
सुशीलाको महाभारा ‘ओपिनियन’
चर्चित उपन्यास ‘महाभारा’ पढेपछि
सुशीला शर्मा
खास गरेर उपन्यास पढ्न अत्यास लाग्थ्यो, धेरै लामो हुने भएर । तर समय अनुसार उपन्यासले बोक्ने समाज र इतिहासले धेरै कुरा सिक्न सकिन्छ भन्ने आशयका चर्चा सुनेर केही उपन्यास पढ्न थालियो । यसैक्रममा उपन्यास महाभारा पनि पढी भ्याइयो ।
एक किशोर ड्राईभरको केन्द्रमा रहेर लिम्बु समुदायभित्रको तामाङ केटो डुक्पाको कथा समेटिएको र एकदम यथार्थ लाग्ने तरिकाले प्रस्तुत गरिएको उपन्यास महाभाराले आफैले यात्रा गर्दा चालक, सहचालकका अनेक अभद्र र अश्लिल मानिने बोली वचनको विषयमा नेपालनाम्चामा एउटा लेख नै लेखेको सम्झिएँ । त्यतिबेला लाग्थ्यो कि, हैन यी कस्ता मनुवा हुन् ? कुनै अनुशासन यिनीहरुले मान्नु पर्दैन् ? भीड गाडी छ तै पनि दिदी, अन्टी भन्दै गाडीमा चढ्न कर गर्ने सहचालक । यात्रीले गाडी भीड छ जान्न भन्यो भने खुला गाडीमा चढ्न त आफ्नै कार लिएर हिँड्नु नि भन्ने पनि सहचालक । तर भित्र कता कता यिनीहरु पनि त हाम्रै समाजका मानिसहरु हुन नि । समय र परिस्थितिले स्वच्छन्द बनाइदिएका । तर निडर र अप्ठ्यारा बाटाहरुमा गाडी हाँक्दै या हाँक्न सिकाउँदै यात्रुलाई गन्तव्यमा पुर्याउने सेवक । एउटा युवा चालकको कथा । कुनै त्यस्तै समय, परिवेश र घटना बुनेर बजारमा ल्याइएको पुस्तक महाभारा झण्डै तीन महिनामा अलिअलि गरेर पढेर सकियो ।
हरेक श्रमजीवीको आफ्नै कथा व्यथा हुन्छन् नै । यस उपन्यासमा एक श्रमजीवी चालकको देशको राजनैतिक परिवेशसँगैको कथा समेटिएकोले पनि यो उपन्यास विशेष लाग्यो ।
कथा पात्र बीस–एक्काइस वर्ष अगाडिको परिवेशसंग सम्बन्धित छ, जुन वर्तमानसंग पनि प्रत्यक्ष नै हुने भइगयो । कथा छ जनजाती, सिमान्त, घुमन्ते, स्वतन्त्र स्वच्छन्द किशोरहरुहको अझ भनौं पात्र डुक्पा, जसको उपनामहरु पनि छन डेनी, थेवे आदि । तीमध्ये कुनै डुक्पा सहर पसेपछि आफैले राखेका या भूमिगत हुनका लागि राखेका उपनाम हुन् । यिनकै ईर्दगिर्दमा त्यसबेलाको समयको चित्रण गरिएको छ ।
कला र ड्राईभिङ्ग रुचि भएको तर पढाईलेखाईप्रति खासै ध्यान आकृष्ट गर्न नसक्ने एक किशोर डुक्पा समाज र संस्कृतिबाट प्रभावित देखिन्छ । देउता बक्ने हुँदा शिक्षकको कुटाई खाएपछि किशोर मस्तिष्कमा परेको गहिरो छापले धरमर भएको मानसिक अवस्थाले विद्यालय र घर नै छोडेर शहर हानिन्छ । छोरा भएर जन्मेपछि भन्ने समाजको उक्तिलाई चरितार्थ गर्दै भविष्यमा सुख कमाउने ध्येयले डुक्पा पनि शहर हानिन्छ । यो दूर दराजमा बस्ने निम्न वर्गीय परिवारले रोज्ने बाटाहरुमा डुक्पा पनि पर छैन् । तर किशोरवयमै अंकुराउन खोजेको प्रेमलाई पनि वास्ता नगरी सक्षम चालक बन्ने र बुढो बाउलाई सहारा दिन्छु भन्ने सकारात्मक भाव पनि जिवितै रहेको एक अल्लारे ठिटो डुक्पा ।
त्यतिबेलाको राजनैतिक परिवेश, ‘जनयुद्ध’को माहौलमा माओवादीहरुको सम्पर्कमा आएको डुक्पा । दोधारमै माओवादीहरुलाई सहयोग गर्न पुगेको । नागरिकताजस्ता प्रशासनिक कागजात आफैले बनाउनु पर्छ र चालक बन्नलाई यो प्रमाणपत्र नै हो भन्ने महत्वबोध पहिले नहुनु तर पछि गएर अर्कैको नामको लाईसेन्सले काम चलाइरहेको । घटनाले ठ्याक्कै यस्ता खालका उदाहरणहरु हाम्रा समाजमा प्रशस्तै छन भन्ने देखाउँछ । जताबाट पनि जोखिम मोलिरहेको, भित्र मनमा डर पनि भएको, प्रेमिल अनि बुद्धप्रति झुकेको जस्तो देखिन्छ डुक्पा । भविष्यमा राम्रो होस् भन्ने आशाको त्यान्द्रोलाई जिवितै लिएर हिँड्छ डुक्पा । खास गरेर पुरुष युवाहरुको प्राथमिकता नै हो र महिलाहरुको सहभागिता, धार्मिक र माओवादी छापामारसम्म पनि देखाइएको छ । धेरैजसो भने महिलाहरुलाई जिस्किने, मस्किने, जिस्क्याउने, रोमाञ्चक बनाउने तरिकाले नै प्रस्तुत गरिएको हो कि भन्ने पनि लाग्छ, उपन्यास पढ्दै गर्दा । वास्तविकतामा पनि चालक, सहचालकका अधिकाँश व्यवहार त्यस्तै नै हुन्छन् । उनीहरुका रफ भाषाशैली अनि दिनी बैनी भनेर नाता लगाएकालाई गर्ने सम्मान । यो चालकपेशाकर्मी वृतमा देखिने कुरा नै हुन् ।
सम्भावना भएर पनि योग्य बन्न नसकेको डुक्पाको कथा नै घुमिरहन्छ । गाउँमा पूर्व जमिन्दार पनि छ, समाचार सुन्ने, राजनीतिमा चाँसो राख्ने, चिया पसल या भट्टी पनि छ । विद्यालय छ, शिक्षक शिक्षिकाहरु छन् । बालबालिकाको मनोविज्ञान बुझ्दैनन ? सिम्किनाले हिर्र्काएर र कान निमोठेरै तह लगाउँछन् शिक्षकहरु ।
डुक्पालाई किशोरवयमै प्रेमिका भेट हुन्छिन् धान नाचमा । डुक्पामा इमान्दारिता छ । शरणमा आएकालाई मरण गर्नु हुँदैन् भन्ने सिद्धान्त उसले किताबबाट पाएको होइन । जन्मभूमि र प्रकृतिप्रति अगाध माया पनि छ उसमा । आमाको स्नेह बालकैमा नपाएकोमा भावुक पनि छ डुक्पा । भिन्न जातीय सौहार्दता र भिन्न संस्कृतिप्रतिको रुझान त उसले बेला बेला बोल्ने किराँती लवजले नै बताउँछ । उसको प्रेम पनि लिम्बू युवतीसँग नै हुन्छ ।
समग्रमा डुक्पा चेतनशील मान्छे नै हो । गोरु धपाउने, भेडा चराउने, बन जंगल घुम्ने, जंगली फल खाने, पनाम गाउने । यो उसले आफ्ना बाउ, छरछिमेक र साथीभाईसंग सिकेको अनि जानेको । उमेरको बृद्धिसंगै भीरको बाटोमा ट्रक कुदाउने उसको सपना ।
डुक्पा पढाईमा कमजोर भएरै शिक्षक र विद्यालयसम्म छोड्ने मनसायमा पुग्छ । आफ्नो अपमानबोधपछि आईन्दा पढ्न विद्यालय नजाने तर एक सक्षम चालक हुने उद्धेश्यले शहर हानिन्छ डुक्पा । द्धिअर्थी ढंगले महिलालाई जिस्क्याउने र महिलाहरु पनि सँगसँगै जिस्किएका प्रसङ्ग पनि आउँछन् बेलाबेलामा । यो गाडी लाईनमा मात्र होइन, ठेलागाडामा तरकारी बेच्नेहरुबीच, ज्याला मजदूरी गर्नेहरुबीच, खेतबारीमा अर्मपर्मगर्नेहरु बीच पनि हुने गर्दोरहेछ । यहाँसम्म कि आजकल त शिक्षण पेशा या अन्य शिक्षितहरुबीच पनि यस्ता छेडखानी चल्दोरहेछ । यसरी हेर्दा समाज त्यति बन्द पनि छैन जस्तो लाग्ने ।
धर्म परिवर्तन गरी कृश्चियन पनि बनेका छन् समुदायका थुप्रै मानिस । डुक्पालाई उता सुक्मतीको प्रेममा चुर्लम्म र यता मेरिनासँग पनि ठट्टा गर्न र सामिप्यता खोजिरहेको डुक्पा । पुरुष या विपरित लिङ्गी प्रवृति नै यस्तो भन्न खोजेको हो कि ?
उपन्यासमा पात्र मिंसो धार्मिक राजनीति गर्छ । उसको छोरो तान्छोहाङ्ग शुरुमा अल्लारे भए पनि समयक्रममा सुधारवादी र सामाजिक देखिन पुग्छ ।
प्रेमको अभिव्यक्ति डुक्पामार्फत यस्तो सुनिन्छः शरीर छुन नपाई गरिने प्रेम के प्रेम ? भन्दिएकै भरमा भईबस्छ र प्रेम ? प्रेम फूल हो तर गमलाको । यसलाई घरिघरि वचनको अम्खोराले पानी हालिरहनुपर्छ ।
धर्मको भ्रमका असरहरुलाई माक्र्सको धर्म भनेको अफिम हो भन्ने उक्ती पनि राखिएको छ कुनै ठाउँमा ।
युवाहरु डुक्पा, तान्छोहाङ्ग मध्यस्थकर्ता जस्तो पनि देखिनसक्छन् । एकआपसमा झैझगडा नगरौं भन्ने खालका कुराहरु बन्दुकले समस्या समाधान नहुने अभिव्यक्तिले पनि दर्शाउँछ । माओवादी योद्धा कटक साम्पाङ्ग पात्रलाई छुटाउन तान्छोहाङ्गले खेलेको भूमिका युवाको मध्यस्थकर्ताको भूमिका हो भन्ने पनि भेउ पाउन सकिन्छ ।
माओवादी सशस्त्र द्धन्दमा धेरै मान्छे मारिएको कुराहरु पात्रहरुले बोलेका संवादले जनाउँछ । जहाँ कतै भनिएको छ कि मान्छेमारा राजनीति चाहिएको हैन । डुक्पा माओवादी राजनीतिमा जानी नजानी सामेल त भयो तर भागीभागी आफ्नो ज्यान बचायो उसले संगत गरेका थुप्रै छापामारहरु छेउछाउमै मरे ।
डुक्पाकी प्रेमिका सुक्मतीलाई पनि कि माओवादी छापामार नै बनाइदिएको भए या अरु नै बहादुरी देखाइदिएको भए पनि हुने । त्यस समाजमा फेरि मन्दिरमा गएर सेवा गर्ने चलन पनि त रहेछ । सकारात्मक कुरो के हो भने ती युवती पछि गएर शिक्षिका हुन्छिन् । डुक्पा र सुक्मतीको पुनर्मिलन त हुन्छ फेरि ।
समाजको पिछडिएको चेतनासँग लड्नु धेरै गाहृो हुने कुरा उल्लेख छ कतै भने कतै अव्यवस्थित लाग्ने माओवादी आन्दोलनका पात्रहरुको बहसवाजीमा राज्यपक्ष र माओवादीपक्ष दुबैतिरबाट आततायी तवरले गोलाबारुद भएर मानिसहरुको मृत्यु भएको सत्य देखिन्छ । जे होस्, यो एउटा कालखण्डमा घटेको घटनालाई साक्षी राख्दै पूर्वी पहाडको समुदायको युवाहरुको सामाजिक, सांस्कृतिक र मनोगत पक्षलाई पनि समेट्दै महाभारा लेखिएको छ, जसले पढ्दापढ्दै रोमाञ्चकता, आश्चर्य र यथार्थको सम्मिश्रण पनि देखाउँछ । अरु थुप्रै पात्रहरु छन्, जुन यस उपन्यासमा आवश्यक थियो । ती पात्रहरुमा डुक्पालाई कमरेड बनाउने माओवादी नेताहरु, डुक्पालाई गाडी चलाउन दिएर रोजगारदाता बनेका एक व्यापारी, डुक्पासँगै डेरामा बस्ने र क्याविन रेष्टुरेन्टमा काम गर्ने डुक्पाको नजिकको साथी आदि । गाउँबाट रोजगारीको लागि सहर झर्नेहरुका सहरका बसाईबारे यी पात्रहरुले नै साँच्चै हाम्रो समाजको सामान्य चरित्रलाई देखाएको पनि छ ।
समग्रमा यस उपन्यासबाट ‘त्यस्तो ज्ञानगुन’को भेउ पाउन नसके पनि उपन्यासभित्रको कथा बुनाई रोमाञ्चक छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)