
शहर: धेरै माया खोजेर थाकेपछि रत्नपार्कको बेन्चमा
टंक सुवेदी
जति फराक सडक
त्यति धेरै गाडी
फरक फरक आकार
थरी थरी रङ
फरक रुचि र उमेर
फरक सोच भएका चालक
किन नहोस् त दुर्घटना !
जति सानो सडक
त्यति ठुलो बनाउने चाहना
जति अग्लो घर
त्यति होचो स्वागत
यहि हो मेरो शहर
तै पनि खै किन
शहरमै बाच्ने रहर !
गाउँमा घरहरु टाढा थिए
मन नजिक थियो
घर होचा थिए
माया अग्लो थियो
जति खुल्ला आकाश
त्यति खुल्ला सम्बन्धहरु
थोरै चुनौती
धेरै विकल्पहरु ।
आकाश साघुरो
घर अग्लो
मन होचो
तार जताततै
बत्ती मधुरो
शहरले मलाई चिनेन
न मैले शहर चिने
भुटेको मकै खान
पपकर्न किने ।
धुलो परेर चिलाएको
चिम्से आखाले
ठुलो घर र ठुलो शहरमा
खुल्ला मन र धेरै माया
खोजेर थाकेपछि
रत्नपार्कको बेन्चमा
तिर्ने पैसा खोज्दैछु
इजारभित्र राखेको
१० रुपैयाँ हेर्दैछु
च्यातिएको मनलाई
आज फेरि टाल्दैछु ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)