
सोच्नु छ मैले चारदिन धर्ती नछोइने उपायहरु
रातो रङ्ग
आयुष पौडेल
बा’ले मलाई देखे देखेनन्,
मैले करेसा देखेँ
धरहराको उचाइबाट छाउ भेटियो भेटिएन,
मैले भेटेँ
तिम्रो क्यान्भासमा रातो लेखियो लेखिएन,
मैले लेखेँ
र सोच्दै छु, धर्ती नछोइने उपाएहरु ।
गुराँस रातो देख्छु, झण्डा रातो देख्छु,
माटो रातो छ, अविर रातो छ
आमाका चुरा, सिन्दुर राता
र सम्झन्छु, बा’को शरिरमा
पनि रातो रगत बगेको
रातो रङ्ग छाउभित्र लुक्दा
इन्द्रेणी बन्ला कि नबन्ला ?
घाम उदाउला कि नउदाउला
मलाइ छोइने डरले,
जस्तो जुन छाउभित्र
चिहाउन बिर्सिए जस्तो !
कल्पनामा छ दिदिको मृत शरीर
चार दिन झ्याल बन्न नसक्ने
गाउँको सांस्कृतिक पर्खाल
उसले फेर्न नसकेको एक अँजुली सास,
र छाउलाइ नछुने बेइमान बतास !
सम्झनामा चार दिन, चार घडी, चार प्रहर
चार पटक राख्नु छ
र विस्वास गर्नु छ,
हिटलरले चारदिन महिला यहुदी नमारेको
चार दिन गँगा नबगेको
मेरा बा’ले चारदिन काली नपुजेको
र विधुवाले चार दिन रातो रङ्ग नबगाएको ।
अनि सोच्नु छ मैले,
चारदिन धर्ती नछोइने उपायहरु !
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



