दुलहीले भनी, ‘छ्या! कस्तो मात्तेको मान्छे’

आखिर मनै न हो

त्यसो त उसलाई पनि बिहे गर्न मन नलागेको कहाँ हो र ? तर रहर लागेर मात्र हुँदो रहेनछ । भाइको बिहे धुमधामसँग हुँदा ऊ खुसीले राम्ररी रमाउन नसके पनि रमाएको अभिनय गर्न भने उसले बाँकी राखेन ।

उमेरले भाइभन्दा ऊ चार वर्ष जेठो छ । तर उसको शारीरिक अपाङ्गताले गर्दा बिहेका लागि ऊ योग्य मानिएन, उसको पालो आएन र तन्दुरुस्त भाइको विवाह भयो । जन्मेको केही समयदेखि नै उसका खुट्टाले धोका दिए । ऊ हिंड्न सक्दैन । एक ठाउँबाट अर्को ठाउँमा जाँदा उसले हातबाटै खुट्टाको पनि काम लिनु पर्दछ । त्यसैले ऊ आफ्नै कोठाको झ्यालमा बसेर बाहिरी संसारलाई नियाल्ने गर्दछ । झ्यालबाट र कौसीबाट देखिने भन्दा बढी संसार हेर्न टेलिभिजन मात्र उसको एकमात्र सहारा छ ।

भाइको बिहे गर्ने निधो भएदेखि यस घरको वातावरण नै फरक भएको छ । उसका मामाघरदेखि फुपूघरसम्मका सबैजसो नातेदारहरु घरमा जम्मा भएका छन् । छिमेकीहरु पनि छन् । भाइका साथीहरुको बेग्लै फुर्तीफार्ती छ । उसले अहिलेसम्म ३० वर्षको जिन्दगीमा आफ्नो घरमा यस्तो चहलपहलको वातावरण यसअघि कहिल्यै देखेको थिएन ।

विवाहका लागि घरमा आएका नातेदारहरुमा कोही कोही मात्र उसको कोठामा पनि आए, केहीबेर बसेर गए । धेरैबेर बसेर ऊसँग कुरा गर्न कसैलाई पनि त्यति मन लाग्दैन । किनकि उसको बोली पनि त्यति प्रष्ट छैन ।

अहिले ऊ सोचिरहेको छ, यदि मेरा पनि खुट्टा सद्धे भइदिएका भए भाइको सट्टा मेरो विहे हुन्थ्यो । म दुलहा बन्थें । कस्ती हुन्थी होली मेरी दुलही ? म पनि आफैंले रोजेर बिहे गर्थें । जीउ सलक्क परेकी, छरिती केटी बिहे गर्थें । अँ कपाल लामो भएकी केटी छान्थें । भाइकी दुलही कस्ती होली ?

उसका खुट्टा सग्ला नभए पनि हात र दिमाग सग्ला भएकाले पढने, लेख्ने, टिभी हेर्ने, रेडियो सुन्ने आदि कर्ममै उसका दिन बित्ने गरेका छन् । पहिला सानो छँदा त उसको भाइले उसलाई प्रायः छोड्दैन थियो । ऊ स्कुल जान्थ्यो र हरेक दिन स्कुलमा पढेका कुरा दाजुलाई बताउँथ्यो, सिकाउँथ्यो । बाहिरका अनेक कुराहरु घर बाहिर जान नसक्ने दाजुलाई बताउँथ्यो । उसले यति लेखपढ गर्न सक्ने, कुरो बुझ्न सक्ने भएको भाइकै मद्दतले हो । तर भाइ ठूलो हुँदै गयो, व्यस्त हुँदै गयो, भाइका साथीहरु धेरै भए, अनि उसले असक्त दाजुलाई दिने समय पनि क्रमशः घट्दै गयो । अब त भाइ हप्ताको एक दिन शनिबार मात्र एक क्षण उसको कोठामा आउँछ र आठ–दश मिनेट बसेर हिंडिहाल्छ । भाइसँग दूरी बढ्दै गएकोमा उसलाई नमीठो त लागेको छ तर उसले भाइलाई दोष दिएको छैन, वास्तविकता उसले बुझेको छ ।

हरेक दिन उसको कोठामा घरीघरी आउने र उसको पूरा हेरविचार गर्ने काम पहिलेदेखि अहिलेसम्म उसकी आमाले गर्ने गरेकी छिन् । उसलाई आफ्नो प्राण आमाकै भरमा मात्र अडिरहेको छ जस्तो लाग्छ । आमा नभएको भए त ऊ पहिल्यै मरिसक्ने थियो भन्ने उसको ठम्याइ छ । तर उसले हेर्दाहेर्दै आमा पहिलाको भन्दा निकै गल्दै गएकी उसले पाएको छ । आमालाई केही भयो भने के होला भन्ने सोच्दा ऊ निकै डराउँछ । बाबु पनि उसको कोठामा कहिलेकाहीं आउँछन् तर धेरै बोल्दैनन् ।

भाइको बिहेमा ऊ जन्ती जान पाएन । आँगनमा भएको बिहेको सबै रमझम् उसले झ्यालमै बसेर हे¥यो । दुलही भित्र्याएपछि उसका भाइ–बुहारी ऊसँग ढोगभेट गर्न उसकै कोठमा आए । ऊ निकै खुसी भयो । उसले नयाँ दुलहीलाई हेरेको हे¥यै ग¥यो । आमाले ‘‘ टीका लगाई देऊ भाई–बुहारीलाई’’ भने पछि ऊ झसङ्ग भयो र टीका लगाइदियो । आफ्नो बिहेको कल्पना गर्दा उसले जस्ती दुलहीको कल्पना गरेको थियो उसकी बुहारी करिब त्यस्तै पायो उसले, अर्थात् जीउडाल सलक्क परेकी, कपाल लामो भएकी, हँसिली ।

बिहेको रमझम् सकियो, पाहुनाहरु फर्किए । दिनहरु बित्दै गए । उसको कोठा भएको कौसी तलामा बुहारी कमैमात्र आउँथी । प्रायः कौसीमा लुगा सुकाउने र उठाउने क्रममा ऊ आउँथी । त्यतिखेर ऊ बुहारीलाई निकै नियालेर हेर्दथ्यो । एक दिन शनिवार ऊ कौसीमा लुगा सुकाउँदै थिई । उसको भाइ विस्तारै अरुले चाल नपाउने गरी कौसीमा आयो र पछाडिबाट आफ्नी स्वास्नीलाई अँगालो हाल्यो । दुलहीले आत्तिदैं ‘छ्या! कस्तो मात्तेको मान्छे’ भनी । उसले यो दृष्य आफ्नो कोठाको ढोकाको चेपबाट देखिरहेको थियो । यो देखेर उसलाई एकदमै उकुसमुकुस भयो । उसले आफूलाई सम्हाल्न ओढनीले मुख छोपेर सुत्यो ।

बेलाबेलामा उसका भाइ-बुहारी कौसीमा आउँछन्, गफ गर्छन्, जिस्किदै हात हालेरै चल्छन् पनि । उसलाई त्यतिखेर निकै गाह्रो महसुस हुन्छ । उसको कोठाको ढोका प्रायः सधैं बन्द रहने र कौसीतिर फर्केको कुनै झ्याल नभएकोले उनीहरु कोठामा रहेको दाजुले केही थाहा पाउँदैन भन्ने सोच्दछन् । तर उसले ढोकाको चेपबाट सबै थाहा पाउने गरेको छ ।

गर्मीको मौसम छ । पानी पर्न नसकेर गर्मी झन् उखरमाउलो भएको छ । एक रात १० बजिसकेपछि उसका भाइ-बुहारी कौसीमा आएको उसले चाल पायो । यति राति किन आए होलान् भन्ने जिज्ञासा उसलाई भयो । उसले आफ्नो कोठाको बत्ती निभायो र ढोकाको चेपबाट कौसीतिर आँखा र कान लगायो । मधुरो जून लागिरहेको थियो । उसको भाइले हाफ पेन्ट र बुहारीले पातलो गाउन लगाएकी थिई । केहीबेर पछि भाइले बुहारीलाई अँगाल्यो । बुहारीले भाइको छातीमा टाउको राखी । भाइले बिस्तारै आफ्नी स्वास्नीको चिउँडो समातेर टाउको उठायो र पहिला निधार, त्यसपछि गाला हुँदै ओठमा मुख टाँस्यो । धेरैबेरसम्म उनीहरु यही अवस्थामा लट्ठिरहे । भाइका हातहरु बुहारीका शरीरमा जताततै सल्बलाइरहेको जूनको उज्यालोमा उसले ढोकाको चेपबाट प्रस्टै देख्यो । बुहारीको हात पनि भाइको ढाडमा सल्बलाईरहेका थिए । केहीबेरपछि उनीहरु लठारिदै कौसीबाट तल कोठातिर ओर्लिए । उसलाई असैह्य भयो । उसले बत्ती बाल्यो, ढोकामा चुकुल लगायो र सबै लुगा फुकालेर निर्वस्त्र भयो । ठूलो ऐनामा आफ्नो नाङ्गो शरीर हेरेर आफैं रमायो र अघि भाइबुहारीले जस्तै आफ्ना हातहरु शरीरका विभिन्न भागमा डुलायो ।

केही समयपछि ऊ बिमारीले नराम्ररी थलियो । केही दिन घरमै राखेर उपचार गर्दा पनि निको नभएकोले अस्पताल भर्ना गरियो । उसकी आमाले एक दिन बुहारीलाई ‘माथि जेठाजूको कोठा पनि आज सफा गरिदेउ, धेरै भयो उसको कोठा सफा नगरेको’ भनी अराएर आफू अस्पतालतिर हिंडिन । सासूले अराएअनुसार बुहारीले दिउँसो जेठाजूको कोठा सफा गर्न थाली । जाडो महिना लागिसकेकोले ओछ्यान सुकाइदिनु प-यो भनेर उसले जेठाजूको पलङबाट डसना उठाई । डसना उठाएपछि ऊ तीन छक्क परी । डसनामुनि त उसैका विभिन्न रङ्गका भित्री लुगाहरु पो तह लगाएर राखिएका थिए ।

बल्ल आज उसले कौसीमा सुकाउन हालेका उसका भित्री लुगाहरु हराउने गरेको रहस्य थाहा पाई । धोएर कौसीमा सुकाएका अरु लुगाहरु नहराउने तर उसका भित्री लुगाहरु मात्र पटक पटक हराएका थिए । भित्री लुगा सबैभन्दा सानो हुनाले हावाले उडायो होला, भित्री लुगा पनि के खोजिरहनु भनेर उसले वास्ता गरेकी थिइन । तर त्यसरी गायब भएका उसका पेन्टी र ब्राहरु आज जेठाजूको ओछ्यानमुनि जतनले राखिएको अचानक देख्दा उसको आश्चर्यको सीमा रहेन । उसलाई हाँसो पनि उठ्यो, अशक्त जेठाजूप्रति टिठ् पनि लाग्यो ।

उसले डसना कौसीमा लगेर घाममा सुकाई र पछि डसना पलङमा राख्दा आफ्ना ती सबै भित्री लुगाहरुलाई पट्याएर डसनामुनि त्यसरी नै राखिदिई, जसरी उसको जेठाजूले राखेको थियो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button