
म आगोको भुंग्रोमा हिँड्ने मान्छे, मेरो बाटोमा पानी नहाल
कविताः म
रुद्रप्रसाद उप्रेती
म आगोको भुंग्रोमा हिँड्ने रहर भएको मान्छे हुँ
मान्छेहरु हो, मेरो बाटोमा पानी नहाल ।
उल्टा काँडाको बीचमा फलेको फल टिप्न
काँडा बीचमै फुलेको गुलाफको सुन्दर फूल टिप्न
विषालु सर्प समातेर माला लगाउन
हावा समातेर खेल्न अनि चप्लेटि ढुंगो अलि पर ठेल्न
मलाइ सारै मन पर्छ, मलाइ अति रहर लाग्छ ।
म आगोको भुंग्रोमा हिड्ने रहर भएको मान्छे हुँ
मान्छेहरु, कृपया म हिँड्ने बाटोमा पानी नहाल ।
आँधीहुरीसँष्ग पौंठेजोरी खेलेर,
अन्धकार रातको अंध्यारो छिचोलेर
आँखै खानेगरी विजुली चम्केर चट्यांग् परेको आकाशमा
माथि माथि चढ्न र अघि अघि बढ्न
मलाइ अति मन पर्छ, मलाइ अति रहर लाग्छ ।
म आगोको भुंग्रोमा हिडने रहर भएको मान्छे हुँ
त्यसैले मान्छेहरु हो, मेरो बाटोमा पानी नहाल ।
आगोको फिलींगो खोकिलामा च्यापेर
बलिरहेको आगोको ज्वालालाई बीचैमा रोकेर
मुस्लो धुवाँको विचमा चारैतिरबाट घेरिएको बेला
धुवाँ र लप्काहरुलाई उछिन्दै आकाश मार्गमा
अझ क्रुरतापुर्वक भयानक रुपमा अघि अघि बढ्दा
मलाई उछिन्न र नियन्त्रण गर्न नसोचे हुन्छ ।
म आगोको भुंग्रोमा हिँड्ने रहर भएको मान्छे हुँ
त्यसैले मान्छेहरु हो, मेरो बाटोमा पानी नहाल ।
बादल फाटेर आकाश चंगा भएको होस्
खडेरीले जताततै आगो जस्तै लप्का झरेको होस्
आकाश मानौं एकलौटी घामको साम्राज्य भएको होस्
ठिक त्यसै बखत मलाई घामतिरको यात्रा मनपर्छ
अनि घामको पिठ्युँमा चढेर सुदुर यात्री बन्ने इच्छा जाग्छ ।
म आगोको भुंग्रोमा हिँड्ने रहर भएको मान्छे हुँ
त्यसैले मान्छेहरु हो, मेरो बाटोमा पानी नहाल ।
अक्करै अक्करको भिर होस्
भिरको बीचमा धाउको खानी मिलोस्
खानीभित्रै पसेर, धाउ खानीभित्रै बसेर
पसिनाको तातोले धाउ गलाएर फलाम बनाउन
तिनै मेरो पसिनाले सिंचित फलामले मेरो वासस्थान बनाउन
मलाई अति रहर लाग्छ, मलाई अति मन पर्छ ।
म आगोको भुंग्रोमा हिँड्ने रहर भएको मान्छे हुँ
त्यसैले मान्छेहरु हो, मेरो बाटोमा पानी नहाल ।
कठिनाइ सँगसँगै जिउनुको मज्जा कसलाई थाहा ?
अप्ठ्याराहरुसँग खेलेको आनन्दको किन डाहा ?
कठिनाइहरु छन् र त म जिवीत भएको आभाष छ
हरेक समस्याहरुसँग नै मानवताको वास छ
हरेक युद्धपछि शान्ति, अन्धकारपछि उज्यालो छाउनै पर्छ
साउने झरीको विदो पछि आकाश खुलेर आउनैपर्छ ।
म आगोको भुंग्रोमा हिँड्ने रहर भएको मान्छे हुँ
त्यसैले मान्छेहरु हो, मेरो बाटोमा पानी नहाल ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)