
मेरो जन्मपछि जन्मदिनमा आमाले फेरि खुसीका आँसु खसालिन्
बसन्ता पोख्रेल
धुर्कोट-१, नयाँगाउँ, गुल्मी
त्यो कालो बादलको घुम्टो रिसाएर ठुस्स परे जस्तै
असारको झरी झ्यौंकिरी कराउँदै गर्दा
म जन्मिँदा आमाका आँसु पीडाले खसे जस्तै
बाहिर वर्षात भइरहँदा आमाका आँसु खसेको कसैले पत्तै पाएनन् ।
यो पाली छोरो जन्मिन्छ भनेर नामाकरणको लागि
राखिएको पाँच हजार सिरानीमुनि सुतिरहेका छन्
बाहिर गाउँले खुसीले बन्दुक पढकाउन हतार छन्
ज्योतिष अनि डाक्टर पनि छोरो भनेर ढुक्क भएका छन् ।
म रुँदै जन्मिएपछि छोरी कि छोरा भनेर हेरेपछि
र यसपाली पनि छोरी भन्दै गाउँले फर्किएपछि
छोरीले के गर्छन् र ? काम मात्रै रोकियो भन्दै फर्किएका आफन्ती
आमालाई पीडामाथि आँसु थापाइदिएर गएपछि ।
धेरै पछि अहिले कुरा काट्ने समाजको अघि म उदहरणीय बन्न थालेपछि
आमा, बालाई आफैले खुसी राखी पाल्न थालेपछि
आज फेरि त्यही आसरे झरीमा मेरो जन्मदिन आउँदा
आमाले सायद आज सबै पीडा सम्झिएर आज धेरै पछि
टीका लगाइदिएर आँसु खसालिन् ।
आमाका मुहारमा हाँसो अनि आँखामा खुसीका आँसु थिए
आमालाई आज गर्व छ म छोरी भए पनि
छोराको भन्दा कम आँट नराख्दा
आमा खुसीले फेरि अँगाल्दै रुन थालिन् आज बिहानै
भनिन् फेरि छोरी उदाहरणीय हुनु तिमी
यस पालीको जन्मदिनमा मेरो आशीर्वाद तिमीलाई ।
म जन्मिँदा फर्कने छिमेकी रिसाउने आफन्ती
छोरीले के गर्छन् र भनेर सुनाइरहने काकी
यी सबैलाई बोलाउँदै छु यसपाली जन्मदिनमा
खुसी मनाउन अनि छोरीमा रमाउन
आज आमाले खुसी भएर फेरि आँसु खसालिन् ।
अनि म सबै पीडा सम्झिएर रुँदा सँगै आँसु खसाइन्
अर्को जन्म तिमी नै छोरी चाहिन्छ भन्दै मलाई हँसाइन्
आमा आज खुसीले फेरि आँसु अडिएनन् भन्दै
मेरो जन्मपछि जन्मदिनमा आमाले फेरि खुसीका आँसु खसालिन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)