
पानीले कोरेको मोटर बाटोको कथा
श्रीराम फुटुङ्गे
बालाजुदेखि फुटुङ्ग हुँदै साङ्लासम्म पुग्ने मोटर बाटो वि.सं. १९८७ मा निर्माण भएको हो । बाटो निर्माणको कारण थियो शिवपुरी जङ्गलमा रहेको खानेपानीको मुहान । यो मुहानबाट काठमाडौँका शहरी क्षेत्रमा खानेपानी लैजान फलामका ठूला पाइप हालेपछि यो सडक निर्माण र विस्तार भएको हो ।
बौँडे, अल्ले र भँडारे मुहानको पानी भण्डारण गर्ने उद्देश्यले चिम्बर पोखरीमा बाटो निर्माण लगत्तै (वि.सं. १९८८÷८९) पानी जम्मा गर्न च्याम्बर पोखरीको निर्माण भएको थियो । उक्त पोखरीको शिलान्यास भीम शमशेर राणा (नेपालका १४ औँ प्रधानमन्त्री) ले गरे पनि च्याम्बर पोखरीको उद्घाटन चाहिँ जुद्ध शमशेर राणा (जो नेपालका १५ औँ प्रधानमन्त्री एवम् भीमशमशेरका भाइ थिए) ले गरेका भनाइ पाकाहरूको छ । त्यसो त प्रधानमन्त्रीका कालमा सामाजिक सुधारका कामहरू गरेर चर्चा कमाएका व्यक्तिका रूपमा जुद्ध शमशेर परिचित थिए । च्याम्बर पोखरी निर्माण हुनुअघि यस टोलको नाम लक्ष्मीटार थियो ।
दुईतिरबाट आएको पानी जम्मा गरी काठमाडौँका शहरी बस्तीमा पठाउनका लागि बनाइएको उक्त च्याम्बरलाई नै पछि चिम्बर पोखरी भनिएको हो । त्यतिबेला शहरदेखि यहाँसम्म राणाहरू घोडा लिएर ओहोरदोहोर गर्ने गरेको पनि पाकाहरूले बताएका छन् । बाटो निर्माणका बेला बनाइएका गुमज र पाइप अड्याउन बनाइएको इँटाहरूमा भीम शमशेर राणा लेखिएका इँटाहरू भेटिएको कतिपय स्थानीयहरूले सुनाए । अझै पनि यहाँका बासिन्दा त्रि भिम धारा भनेर यो खानेपानीको पाइपलाई बुझ्छन् ।
हालको साङ्ला क्लबभन्दा माथिको ठाउँलाई टेशन भनिन्थ्यो । सम्भवतः स्टेसनबाट टेशन बनेको हुनुपर्छ । सैनिकका लरीहरू दाउरा र घाँस लिन यस ठाउँमा आउँथे । शिवपुरी जङ्गलबाट १ नम्बर बाहिनी अड्डा बालाजुमा भएका घोडाहरूका लागि घाँस र दाउरा लिन पल्टनका फौज शिवपुरी जङ्गलसम्म पुग्थे । वि.सं. २०१५ सम्म यो क्रम जारी रह्यो ।
वनजङ्गल स्थानीय जनता र क्षेत्रीय सरकारको हातमा परेपछि यसको व्यवस्थापन सुरु हुन थालेपछि त्यसरी घाँस लान छोडिएको स्थानीय बासिन्दाको भनाइ छ । त्यसपछि यस ठाउँमा ट्रक तथा लरी आउन छाडे र यहाँका घाँसपात र दाउराहरू लैजाने काम बन्द भयो । शिवपुरी जङ्गलबाट बालाजुका ब्यारेकका सैनिकहरू कुनै पर्व या उत्सवका बेला लामो लहरा जाने घाँस (कतिपयले यसलाई झ्याउ भन्छन्) सजावटका लागि लिन आउने गर्थे । जस्तो राजाको जन्मोत्सव या अन्य कुनै राजकीय सवारीहरूका बेलाका लागि ।
(फुटुङ्गेको पुस्तक ‘फुटुङ्गः इतिहास, संस्कृति र विकास’को अंश)
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



