
१ सय ८ रम्बास, त्यति नै टिप्पणी
गुरुदत्त ज्ञवाली
तिलोत्तमा १, शङ्करनगर, रुपन्देही
साहित्यको नौला आयाम, नौलो विधि, रम्बास कविता । उत्पत्तिको हिसाबले दुई वर्षको । सन् २०२०मा भारतको पुर्वी आसामका मिलन बोहराको परिकल्पना । तासको इटा आकारको चतुर्भुजीय कोठा । १०० अक्षर, १९ लाइन, १ देखि १० अक्षरसम्म बढ्दै । र, क्रमशः घट्दै १ अक्षरमा समापन । यसैभित्र बन्छ कविता । यो विधि सन्सारभरि फैलिएको छ । नेपालमा पनि मौलाएको छ । यही हो रम्बास कविता । प्रयोगको हिसाबले म कान्छो प्रयोगकर्ता हूँ सायद। सिक्दैछु । यस मानेमा यो टिप्पणी लेख्न हुन्थेन होला ।तर, अरुका रचना पढेर बुझ्न र मनन गर्न सजिलो हुन्छ । त्यसैले रहर गरेँ ।
कविताको भाव तथा विचार यसको प्राण हो । यो भएन भने त्यसको आकृति वा छन्द मिल्दैमा ज्युँदो कविता बन्न सक्दैन । यस तिलस्मीमा ती गुण छन् छैनन् बुझ्न जरुरी छ । यसैबाट रचनाकारको स्तर मापन हुन्छ । रम्बास कविता सङ्ग्रह ”तिलस्मी” मेरो हातमा छ । सिक्किमकी गीताश्री शर्माद्वारा रचित यो पुस्तक आफ्नै प्रकाशन जनपक्ष प्रकाशनले प्रकाशन गरेको छ । १५८ पृष्ठको यो पुस्तकमा भुमिका र शुभकामना आदिले ५० पृष्ठ ओगटेको छ । बाँकी १०८ पृष्ठमा १०८ वटा नै सम्बास कविता छन् । हरेक एकपृष्ठमा एउटा कविता छ । हरेक कवितामा एउटा एउटा दृष्टिकोण अर्थात विचार छ ।
शुरुमा डम्बर दाहालको छोँटो मीठो शुभेच्छा छ । मिलन बोहोराको काव्यविचित्रा पनि चिटक्किको छ । कवितामा नयाँ प्रयोग लेख्नु भएको छ डा. शैलुन्दुप्रकाश नेपालले, ठीक्क छ यो पनि । अरु शुभेच्छा भीम धमला, पुरुषोत्तम उपाध्याय दाहाल, शेषमणि आचार्य, अर्जुन उप्रेती, आचार्य प्रभा, एल पी पराजुली, राजा पुनियानी, अनिल कौल र खडानन्द दुलालका छन् । दीपक सुवेदीको विश्लेषण १८ पृष्ठको छ । र, रचनाकारको स्वतन्त्र विचार ६ पृष्ठको छ । सबैका आ–आफ्ना भनाइ ठीक होलान् । १०८ पृष्ठको पुस्तकमा ५० पृष्ठका अन्य कुराले रचनाकारका कविता गौण बन्न जान्छन् । अथवा यसो पनि भनौँ, शुभेच्छा आदि ओझेलमा पर्छन् ।
कविता पढ्दै जाँदा
१) अचानो १ः अचानो पीर खुकरीले बुझ्दैन । संवेनशील कविता छ । सामाजिक सन्देश छ ।
२) अचानो २ः १ जस्तै आशयको यस कवितामा आफ्नै जीवनको भोगाइ छ ।
३) आँसुः पारिवारिक पीडा, प्रतिवद्धता र संयम । यो कविता परिवार प्रति जिम्मेवारी बोध छ । आँसु पचाएर अर्थात् पीडा चपाएर संघर्ष गर्नुपर्छ भन्ने शिक्षा दिन्छ ।
४)आह्वानः समाजिक सन्देश छ यसमा । डटेर सामना गर, तिमीलाई मेरो सहयोग रहनेछ भन्ने आशयको छ ।
५) आँगनः यस कवितामा बिवाह भएर आमाको काख, माइती आँगन छोड्दै कर्मघर जानुपर्दाको पीडाबोध छ । निकै संवेदनशील छ यो कविता ।
६) आधारः आसामको जागुनमा आयोजित साहित्य महोत्सव, जहाँ विमोचित बर पिपल नामक रम्बास कविता सङ्ग्रह, त्यसैको सम्झना रचित कविता हो । भावुक छ यो कविता ।
७) आत्मीयताः यसमा मित्रताको आत्मीय भावनामा प्रेरित छ ।
८) औँलाः साहित्यिक यात्रामा औँलालाई प्रतीक बनाएर कार्यकुशलताको वर्णन गरिएको छ ।
९) आरामः सुतेर वा आराम गरेर मात्र हुँदैन,कर्म गर्नुपर्छ भन्ने भावनाको उर्जाशील कविता हो यो ।
१०) आवाजः मन्दिरमा बज्ने शङ्ख घण्टको आवाज, जो सबैको लागि समान हुन्छ । मान्छेको जात पनि त्यस्तै हो । जातीय समानताको आह्वान बोकेको यो कविता उच्चकोटीको छ ।
११) अतिक्रमणः वातावरणको शुद्धता र प्राकृतिक प्रेमभावको यो कविता अब्बल छ ।
१२) अधीरः मनोक्रान्ति छ यो कविताको भाव । युद्ध, शान्ति र क्रान्ति, रोदन, क्रन्दन र भय । बाढी, डढेलो र उल्झन । यही हो जीवनको रङ्ग । रमाइलो तथा यथार्थ चित्रण छ ।
१३) उपेक्षाः मानव जीवनमा साना र ठूलाको भेदभाव, रुप र यौवनमा भेदभाव, छोरा र छोरीमा भेदभाव । दार्शनिक चरित्रको छ यो कविता ।
१४) उपनामः रचनाकारलाई परिवारजन, अभिभावक, मित्रहरु तथा मान्यजनले स्नेहपूर्वक सम्बोधन गरिने उपनामहरु, जस्तै काली, लाटी, गीतु, सानु, मित्रश्री आदि उल्लेख छन् । यसमा उनको भावुकताको अनुभूति उल्लेख छ ।
१५) उल्लुः यसमा उल्लु नामको चरालाई प्रतीक बनाएर प्रकृति प्रेमको वर्णन गरिएको छ । उल्लु भनेर मान्छेलाई हेप्नु हुँदैन भन्ने सन्देश पनि यस कवितामा उल्लेख छ ।
१६) उन्मुक्तः आडम्बरले होइन, हृदयबाट नै प्रशन्न हुनुपर्छ भन्ने आशयको यस कवितामा आडम्बर प्रति समान्य ब्यङ्ग्य पनि छ ।
१७) उषाः उषा अर्थात् प्रभात, रचनाकार उषाकालमा प्रफुल्ल भएर रमाएको वर्णन छ । र, यसमा आमाको झझल्को समेटिएको छ, जो माइती घरमा हुनुहुन्छ ।
१८) उमङ्गः बाल्यकाल तथा यौवन अवस्थाको उमङ्ग प्रति पछुताउँदै संस्मरणात्मक अनुभूति उल्लेख छ ।
१९) उपर्नाः च्यादर वा पछ्यौरा, आमाले स्नेहपूर्वक छोरीलाई दिएको चिनो । आमाको माया मिसिएको छ यो उपर्नामा । निकै भावुक कविता छ यो ।
२०) कविताः कविता शीर्षकको यो कविता, सन्तान र मुटुभन्दा प्यारो लाग्छ भन्ने भाव छ । यो कविता पनि अति नै भावुक छ ।
२१) कलमः कलम कविता पनि कविता शीर्षकको कविता जस्तै भावुक छ । उस्तै भाव छ ।
२२) किनाराः सभ्यता वा शिष्टलाई आदरपूर्वक व्यक्त गरिएिको यो कविता प्रेममय छ । प्रेम र प्रेमिल फरक कुरा हो । मान्छेको स्थान, मर्यादा तथा सान्यिधा अनुसार आदर वा स्नेह हुन सक्छ । त्यसै विश्वब्यापी मान्यता अनुसारको प्रेमभाव दर्शाइएको छ यो कवितामा । सफल कविता ।
२३) कालीः काली छु काली भन्छन्, भनून् । गोरो हुनेले मनमा कालो मैलो नराखून् । यस कविताको भाव हो ।
२४) क्रान्तिः वास्तवमै यो क्रान्तिकारी कविता हो । युवालाई आह्वान छ । यो कविता माक्र्सवादी दर्शनले पे्ररित छ ।
२५) खुकारीः गोर्खाली नेपालीको पहिचान, उत्साह र पुर्खाको शान, जोशिलो छ यो कविता नेपाली, जो जहाँका भए पनि एउटै हौँ भन्ने एकताको उद्गार पनि छ यो कवितामा ।
२६) गुनासोः विगत जीवनको कुनै गुनासो त छैन नै । आफूलाई सहयोग नगर्नेहरुसँग पनि कुनै गुनासो छैन । म आफ्नै बलबुताले बाँच्छु भन्ने स्वाभिमानी भाव छ ।
२७) चोरः यो कविता अलि प्रेमिल छ ।
२८) चरित्रः यो कविता आक्रोशयुक्त उपदेशात्मक छ । उदाङ्गो चरित्र नबनाउ, आकाशतिर फर्केर थुक्दा आफ्नै अनुहारमा छिटा पर्लान् भन्ने चेतावनी मिश्रित छ ।
२९) चित्कारः रम्बास कवितामा प्रवेश गरेर काव्यात्मक उन्नति गर्न पाउँ भन्ने आग्रह हो यो कविताको । शीर्षक चित्कार भने अलि मिलेन कि ? आग्रह शीर्षक ठीक हुन्थ्यो ।
३०) चिन्तनः निरास नहुनु, उच्च मनोबल सहितको चिन्तन गर । यही शुभकामना छ यो कवितामा ।
३१) चाहः यस कविताको शीर्षक अठोट ठीक हो । चाहना त अनेक हुन्छन् । ती चाहनालाई पूरा गर्न मनमा अठोट समेत गरिएको छ ।
३२) छालः यो कवितामा अतिथि सत्कारमा रमाउने मनोभाव छ रचनाकारको । समान्य प्रेमिल पनि छ । प्रेमिल कविता नराम्रो हो भनेको होइन तर भावनामा बहकिँदा वैचारिक धरातल खस्किन सक्छ भन्ने हो ।
३३) छायाँः आत्मीय साथि प्रति भरोशा छ भन्ने भाव छ यसमा । सायद आफ्नै जीवन साथी प्रति लक्षित छ ।
३४) जुनकिरीः आफूलाई जुनकिरी प्रतीक बनाइ अँध्यारो पनि टल्किन सकूँ । आदर्श भावको छ यो कविता ।
३५) जुकाः समाजका शोषक जो जुका झैँ टाँसिएर शोषण गर्छन् भन्ने भावको यो कविता निकै भावुक छ । साथै जुका चरित्रका मान्छे प्रति कडा प्रहार छ ।
३६) जुवारीः बिगत कालको संस्मरणमा रचनाकार भावुक भएको भाव उल्लेख छ यो कवितामा । बिगतलाई समीक्षा गरेर वर्तमान तथा भविष्य निर्धारण गर्ने हो । बिगतमै फर्कन सकिन्न, मेरो सुझाव हो ।
३७) ज्वालाः सिर्जनात्मक प्रगगिको लागि मनमा ज्वाला उर्लेरआएका छन् । कविता, छेस्का, सुसेली, हाइकु, रम्बास, कथा, मुक्तक आदि रचनामा डुबेकी रचनाकारले सबैमा सफल हुन सकूँ भन्ने भाव छ ।
३८) झाँकीः यो कविता निकै भावुक छ । समग्र समाजको एउटा झाँकी छ, अभिनय । चेलीहरु लुछिन्छन्, लुटिन्छन् । सिन्दूर पुछिन्छन् । समाज मौन छ । देखेर पनि सहनु परेको छ भन्ने भाव छ । साथै जाग उठ युवा हो भन्ने सन्देश जागृत छ ।
३९) झोपडीः बाबा आमाको काखमा बस्दा झोपडीमै किन नहोस्, महल भन्दा महान छ । प्यारो लाग्छ भन्ने भाव छ यो कवितामा । निकै भावुक छ यो कविता पनि ।
४०) टोपीः टोपी आम नेपालीको जातीय पहिचान हो । एकताको प्रतीक हो । हाम्रो गौरव हो भन्ने उत्कृष्ट भाव छ ।
४१) ठेसः अचानक आइपर्ने बिपदलाई संकेत गरिएको छ यस कवितामा । वचनबाँण, दुर्घटना तथा खराब मान्छेको सङ्गत, जे भए पनि दुखाइ उस्तै हो भन्ने भाव छ ।
४२) ढुङ्गोः मुर्ति बन्दछ ढुङ्गो । पीडा ढुङ्गाले सहन्छ उ उ देउता बन्दछ मान्छेको । रचनाकारले आफूलाई ढुङ्गो बनाएर कल्पना गरिएको कविता । सुन्दर भाव छ ।
४३) तिलस्मीः पुस्तकको नाम नै तिलस्मी पाएको भाग्यमानी कविता हो । यसको भाव समेत उत्कृष्ट छ । मनले कल्पना गरेको कुरा पूरा हुने अर्थात् पूर्णमनोकांक्षा अर्थ लाग्ने तिलस्मी, रम्बास कवितासङ्ग्रह निस्कन सक्नुलाई सफलता मानिएको छ ।
४४) तिहारः आफ्नो दाजुको अनपेक्षित ढङ्गबाट भएको दुःखद निधनले तिहार मनाउन नपाएको पीडा यो कवितमा उल्लेख छ । “निभ्यो मूल दीयो” यसको मार्मिक भाव यही हो ।
४५) तृष्णाः यो कविता पनि भावुक छ । आफूले अति सम्मान गर्ने व्यक्ति प्रति समर्पित यो कविता उनको आगनको प्रतीक्षामा छ । भावुक छ यो पनि ।
४६) तारुण्यः तरुण अवस्थाको संस्मरण छ यसमा । सम्झेर मन बुझाउने कुरा ।
४७) तानाबानाः जीवनको औसत दैनिकी । कुनै विचारप्रधान रचना होइन यो ।
४८) देहः यो कविता पनि तानाबाना जस्तै छ ।
४९) द्रविभूतः अमुर्त प्रेमको वर्णन छ यो कवितामा । कुनै बिषय छैन ।
५०) धर्तीः यसमा धर्तीको महिमा छ । धर्ती र आमाको तुलना गरिएको यो कविता अलि भावुक पनि छ । स्वाम्भिमानी कविता ।
५१) ध्रुवः जीवन अस्थीर छ । ध्रुवतारा स्थीर हुनुपर्छ वा हुन्छु भन्ने अठोट गरिएको छ ।
५२) निद्राः निद्रा नलागेर छटपटी भएको, पीडाले निदाउन नसकिएको ब्यथा समेटिएको यो कविता अलि भावुक पनि छ ।
५३) निबः कलमको निब, शीर्षक यस्तो छ तर कवितामा कतै निबको सन्दर्भ छैन । सामान्य छ यो कविता ।
५४) निर्भयः यस कवितामा भयमुक्त सफल जीवनको कामना छ । दृढ विश्वास र आशाबादी छ यो कविता ।
५५) नीरः राष्ट्रवादी चिन्तन बोकेको यो कविता नीर अर्थात् पानी जो वर्षाको रुपमा बग्छ । टिस्टामा भरिन्छ । यस्तै यस्तै भावना बोकेको छ ।
५६) निर्वाचनः निर्वाचन झुटको खेती हो, जनता ठग्ने माध्याम हो भनेर राजनीतिक बिकृति प्रति कडा ब्यङ्ग्य प्रहार गरिएको छ । सफल छ यो कविता ।
५७) निःशब्दः यो कवितामा अलि नैराश्यता छ । समाजको यथार्थ चित्रण, त्यस चित्रणमा देखापरेका विकृति । कविताको सार हो । थोरै हीनताबोध पनि देखिन्छ ।
५८) नारीः एउटी नारीको दैनिकी, संस्कारले थिचेको पीडाबोध, नैतिक जिम्मेवारी, आमाको भूमिका आदि कुराको मार्मिक प्रस्तुति छ । कविता यथार्थ र भावुक छ ।
५९) पर्खाइः जीवनका अनेक भोगाइमा पिल्सिँदा पनि मायालु व्यवहारले अतृप्न मन, त्यही मायाको पर्खाइ उल्लेख छ यो कविता । राम्रो छ ।
६०) प्रदर्शकः मान्छे मानवीयताको यथार्थ धरातलमा नभएर बढी उपदेशक बन्छ । समाधानतिर नलागेर प्रदर्शक बन्छ भन्ने कुरा यो कवितामा उल्लेख छ । मार्मिक छ यो कविता पनि ।
६१) प्रतीक्षाः यो कविता पर्खाइ कवितासँग मिल्दोजुल्दो छ ।
६२) प्रेमधुनः कुनै प्रेमी जो अरु कसैको होस्, वनपाखामा प्रेमधुन सुसेल्छ, गाउँछ र मनको राग मेट्छ । ती अनुभूति रचनाकारको मनमा बिझ्छन् । बिरह भाव छ यो कवितामा ।
६३) पुलकितः अलि प्रेमिल छ यो कविता पनि ।
६४) पिपलः पिपलको बोट, चौपारी, विश्रामस्थल आदिको वर्णन गर्दै रचनाकारले जीवनको एउता थकित क्षणलाई स्मरण गरेको पाइन्छ । मार्मिक छ यो कविता ।
६५) फर्लँचाः एउटै परिवेश वा बसाइमा लेखिएर होला, पिपलसँग मिल्दोजुल्दो छ यो कविता ।
६६) फूलः फूलको सुगन्ध, स्थान र आफ्नो जीवन । कवि कल्पना रमणीय छ ।
६७) बतासः हावा वा बतासलाई प्रतीक बनाएर मानव जीवनमा हुनु समानता । कविता राम्रो छ ।
६८) बगरः जिन्दगीलाई बगरसँग तुलना गरेको कविता । बतास जस्तै छ यो कविता पनि ।
६९) बटुवाः एउटै बसाइ तथा परिवेशमा रचित यो कविता पनि ६७ र ६८ जस्तै भावको छ ।
७०) ब्रह्माण्डः वातावरणीय प्रदुषणले भएको पीडा ब्रह्माण्डमै पनि त हाल त्यस्तै होला ? यही भाव छ यो कवितामा ।
७१) बलिदानः म गोर्खे सपूत– यहीँबाट शुरु हुन्छ यो कविता । खुकुरी र टोपी कविता जस्तै राष्ट्रिय भावनाले प्रेरित छ ।
७२) बलेनीः बलेनीको पानीका थोपामा सङ्गीतको अनुभूति हुन्छ । यस कविताको भाव हो । भावुक एवं प्रशन्न मुद्रामा देखिन्छ रचनाकारको मन ।
७३) ब्वाँसाः यस कवितामा नारीको पीडा, अन्याय तथा शोषणको आक्रोशित भाव छ । अस्मिता वा सतित्व लुटिने अवस्थामा छन् नारीहरु । समवेदनामा खडेरी परेको छ । यस्तै यस्तै गुनासा छन् ।
७४) बिरालाः ब्वाँसाकै भावमा छ यो कविता पनि ।
७५) भिक्षुः भिक्षु हुनु भित्रको कारुणिक पीडा व्यक्त छ यस कवितामा ।
७६) भयः मनको भुत नै भय हो । जब मन डराउँछ, भय नै देख्छ । सबै शत्रु देख्छ । यस ककविताको सार हो ।
७७) मोहनीः दृढ आत्मबल, सुन्दरता एवं शृंगार नक्कल पारेको होइन, सभ्यता हो । यस्तै यस्तै भाव छ यो कवितामा । हुनुपर्ने पनि यस्तै हो ।
७८) माघः मोहनी र माघ एउटै परिवेशमा लेखिएको भान हुन्छ । दह्रो छ यो कविता पनि ।
७९) मनः सामान्यजस्तो लाग्ने यो कविता गहन छ । दुईटा मनको बिचमा तेस्रो मनले भाँजो हाल्छ र आम सभ्यतामा नै खलल पुग्छ । सार यही हो ।
८०) मुस्कानः यो कविता रमाइलो छ । प्रेममय त छ तर अमुर्त । राम्रो, चटक्क परेको जवान मान्छेको रुपको वर्णन छ, सायद उ बटुवा हो ।
८१) मौनता १ः ८२) मौनता २ः एउटै भावका तर फरक शब्दका यी कविता मेरो मौनता कुनै बिद्रोह होइन, सहकार्य तथा सहयोगी भावना हो भन्ने भाव छ ।
८३) मुहानः आँसुको कुनै मुहान छैन । कुवा, पँधेरो, धारो, नदी वा सागर छैन । कहाँबाट आउँछ अनवरत ? भावुक छ यो कविता ।
८४) मदारीः नेतालाई मदारी वा चटकेको संज्ञा दिएर ब्यङ्ग्य गरिएको यो कविता स्तरीय पनि छ ।
८५) यात्रा १ः ८६) यात्रा २ः एउटै भावका यी कविता मानव जीवनको अनन्त यात्राको यथार्थ चित्रण छ । कविता भावुक पनि छ ।
८७) रातः जाडो महिनाको जुनेलीरातमा कवि कल्पना जागृत हुन्छ । भावनामा डुबेको यस कवितामा ठोस दृष्टिकोण केहि देखिन्न तर पनि रमाएको पाइन्छ ।
८८) रम्बासः रम्बास विधिको कविता लेखनमा रमाएको पाइन्छ यसमा । अन्य बिषयगत भाव गौण छ ।
८९) रङ्गः होली विशेष होला सायद, होली शब्द भने छैन । उमङ्ग होस् सबैमा । यस्तै भाव यसमा ।
९०) रुद्राक्षः रम्बास विधिको कवितालाई रुद्राक्ष विशेषण दिइएको छ । अरु वैचारिक भाव छैन ।
९१) लक्ष्मीः महाकवि लक्ष्मीप्रसाद देवकोटाको बिषयमा सम्मान व्यक्त गरिएको यो कविता स्तरीय र सुन्दर छ ।
९२) लालित्यः धरतीको सम्मान तथा यसमाथि भएको अतिक्रमण बिषयमा गम्भीर रुपले भाव व्यक्त गरिएको यो कविता स्तरीय पनि उत्तिर्क छ ।
९३) बरपिपलः यस कवितामा बरपिपल रोप्ने, संरक्षण गर्ने र सुस्ताउने वा आराम गर्ने रुथलको विकास जहाँबाट शुरु भयो, त्यस सभ्यताको चर्चा छ । यद्यपि शब्दले घुमाएर साहित्यको भाषामा बोलेको छ ।
९४) बृक्षः वातावरणीय दृष्टिले रुख वनस्पतिको महिमा छ यो कवितामा । राम्रो छ कविता ।
९५) शान्तिः एक प्रकारको आदर्श छ यो कवितामा । स्वाभिमान छ । “खोक्रो रीति,अर्घेलो नाटक, झुटा पद्दतिहरु र आडम्बरी समाज” कवितामा उल्लेख भएका शब्द हुन् । यसैको बिरुद्धमा शान्ति खोजिएको छ । रचनाकारको यो काव्यात्मक क्षमता यही स्तरमा कायम रहोस्, शुभकामना छ ।
९६) शीतः यो कविता पनि बेजोडको छ । सूर्यको तापले शीतको थोपा बिलाउँछन् । रचनाकारले आफूलाई शीतको प्रतीक बनाएर हैकामवाद माथि प्रहार छ । सफल छ यो कविता ।
९७) शोकः मृत्यु जे सुकै कारणबाट भए पनि स्वभाविक हो । यसको पीडालाई सजिलैसँग पचाउनु पर्छ । कविताको सार यही हो । संयम तथा आत्मबललाई आत्मसात गरिएको छ यस कवितामा ।
९८) सडकः आफूलाई सडक प्रतीक मानेर लेखिएको यो कविता सहनशीलताको नमूना बनेको छ । जसरी सडकले गाडीको चाप वा दवाव सहनु परेको छ ।
९९) साइनोः हातका औँला, कलम अनि अक्षर । घर, माइती र गुरु । उस्तै उस्तै लाग्छ यो साइनो । यही भाव छ कवितामा । भावुक छ यो कविता ।
१००) सारथीः आफू झरनारुपी सारथी बनेर समुद्रमा पुग्छु । यी शब्दले साहित्यमा बामे सर्दै उच्च हैसियतमा पुग्न सकूँ । यही मनोकामना देखिन्छ ।
१०१) स्मृतिः बिगतका पीडादायी स्मृति मनमा खेलाउँदै त्यसै पीडाबाट दृढ आत्मबल बढाएको उत्साहजनक कविता हो यो । कुशल मनोवैज्ञानिक कविता हो यो । अत्यन्तै सफल एवं चेतनशील ।
१०२) सिन्दूरः सिन्दूरको शक्ति, जसले साइनो फेर्छ । बसाइ सार्छ ।शक्तिशाली छ यो धुलो । यीनै अक्षर र भाव छ यसमा ।मार्मिक तथा यथार्थ बोध छ यो कवितामा ।
१०३) संयोकः संयोग होला शीर्षक । घनिष्ट मित्र वा सिर्जनात्मक सहयोगी, जसको गुणलाई कसरी सम्बोधन गरुँ भन्ने आशयको कविता हो । यो मित्रता पाउनु संयोग हो । यस्तै बुझिन्छ तर अमुर्त भाव छ यो कवितामा ।
१०४) सौन्दर्यः मन भित्रको सौन्दर्यतामा अर्थात भावनामा कुनै जातपात र लिङ्गभेद छैन । समाजले अनेक भेद बनाएको छ । जो पीडादायक छ भन्ने भाव छ यो कवितामा । राम्रो छ कविता ।
१०५) सहरः सहरी जीवनले गाउँ बिर्सियो मान्छेले । यही हो यसको भाव । सुन्दर छ कविता ।
१०६) समयः समयको परिधिमा हामी बाँधिएका छौँ । हामी स्वतन्त्र छैनौँ भन्ने शब्दको कविताले समयकै अनुशासनमा चल्नुपर्छ भन्ने कुरा घुमाएर गरेको छ ।
१०७) हस्तरेखाः जस्तो कर्म गरिन्छ, हातका रेखाहरु आफै फेरिन्छन् । यथार्थ यही नै हो । शब्द अर्के छन्, तर भाव उस्तै छ । राम्रो यसको भाव ।
१०८) ज्ञानः अन्तिम कविता ज्ञान । कवितामा पनि ज्ञानोदय भएको छ । उर्जाशील मष्तिस्क, दायित्व बोक्ने काँध, सचेत जीवन, संयमित कार्यशैली समर्पित ज्ञान छ मेरो । कविताका शब्द हुन् यी । उत्कृष्ट कविता ।
अन्तमा, धेरै कविताहरु स्तरीय छन् । यदाकदा एउटा मात्र रचना कमजोर वा विचारप्रवाह भन्दा बाहिर गयो भने सपूर्ण रचनालाई ध्वस्त पार्छ । रचनालाई ध्वस्त पार्नु भनेको रचनाकारको छविमै धक्का लाग्नु हो । शृङ्गारिक रचना लेख्दा प्रेमका अतिरञ्ना नलेखेकै राम्रो । यो मेरो सुझाव हो ।
सबै रचना सललल नबग्न सक्छन् । सबै एउटै मापनका हुँदैनन् पनि । तर, गर्वका साथ भन्न मन लाग्यो, यो तिलस्मी कवितासङ्ग्रह वा यसमा रहेका कविता तिलस्मी नै छन् । धेरै धेरै धन्यवाद एवं प्रगतिको कामना छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
धन्यवाद छ नेपालनाम्चालाई