
अस्ट्रेलिया पुगेका हजारौं नेपाली ‘गैरसैनिक लाहुरे’का कथा-व्यथा
नियात्रा चर्चाः ‘प्रशान्तको तीरैतीर’ चहार्दा
श्रीरामसिंह बस्नेत
विकसित मुलुकमा नगईकन भाग्य चम्काउन सकिंदैन भन्ने सोच नेपाली जनमानसमात्र होइन, अन्य देशमा पनि कम छैन । यसै रन्कोमा परेर विकसित र नवविकसित मुलुकमा दिमाग र पाखुरी दुवै खियाउन जाने नेपालीहरुको संख्या अब निकै उचाईमा पुगिसकेको छ । त्यसो त नेपालीहरु विदेश गएर भाग्य अजमाउने परम्परा सुरु भएको पनि एक शताब्दी भन्दा बढि भई सक्यो । नेपालीहरु विदेश गएर भाग्यले साथ दिए ‘खास’ बनेर आउने, साथ नदिए लास बनेर आउने परिपाटीको औपचारिक प्रारम्भ प्रथम विश्वयुद्ध देखि नै भएको हो । त्यसैलाई पछ्याउँदै दोस्रो विश्वयुद्धमा पनि नेपालीहरु विदेश पुगे भने यही दुई विश्वयुद्धको परिणामस्वरुप नेपालमा ‘लाहुर’ जाने परम्पराको जग बस्यो ।
नेपाली जनमानस ‘लाहुर’को वास्तविक अर्थ नबुझिकनै ‘लाहुरे’ परम्परामा हुर्कन अभिशप्त भयो । सन् १९४७ मा भारत र पाकिस्तान छुट्टिएर दुई अलग सार्वभौम देश बन्नु भन्दा अगाडि भारत अर्थात् हिन्दुस्तान वा इण्डिया एउटै देश थियो, जहाँ ब्रिटिश अँग्रेजहरुले शासन गर्दथिए । अहिलेका भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलंङ्का आदिमा अँग्रेजकै शासन थियो । त्यतिखेर लाहोर भन्ने ठाउँ, जो अहिले पाकिस्तानमा पर्दछ, त्यहाँ ब्रिटिश सेनाको ठूलो छाउनी थियो । विभिन्न ठाउँबाट ब्रिटिश सेनामा भर्ना हुन जाने युवकहरु त्यही लाहौर छाउनीमा एकत्रित हुन्थे । छानिएकाहरु भर्ती भएर त्यहिं तालिममा सहभागी भई ‘लाहुरे’ हुन्थे, नछानिएकाहरु उँधो मुन्टो लगाउँदै कि त आफ्नै घर फर्किन्थे, कि त गैरसैनिक काममा आफ्नो भाग्य अजमाउने प्रयास गर्थे । यसरी नयाँ सैनिक भर्ना गर्ने, तालिम दिने निश्चित स्थान विशेषको नामबाट लाहुर, लाहुरे शब्द हामी कहाँँप्रचलनमा आएको हो । तर अब समयले धेरै नेटो काटिसकेको छ ।
सन्दर्भ छ गीता रेग्मीव्दारा लिखित नियात्रा कृति ‘प्रशान्तको तीरैतीर’ बारे । यसमा पनि भाग्य अजमाउन अस्ट्रेलिया पुगेका हजारौं नेपाली पुरुष र महिला अर्थात् ‘गैरसैनिक लाहुरे’का कथा– व्यथा चित्रित छन् । गीता रेग्मी नेपाली साहित्यमा सुपरिचित नाम हो । प्रस्तुत कृतिमा उनले प्रशान्त महासागरको बीचमा रहेको अस्ट्रेलिया भ्रमणका क्रममा आफ्नो आँखाले देखेका र मनले भोगेका आरोह अवरोधलाई सरल र सरस शैलीमा प्रस्तुत गर्ने एक सार्थक जमर्को गरेकी छिन् । विभिन्न ३३ अध्यायमा बिस्कुन लगाइएको उनको करिव अढाई महिने अस्ट्रेलिया यात्रा अनुभव साच्चिकै पठनीय मात्र होइन मननीय समेत छन् ।
प्रायःजसो नियात्रा वा यात्रासंस्मरणमा लेखकले आफुले देखेका भोगेका नयाँ ठाउँको चमकदमकको प्रशंसामा धेरै शब्द खर्चेको पाइन्छ । तर गीताको लेखनमा त्यस्तो छैन, उनलाई चित्त नबुझेको कुरामा सोझै विमति राख्न उनले रत्ति पनि हिच्किचाएकी छैनन् । प्राक्कथनमै उनले लेखेकी छिन् – ‘‘ धेरै जलराशि बोकेर पनि मानिसलाई एक बुँद पानी पिलाउन सक्दैन, खै किन हो प्रशान्तको तीरैतीर हिँडिरहँदा यसको आकर्षण पनि मिथ्या जस्तो लाग्यो । ’’ पुस्तकको पहिलो पृष्ठमै रहेको साइबेरियाका चराहरुको उडानलाई प्रतीक बनाएर लेखिएको एउटा मीठो कविता पढन पाइन्छ । यस कविताले नियात्राकार गीताको भ्रमण प्रियताको परिचय दिन्छ ।
पारिवारिक यात्रा र अस्ट्रेलियामा रहेका निकटतम् स्वजनहरुसँगको मिलनको सेरोफेरोमा नियात्रा फैलिएको छ । यात्राको प्रारम्भ देखि नै विभिन्न तनावमा परेकी नियात्राकारले काठमाडौंबाट उडेर अस्ट्रेलियामा अवतरण भई राम्ररी पाइला टेक्न नपाउँदै गम्भीर अवस्थामा रहेकी कान्छी बहिनीलाई भेट्न हान्निदै अस्पताल पुग्नु परेको परिस्थितिको चित्रणले पाठकहरुलाई गम्भीर बन्न बाध्य पार्दछ । त्यसैले उनले आफ्नो यो यात्रालाई ‘तनाव जोडिएको यात्रा’ भन्न रुचाएकी छिन् ।
अस्टे«लिया बसाई र घुमाईका क्रममा भेटिएका पूर्व परिचित र नवपरिचित आफन्तहरुसँगको सान्निध्यको वर्णनबाट त्यहाँ रहे बसेका नेपालीहरुले भोग्नु परेका भुक्तमानको राम्रो झलक पाइन्छ । विकसित देशमा पुगेपछि त सुखैसुख पाइन्छ भन्ने सोच कति ठूलो भ्रम रहेछ भन्ने जान्न यो पुस्तकको अद्योपान्त अध्ययन पर्याप्त हुन्छ । त्यसमा पनि कागजी विवाह (पेपर म्यारिज) को आधारमा अस्ट्रेलियामा बसिरहेका महिलाहरुले सहन परिरहेको दोहरो शोषण त कहाली लाग्दो नै छ – ‘ यहाँ आउने सबैको परिस्थिति उस्तै नै हो । घर छोडेर आएको पीडा छँदैछ, छोराछोरीसँगको बिछोड, कागजी लोग्नेको धम्की, आफ्नो लोग्नेको चेपारो ।’ पाठकलाई प्रश्न गर्न मनलाग्छ अस्ट्रेलिया सरकारसँग – यो कागजी विवाह भनेको सत्प्रतिशत नक्कली हो भन्ने जान्दा जान्दै पनि किन यो नक्कली कामलाई नै प्रवद्र्धन गरिरहेको छ त्यत्रो विकसित भनिएको देशले ?
भ्रमणका क्रममा नियात्राकार गीताले अस्ट्रेलियाका धेरै दुरी नाप्दै विभिन्न गन्तव्यमा पुग्दा पनि आफ्नो देश नेपाललाई पटक्कै बिर्सेकी छैनन् । उनको आधा मन भने नेपालतिरै विचरण गरिररहेको पाठकहरुले स्पष्ट बुझ्दछन् – ‘ संसद भवनबाट फर्किदै गर्दा पशुपतिनाथको ढोकामा उभिएर मानिसहरुले बेस्सरी कराएर वर मागे झैं मैले पनि मेरो देशका विद्यार्थीहरुको सवालमा अलि सहज कानुन बनाइदेऊ है भनेर वर मागेँ । यो भित्तोले सुन्यो कि सुनेन खै ? हुन त भित्ताले सुनेर हुँदैन मान्छेले नै सुन्नुपर्छ । ’ कतिपय प्रसंगमा लाग्छ, उनले ‘न्याय अन्याय छुट्याएर हेर्ने स्वयम्भुका दुईटा आँखा’ आफ्नोसाथमै बोकेर विदेश पुगेकी छिन् ।
विदेश पुगेका नेपालीहरुको मनमा उब्जने एउटा आम प्रश्न वा असन्तोषबाट गीता पनि मुक्त हुन सक्दिनन् । त्यो के भने हाम्रा नीति निर्माताहरु र राज्यका डाडूपन्यौ चलाउनेहरु विदेश त खुब घुम्छन्, विदेशमै उच्च अध्ययन गरेर आएका पनि छन् तर विदेशमा देखेका, सिकेका कामकुरा आफ्नो देशमा लागु गर्न किन कहिल्यै अघि सर्दैनन् ? गीताको मन यसरी काटिन्छ – ‘ सि किल्फ बिचमा गयौं, अहिले समुद्रमाथिको पुलमा हिंडिरहेकी छु । चरम आश्चर्य लाग्दैछ, तल समुद्र, माथि पुलमा बग्रेल्ती मानिस । मेरो मन आफ्नो देशमा तुइनमा झुन्डिएर विद्यालय जाँदै गरेका नानीहरुमा गएर टाँसिन्छ ।’
एउटा अर्को दृष्यावलोकन– ‘ समुद्रबाट आएको छाल चट्टानमा ठोकिएर प्वालबाट बाहिर निस्कदा पानीको फोहरा देखिने । यति हेर्नका लागि मान्छेका हूलका हूल । हाम्रो देशमा पहाडबाट झर्दै गरेका नदीहरुमा यस्ता पानीका फोहरा कति हो कति देख्न पाइन्छ । के गर्नु , माल पाएर चाल नपाएपछि ?’
यस्तै अर्को– ‘ मानिसको भिड छ । अगाडि एउटा मानिस माइकबाट बोलिरहेछ, यहाँ हेर्नोस झरना छ । झरना गोरखाको तीनधारे भन्दा ठूलो थिएन ।’
अस्ट्रेलियाको राजधानी क्यानबेरास्थित संसद भवनको वर्णन गर्दा नियात्राकार गीताले दिएको एउटा जानकारी निकै रोचक छ । चार तले संसद भवनको माथिल्लो तलामाथि घाँसे चउर रहेछ, जसमा आमजनता हिंडदा रहेछन् । त्यसमुनिका तलाहरुमा साँसद, मन्त्री र प्रधानमन्त्री आदि रहने व्यवस्था रहेछ । ती सबैभन्दा माथि जनता हुन्छन् भन्ने प्रतिकात्मक अर्थमा संसद भवनको माथिल्लो तलामाथि आमजनता हिंडन, बस्न मिल्ने घाँसे चउरको व्यवस्था गरिएको रहेछ । आखिर जनता नै त सर्बोपरी जनार्दन हुन्, बुझ्नेका लागि ।
यात्राका क्रममा अनुभव गरिएका चित्त नबुझेका कुराहरु पनि गीताले खुलस्त लेखेकी छिन् । अस्ट्रेलियामा भूभागको कुनै कमी छैन । सिंगै महादेश नै एउटा देशको रुपमा छ । तर पनि सवारी पार्किङ किन त्यति साह्रै महङ्गो ? सर्वसाधारणलाई तनाव नै दिने गरी पार्किङ शुल्क तोकिनु र त्यसबाट बच्न सवारी चालकहरु चर्को शुल्क तिर्न नपर्ने ठाउँ खोज्दै भौंतारिनु पर्ने अवस्था आखिर कस्को हितका लागि ? उनको अर्को पनि असहमति छ – त्यत्रो भूभाग हुँदाहुँदै प्रविधिको आडमा प्रकृतिलाई निर्ममतापूर्वक दोहन गरेर समुद्रमाथि विमानस्थल किन बनाउनु परेको ?
आजको वैभवशाली विकसित अस्ट्रेलिया मात्र अस्ट्रेलियाको यथार्थ होइन । यसको इतिहास कहाली लाग्दो छ । साम्राज्यवादी ब्रिटिशहरुले सन् १७७० पछि अस्ट्रेलिया माथि आधिपत्य जमाउने क्रममा यहाँका पिटजान, एरेन्ते, लुरित्जा, वार्लपिरी आदि अबोर्जिनल आदिवासी जातिहरुमाथि गरेको नृशंश अत्याचार र दारुण शोषण मानव सभ्यताको इतिहासकै एक कालो अध्याय हो । तर आजको अस्ट्रेलियामात्र देखेका, बुझेकाहरुलाई त्यो इतिहासको अत्तोपत्तो हुँदैन । तर गीताले भने अस्ट्रेलियाको त्यो कालो इतिहासलाई झल्झली सम्झेकी छिन्, प्रशान्तको तीरैतीर चहार्दा । ‘ विदेश निलो समुद्र, गगनचुम्बी महल र सुन्दर गाडीका अगाडि उभिएको हँसिलो फोटो मात्र होइन । यहाँभित्र दुःखका अनगिन्ती पहाडहरु छन् । समुद्रको पानी जस्तै अथाह नुनिलो आँसु पनि छ । प्रसब वेदनाभन्दा बढी दुख्ने चोटहरु छन् । नलेखिएका कथाहरु लेख्न धेरै नै ढिलो भइसके …।’ उनी लेख्छिन् ।
विदेशमा भाषाको समस्या कति ठूलो सकस हुन्छ भन्ने कुरा भोग्नेलाई मात्र थाहा हुन्छ । युवाहरुले त जसोतसो काम चलाउँछन् तर उमेर र उर्जाले नेटो काटिसकेकाहरुलाई भने कति मर्म पर्छ भन्ने उनले भेटेकी एक भारतीय बृद्धको गुनासोबाट स्पष्ट हुन्छ – ‘हाय, मेरो देशको के कुरा गर्नुहुन्छ ? खेतीपाती थियो । छोराले यहाँ लिएर आयो, वरिपरि कोही बोल्दैन । यहाँभन्दा त आफ्नै देशको जेलमा बस्न पाएको भएपनि बरु आफ्नै भाषा बोल्न त पाइन्थ्यो । ’’
बोलिचालीका शब्दहरु जस्तै– ओहो नि नारान, रेलै सररर, बरिलै, बाफ रे, बरै, आदिले वर्णन शैलीलाई रोचक बनाएको छ । नियात्राको सफलता भनेको पाठकले नियात्रा पढिरहँदा आफूलाई नियात्राकारसँगसँगै यात्रारत रहेको अनुभूति गर्नु हो । त्यस कसीमा ‘प्रशान्तको तीरैतीर’ खरो उत्रिएको छ । गीता रेग्मीको यात्रा गर्ने खुट्टा र नियात्रा लेख्ने हातको निरन्तर सक्रियताका लागि हार्दिक शुभकामना ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)