कोइरालाले चेखभलाई कपी गरेका हुन् ? (उल्थाकथासहित)

(साहित्यकार बिपी कोइरालाद्वारा लिखित कथा 'दोषी चस्मा' रुसी कथाकार चेखभको कथा 'कारीन्दाको मृत्‍यु' को कपी हो, उनले सारेका, चोरेका भनेर प्याच्च भन्छन् । चेखभको कथाबाट प्रेरित भएर त्यही मनसायको नेपाली कथा लेख्नु चोर्नु हो र ? दुवै कथाले दिने सन्देश एउटै भए पनि नेपाली पाठकलाई चेखभीय धारणा नेपाली पारामा प्रस्तुत गर्नु भएर बिपीले बेस्मारी गुण लगाउनु भएको छ । यो 'कारीन्दाको मृत्‍यु' कथालाई थुप्रै नेपाली साहित्यकारहरुले उल्था गर्नु भएको छ । कतिले अंग्रेजी Text बाट उल्था गर्नु भएकोले मौलिकता अलि हराएको जस्तो लाग्यो भने कतिले रुसीबाटै उल्था गरे पनि क्लिष्टताको नाममा शब्दानुवाद गर्दा मिठास हराएको छ । शब्दानुवादबाट कथाको मिठास हराउँछ भने भावानुवादमा जानुपर्छ भन्ने मेरो ठनाइ छ | चेखभका पात्रहरु अनेकानेक शैलिका भाषाहरु प्रयोग गर्छन् । उल्थाकारले एकै खाले भाषाले उल्था गर्दा त्यो कथाको आकर्षण मरेर जान्छ | भावाभिब्यक्तीकै सन्दर्भमा भन्दा कतिपय रुसी अभिब्यक्तिहरुलाई नेपालीमा जस्ताको तस्तै अनुवाद गर्दा त्यसको भाव नै हराएर जान्छ | 'कारीन्दाको मृत्‍यु' कथा मौलिक रुसीबाटै मैले उल्था गरेको हुँँ । मेरो अनुवाद A One छ म भन्दिन । चेखभकै जस्तो मिठास ल्याउन सक्दो कोशीश गरेको छु | बिपी कोइरालाको 'दोषी चस्मा' यदी कसैसित छ भने कमेन्टमा राखिदिनुहोला । यदी सकिन्छ भने बिपी र चेखभको लेखाइको बाख्यात्मक टिप्पणी लेखिदिनु भयो भने सुनमा सुगन्ध हुनेथियो ।) - ससाङ लामा, उल्थाकार

कारीन्दाको मृत्‍यु

आन्तोन पाभ्लोभिच चेखभ

एक रमाइलो साँझमा एकजना रमाइला ब्यक्ति एक्जेक्युटर (क्लर्क) इभान दिमित्रिभिच छिर्ब्याकभ, नाटयशालाको दोस्रो लहरमा बसेर, दुर्बिनद्वारा «Корневильские колокола» (Carnival Bells) ओपेरा हेर्दै थिए । ओपेरा हेर्दै उनी सुखानुभुती गरिरहेका थिए । तर अचानक ….. कथाहरुमा यो ‘अचानक’ शब्द बारम्बार देखा पर्छ । लेखकहरुले पनि ठिकै गरेका हुन्: हाम्रो जीवन नै आकस्मिताले भरेको हुन्छ । अचानक उनको अनुहार चाउरियो, आँखा फराकिलो भयो, सास रोकियो, आँखाबाट दुरबिन हटायो, घोप्टो पर्दै….. हाच्छिउँ !!! उनले हाच्छिउँ गरे । हाच्छिउँ गर्न कसैलाई, कतैपनि बन्देज छैन । हाच्छिउं त सबैले गर्छन्- साधारण किसान, पुलिसका अफिसर र उपल्ला दर्जाहरुले पनि । छिर्ब्याकभलाई यसमा अप्ठ्यारो मान्नुपर्ने केही थिएन । हाते रुमालले पुछपाछ गरे र शिष्टाचारी तवरले आफु वरिपरि नजर डुलाए: कतै उनको हाच्छिउंले कसैलाई केही असर त गरेन ? नभन्दै, अप्ठ्यारो परिस्थितीको सिर्जना भएछ । उनको ठिक अगाडि, पहिलो लहरमा बसेका एकजना ब्रिद्व, आफ्नो चिण्डे टाउको, पञ्जाले लगातार पुछदै थिए र केही बडबडाउंदै पनि थिए । त्यो ब्रिद्व ब्यक्ति त सञ्चार बिभागमा कार्यरत जनरल ब्रिज्झालभ भएको छिर्ब्याकभले थाहा पाए ।

<मैले उनमाथि हाच्छिउँ गरेछु ! – छेर्ब्याकभले सोचे – मेरो हाकिम होइन क्यार , तै पनि राम्रो भएन ! मैले माफी माग्नु पर्छ >

छेर्ब्याकभले घाँटी सफा गर्‍यो, अगाडिको सिटमाथि झुक्दै, जस्साबको कानमा कानेखुशी गर्दै भने:

-माफी बक्स्योस महामहिम , मैले हजुरमाथि हाच्छिउँ गरें ….., अचानक यस्तो हुन गयो ।

-केही छैन, केही छैन …..

-भगवानको नाममा…. माफी बक्स्योस ! मैले जानीजानी गरेको होइन !

-ओह, कृपया बस्नुस्, मलाई सुन्न दिनुहोस् !

छिर्ब्यकभलाई लाज भो, खिस्रिक्क पर्‍यो र मन्चतिर हेर्न थाल्यो । तर अब पहिलेको जस्तो सुखानुभुती थिएन । चिन्ताले सताउन थाल्यो । मध्यान्तरमा ब्रिज्झालभ भएकातिर गए, उनको छेउछाउमा मडाडिन्दै, आफ्नो कायरपनलाई काबुमा राख्दै बडबडाए:

-मैले हजुरमाथि हाच्छिउँ गरें, महामहिम, माफि बक्सियोस, मैले जानीजानी ……

-भयो, भयो ! मैले त बिर्सी पनि सकेँ, तपाईंँ घरिघरि त्यही कुरा- तल्लो ओठ चलाऊँदै अधैर्य भएर जस्साबले भने ।

-जनरललाई शंकाले हेर्दै, छिर्ब्याकभले सोच्यो: बिर्सेंं त भन्छ, तर आँखामा द्वेष देख्छु- अनि कुरा गर्न चाहन्दैन । मैले यो कुरा उनलाई कसरी सम्झाउने कि मैले यस्तो चाहेको होइन,,, हाच्छिउँ आउनु प्राकृतिक कुरो हो, मैले उनिमाथि थुक्नु खोजेको हो भन्ठान्ने पो हुन कि, अहिले त्यस्तो नठान्ला, तर पछि ठान्ने हुन कि …..”

घर आएर, आफ्नो अज्ञानताबारे, छिर्ब्यकभले श्रीमतीलाई भन्यो | श्रीमतीले यस् घटनालाई हल्का रुपमा लिइन; तर डराइन्, ब्रिज्झालभ उसको हाकिम नभएको जब थाहा पाइन्, शान्त रहिन

-जे भए पनि तिमी गएर माफी माग – श्रीमतीले भनिन – सार्वजनिक स्थलमा तिमीलाई ब्यवहार् गर्न आउँदैन रहेछ भन्ठान्ने पो हुन कि ?

-त्यही त भन्या ! मैले माफी मागेँ, तर उनको रवैया अचम्भको थियो । आश्वस्त हुने कुनै शब्दै भनेनन । कुराकानी गर्ने अवसर पनि त थिएन ।

दोस्रो दिन छिर्ब्यकभले केश काट्यो, औपचारिक पोशाक लगायो र स्पष्टिकरण दिन ब्रिज्झालभ कहाँँ गयो । प्रतिक्षालय बैठकमा पस्दै गर्दा उनले थुप्रै याचनाकर्ताहरुलाई देख्यो । जस्साब आफै पनि त्यहाँ थिए र आगन्तुकहरुको याचना सुनुवाई हुँदैथियो । याचनाकर्ताहरुसितको निकैबेरसम्मको सवाल जवाफ पश्चात जनरलले छेर्ब्यकभतिर आँखा उठाएर हेरे ।

-हिजो नाट्यशाला ‘अर्काडी’मा हजुरलाई याद छ कि छैन, महामहिम ! – स्पष्टिकरण दिन शुरु गर्‍यो छेर्ब्यकभले – मैले हाच्छिउँ गर्दा, त्यसको छिटा हजुरमाथि पर्नगयो…. माफी…..

-यो के बकवास हो…. भगवान जानोस ! ‘ अनि तपाईंँको लागी म के गर्न सक्छु’ भन्दै जस्साब अर्को याचनाकर्तातर्फ मोडिए ।

-“कुरा गर्न चाहन्दैनन ! – छेर्ब्यकभले सोच्यो – रिसाइ बक्सेको हुनुपर्छ – होइन, यो कुरालाई यतिकै छोडनु हुन्न । म उनलाई बुझाएरै छाडछु ।”

-अन्तिम याचनाकर्तासित कुराकानी सिद्विएपछि जब जस्साब भित्री खोपीमा जान लागेको बेला छेर्ब्यकभ उनी पछि लाग्दै बडबडाए :

-महामहिम ! हजुरलाई बित्थामा दुख दिने दुस्साहस म गरौँला र ? आफ्नो मनभित्र भएको पश्चाताप जाहेर गर्ने हेतुले म यहाँँ हाजिर भएको हुँँ, नियतबश मैले यो गरेको होइन भन्ने कुरा हजुरलाई राम्ररी थाहा छ ।

अनुहार खुम्च्याउँदै जस्साबले हाथ झडकाल्यो ।

-तपाईं मेरो हंसी उडाइ रहनु भएको छ, कृपालु ! – दैलो ढप्काउँदै उनले भने ।

“के को हंसी मजाक ? – छेर्ब्यकभले सोच्यो – यसमा हंसीमजाक छंदै छैन, जस्साब भैकन पनि यति कुरा बुझेन । यदी यस्तै हो भने यो घमण्डीका सामु माफ माग्न म फेरी आउन्न । भाँडमा जाओस उ ! अब यत्रो पनि आउंदिन यहाँँ, एउटा पत्र पठाइ दिन्छु | भगवान कसम, आउंदिन !”

घर फिर्दै गर्दा छेर्ब्यकभ यस्तो सोच्दै थिए । जस्साबलाई उसले पत्र पठाएन । धेरै सोच्यो, बिचार्यो, तर कस्तो पत्र लेख्ने भन्ने कुरा नै ठम्याउन सकेन । अर्को दिन फेरी स्पष्टिकरण दिन आँफै गए ।

-हिजो म हजुरलाई बिन्ती बिसाउन आएको थिएँ – उ बडबडायो – जस्साबको सवालयुक्त आँखालाई नियाल्दै उसले भन्न थाल्यो : हजुरले मर्जी भएको जस्तो, हजुरमाथि हंसी-मजाक् गर्न म यहाँँ आएको थिइन | मेरो हाच्छिउँको छिटा हजुरमाथि परेकोमा माफी माग्न आएको थिएँ । हंसी-मजाक त मैले सोचेको पनि थिइन | हंसी-मजाक् गर्ने सहास् गर्न सक्छु र ? हामीले हजूरहरुमाथि हंसी-मजाक् गर्नु भनेको, हजुरहरुको अनादर गर्नु हो……..

-यहाँबाट निस्केर गइ हाल !! रिसले काँप्दै राँकिएर जस्साब चिच्याए ।

-के मर्जी भ…… ? त्रसित हुंदै कानेखुशी भाषामा छेर्ब्यकभ भकभकाए ।

-यहाँँबाट निस्केर गइ हाल् !! खुट्टा बजार्दै जनरलले दोहोर्याए ।

पेटभित्र कुनै चिज चुंडेको अनुभुत गर्‍यो छेर्ब्यकभले । उसले केही देखेन, केही सुनेन, बिस्तारै पाइला चाल्दै दैलो बाहिर निस्की सडकमा पुगे| यन्त्रवत हिंडेर, घर पुगी, लुगा पनि नखोली सोफामा लम्पसार पर्यो र मर्यो ।

(यो कथा सन् १८८३ मा लेखिएको हो र त्यतिबेलाको सामाजिक चित्रण गरिएको छ ।)


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

One Comment

  1. राम्रो अनुवाद ! तर अझै “छेर्ब्याकोभ” र “ब्रिज्झालभ” (रसियन ब्यङ्गयात्मक (काल्पनिक) थरहरु) – जुन थरहरु चेखोभको शक्तिशाली कलमको पहिचान पनि हुन् — को पनि भावानुवाद नेपाली शब्दकै थरले गर्नु पाए, अनुवाद अझै यथार्थपरक हुन्थ्यो कि?! हार्दिक बधाई तथा धन्यावाद!

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button