा राख्नु पर्ने हो थाहा छैन । पैसाको पनि जोह गरी तिमी ‘खानागावा’ हस्पिटलमा आऊ ।’ –श्रीमती एरी यामागुची
उस्ले यो पत्र पढी र गहभरी आँशु बोकी साथीसँग गुनासो पोखी ।
‘विदेशमा यस्तो धेरैको छ साथी । तिम्रो श्रीमानले पनि पिआरको लागि एरीसँग विवाह गरेको थियो ।’
श्रीमान प्रायः घर नआउने बहाना र आफूलाई जापान ल्याउन नसकेको रहस्य बुझ्न उस्लाई कठिन परेन ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



