मैले चाहेको कविता

सुशीला शर्मा

म चाहन्थेँ मेरो कविताले
आगो बालेको वाह ! वाह !
म यो पनि चाहन्थेँ कि
मेरो चुल्होको पनि आगो बाल्न
म चाहन्थेँ मेरा कलमहरु
समाजमा परिवर्तनको
उत्प्रेरणा बनेर उर्लिउन्
अनि समानता र समताले
मेरो गाउँ मेरो ठाउँ
जाज्वल्यमान होस्
मेरा गीतका भाकाहरु
कर्म गर्ने खेतबारी बनून्
हातमा हात मिलाउँदै
अरु छिमेकीहरुसँग पनि
अफसोस, मेरा कविता केवल
मेरा मन भुलाउने
मेरा लेखन मेरा
असन्तुष्टि पोख्ने
अनि मेरा गीत मात्र
मेरा आँसु लुकाउने
बहाना बनिरहेछन्
खै के तालमेल मिलिरहेको छैन
मेरा कविता, कलमको भाका अनि
मेरा गीत र म बाँचिरहेको
समाजबीच
केही नयाँ त अवश्य खोजेको
छ भाका, लय र छन्द
मेरा अनि हाम्रा जीवनका
गति अनि मोडहरुले
मेरा मानवोचित व्यबहारले
त्यस्तै सिद्धान्त बनोस्
न कि मैले घोक्ने कुरा
र म हिँड्ने बाटोले
बिरोधाभाष सृजना गरोस् ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button