माइक्रोबसमा भेटिएको देश

विद्या खड्का

यात्रा
स्वयम्भूदेखि वसुन्धारासम्मको
सँधै झैं
छरितो ज्यान छिटो गति
माइक्रोबस चढें
माइक्रोको उल्टो सीट आज सजिलो लाग्दै छ
सामुन्ने पन्ध्रदेखि सत्र जना छन्
कोही थेप्चा कोही चुच्चा
कोही अग्ला कोही होचा
कोही चिम्सा कोही बल्ड्याङ्गरे
कोही कोदोको, गहुँको र मैदाका पिठो जस्ता
नियाल्दैछु एक एक सृष्टिलाई
सँगै उभिएका ढाँकाको टोपी र पगरी
सँगै सजिएका बख्खु, साडी र हाकुपटासी
चढ्दै र उत्रदै गरेका यात्रुहरू
देख्दैछु पहाडका थुम्काहरू
कहिले तराईको प्रचण्ड गर्मी
कहिले हिमालको चिसो हिउँ
सुन्दैछु देउडा, झ्याउरे, भोजपुरी र तामाङसेलो लवज
रारा, तिलीचो, फोक्सुन्डो झै शान्त कोही
कोही सडकका खाल्डामा जमेका पानी झै अस्थिर
कोही कोशी, मेची, कर्णाली झैं चन्चल
अनुहार हेर्दैछु, हृदय हैन
सबैका आआफ्नै विशेषता होलान्
तर म त्यही माइक्रोमा बसेर सयर गर्दैछु
देशका कुना काप्चा मनैमनमा
अहो ! कस्तो विविधता
गन्तव्य पुग्नै लाग्दा
झस्किएँ
मैले कालो चश्मा भित्रबाट
उनीहरूका मुहार चिहाइरहेको
कतै थाहा पाए कि ?


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button