मृत्युले आगो निभाइदिएर म खरानी हुनबाट जोगिएँ

कवि ठाकुर मृत्यको काव्य-चिन्तनमा छन् । र, नेपालनाम्चामा मृत्युमाथि कविता श्रृंखला चलाइरहेका छन् । यो उनको दशौं 'मृत्यु-कविता' हो । सं

मृत्युसंगत

ठाकुर बेलवासे

सँगै जन्मिएको मृत्यु
सँगसँगै खेलेर हुर्कियो ।

हिँड्दै गर्दा
बाटो पहिरामा पुरियो
म मृत्युको हात समातेर पुरिनबाट जोगिएँ ।

एकाएक बाढी घरमा पस्यो
बाढीमै डुब्यो घर
म मृत्युको काँध चढेर
डुब्नबाट जोगिएँ ।

हठात
अध्यारो हुँदा समय
आगो बालेर
उज्यालो बनाउन खोज्दा
कयौंपटक आगो सल्किएर समयमा
समय खरानी हुँदा
मृत्युले आगो निभाइदिएर
म खरानी हुनबाट जोगिएँ ।

एक्लै जंगलको यात्रा गर्दा
हिंस्रक जनावरले झम्टिँदा
मृत्यु अगाडि आएर नजोगाएको भए
म कसैको सम्झनामा पनि हुने थिइनँ ।

एक्लै छु भन्ने डरले काँपेका बेला
जीवनको अन्त्यको संघारमा पुगेका बेला
अगाडि या पछाडि उभिएर
जीवन बचाइदिने
जुम्ल्याहा जस्तो
आफू जस्तो
मनको साथी मृत्युलाई
मैले भुल्दै गएछु
मृत्युसँग सम्बन्ध टुटेको जस्तो
मैले उसको सम्बन्ध
सम्झना कहीँकतै राखिनछु ।

जीवनमा बाढी, पहिरो
आगाका मुस्ला
हिंस्रक समयका उग्रता अनि क्रूरता
उसैगरी आइरहे
म ती सबैबाट बाँच्दैबाँच्दै यहाँसम्म आएँ ।

यावत विपत्तिलाई जितेको अहंकार
ममा चुलिदै आयो
म आफ्नै अहंकारले थिचिन लागेको बेला
टुप्लुक्क मृत्यु मेरा अगाडि देखियो
र विगतका कहालीलाग्दा विपत्तका दृश्य
एकएक आँखामा ल्याइदियो
ती सबै विपत्तिबाट जोगाउने उही मत्यु रहेछ ।

मैले पश्चाताप गर्ने समय पनि बाकी राखेको रहेनछु
मेरा आँखा अगाडिबाट मृत्यु अदृश्य भयो
यस पछि त हो
म धर्तीबाट अलप भएको !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button