ती दिनः किताबमा पढेको काठमाडौंमा किताबै पढ्दाका कष्ट

राजन सिम्खडा

काठमाडौं जान म पहिलोपटक पिपलटारबाट बुवासँगै त्रिशूली–काठमाडौं चल्ने बस चढें । धेरै घुम्तीहरु पार गर्दै बस रानीपौवा पुग्यो । बुवा र मैले चिसो मौसममा चिया र मालपुवा खायौं । ककनी भञ्ज्याङ काटेपछि मैले देशको राजधानी काठमाडौं खाल्डो पहिलोपटक देखें । प्राचीन कालदेखि नै मानवसभ्यताको केन्द्र रहेको काठमाडौं उपत्यकाबारे मैले किताबमा मात्र पढेको थिएँ ।

गोपाल वंशदेखि लिच्छवि, मल्लहरूले शासन गरेको ‘नेपाल खाल्डो’ । नेवारी संस्कृतिको केन्द्र । गोरखाका राजा पृथ्वीनारायण शाहले एकीकरण गरेपछिको आधुनिक नेपालको पनि राजधानी । सत्ता र शक्तिका लागि कोतपर्व, भण्डारखाल पर्व भएको ठाउँ । आदिकवि भानुभक्त आचार्यका शब्दमा ‘अलकापुरी कान्तिपुरी नगरी’ । अनि भूपी शेरचनको दृष्टिमा ‘चिसो एस्ट्रे’ ।

बसोवासका लागि मौसम र हावापानी राम्रो, उब्जनीका दृष्टिले साह्रै उर्वर उपत्यका । म पहिलोपटक प्रवेश गर्दा काठमाडौंमा अहिले जस्तो वायु प्रदूषण, ध्वनि प्रदूषण र सवारीसाधनको ताँती थिएन । बालाजु बाइपासनेर पुग्दा ट्राफिक आइल्यान्ड बनाइएको देखें । फूलैफूल रोपिएको थियो । अहिले त्यो आइल्यान्ड त्यतिको राम्रो पनि छैन । सडकछेउ पेटीमा पनि कालो र सेतो रङ लगाएर चिटिक्क पारिएको । त्यसअघि त्यस्तो सिङ्गारिएको सडक देखेको थिइनँ मैले ।

बालाजु चोकमा झरेर बुवा र म हिंड्दै कोठामा गयौं । मेरो लागि त्यो अनौठो अनुभव थियो । मैले नहराओस् भनेर कोठाको साँचो जनैमा झुन्ड्याएँ । गाउँमा र मामाघरमा दाउरामै खाना पकाइन्थ्यो । यहाँ स्टोभमा पकाउने चलन रहेछ । बेलुका बुवाले पहिलोपटक स्टोभ बाल्न सिकाउनुभयो । हाम्रो गाउँघरतिर पुगेको मैनटोलजस्तै हुँदो रहेछ । मट्टीतेलबाटै बल्ने स्टोभमा पनि दम दिएपछि ‘घ्यार्र’ गर्दै आगोका पहेंला र नीला ज्वाला निस्कँदो रहेछ । मैनटोलले उज्यालो दिन्थ्यो, स्टोभले त खानै पकाउँदो रहेछ । गज्जबको लाग्यो ।

काठमाडौंमा पहिलो साँझ स्टोभमा पकाएर काउलीको तरकारी र भात खाएको अझै सम्झना छ । त्यतिखेरको काठमाडौंको काउली बेग्लै मिठो । आलु पनि त्यस्तै । काउली र आलुमा गोलभेडा पनि हालेपछि त आहा ! अचेलको काउली नमिठो हो कि जीब्रो मात्तिएको ! त्यतिखेरको जस्तो स्वाद नै आउँदैन ।

भोलपिल्ट हामी सोह्रखुट्टेस्थित सिद्धिगणेश माविमा भर्ना हुन भनि केशव दाइसँग गयौं । सामाखुसीमा केशव दाइको पसल थियो । त्यहाँ खाद्यान्न किन्न आउने एकजना मास्टर सिद्धिगणेशमै पढाउनुहुँदो रहेछ । उहाँकै सोर्सफोर्स लगाएर भर्ना हुन खोजेको तर उहाँको पनि जोर चलेन । गुणस्तरीय शिक्षाका लागि भर्खरै नाम कमाउन थालेको सिद्धिगणेशमा मलाई भर्ना लिइएन । त्यसै पनि नौ कक्षामा भर्ना लिन प्रायः स्कुलहरुले आनेकाने गर्दथे ।

त्यसको नजिकै लैनचौरमा अर्को स्कुल थियो, शान्ति विद्यागृह । धादिङका नेता बुद्धिमान तामाङ, कृष्ण काका, जिवेन्द्र दाइ, शैलेन्द्र काका र धु्रव सिम्खडाहरूले पनि पहिले त्यहीं पढ्नुभएको । इन्द्र दाइ, नवराज दाइ र विष्णु दाइले पनि त्यहीं पढेर २०४४÷४५ सालतिर एसएलसीमा सत्तरी–बहत्तर प्रतिशत ल्याउनुभएको थियो । बुवाले भन्नुभयो, ‘उनीहरूले त्यहीं पढेर त्यत्रो नम्बर ल्याए, तँ पनि त्यहीं पढ् न त कान्छो !’ बुबा मलाई माया गरेर कहिले कान्छो, कहिले राजी भन्नुहुन्थ्यो । हामी शान्ति विद्यागृह गयौं । हाम्रो अनुरोध सुनिसकेपछि पनि हेडमास्टर बाबुकृष्ण प्याकुरेलले भर्ना लिन मान्नुभएन । ‘तपाईंको छोराको सेकेन्ड डिभिजन रहेछ । सेकेन्ड डिभिजनवाला विद्यार्थीले अप्सनल म्याथ लिएर पढ्न मिल्दैन र सक्दैन पनि’, उहाँले भन्नुभयो । हाम्रो हदैसम्मको अनुरोधपछि उहाँको मन पग्लिएछ क्यारे, एउटा सर्तमा भर्ना लिन तयार हुनुभयो । सर्त थियो, सुरुमा कक्षा नौको सेक्सन ‘सी’ मा राख्ने । तीन महिनामा मैले पढाइमा प्रगति गरें भने ‘ए’ सेक्सनमा सारिदिने । म राजी भएँ र म भोलिपल्टै भर्ना भएँ ।

गाउँबाट आएको, सहरको स्कुलमा पढ्न निकै सकस प¥यो । आठ कक्षामै नौ कक्षाका केही अध्याय पढाईसकेका रहेछन् । मलाई पढाइको रफ्तार पकड्न मुस्किल भयो । केटाहरू सबै मभन्दा ठूला र अग्ला । ‘सी’ सेक्सनमा धेरैजसो बदमास केटा थुप्रिएका हुँदा रहेछन् । गाउँबाट आएको भनेपछि उनीहरू मलाई हेप्न खोज्थे । चोरऔंला बटारेर टाउकोमा खौ हान्थे ।

ती दिन साँच्चै कष्टपूर्ण थिए । कोठामा एक्लै खाना पकाउने, भाँडा माझ्नेदेखि कपडा धुनेसम्मको काम आफैं गर्नुपर्ने । तल धाराबाट पानी बोकेर माथि ल्याउनुपर्ने । म कति फुच्चे थिएँ भने खानेपानीको धाराको टुटी खोल्न नभेटेर इँटाको चाङ लगाउनुपथ्र्यो । हरेक दिन हिंड्दै बालाजुदेखि लैनचौर जान्थें । लखतरान हुन्थें, कोठा आइपुग्दा । चिया, खाना, खाजा सबै आफैं बनाउनुपर्ने । त्यसमाथि पढाइको तनाव छँदै थियो ।

प्रजातन्त्र पुनस्र्थापना पछिको पहिलो आम चुनावको निम्ति वैशाखमा स्कुल छुट्टी भयो । म गाउँ गएँ चुनाव प्रचार र जनचेतनाको निम्ति नाटकहरु खेलेर करिब एक महिनापछि काठमाडौं फर्किए । पढाइको लय समात्दा नसमात्दै जेठमा जाँच आइहाल्यो । त्यसमा राम्रो गर्न नसके त बाबुआमाको खर्च खेर जाने, आफ्नो इज्जत पनि जानेवाला थियो । त्यही पीर र त्रासले एक्लै सुँक्कसुँक्क रुन्थें म बेलाबेलामा रोएर त समस्याको समाधान हुँदैन थियो । त्यसैले म पुछारघर तुलसी काकाकी छोरी गीता दिदी (हाल लन्डनमा हुनुहुन्छ) र माइला बुवाका छोरा विष्णु दाइ (हाल अस्ट्रेलिया हुनुहुन्छ) कहाँ म्याथ सिक्न जान्थें । गीता दिदी बस्नुहुने म्हेपी मेरो डेरा बालाजुबाट खासै टाढा थिएन । तैपनि तिनताक विष्णुमती किनारमा हिंड्नै डर हुन्थ्यो । माइलो बुवाका छोरा विष्णु दाइ गोङ्गबु बस्नुहुन्थ्यो । गोङ्गबु जान खेतखेतै हिंड्नुपथ्र्यो । कठोर मिहिनेतपछि म्याथमा सुधार आयो । परीक्षामा पनि राम्रो अंक ल्याएँ । अनि ‘ए’ सेक्सनमा सरुवा पाएँ । ‘ए’ सेक्सनमा उक्लिएपछि पढाइको स्तरै बढ्यो ।

बालाजुबाट सडकको बायाँ किनारैकिनार हिंडेर लैनचौरको स्कुल जाने । पढाइ सकिएपछि अर्को साइडबाट सरासर घर फर्किने । त्यो बाहेक कतै ध्यान गएन मेरो । तर विद्यालयबाट कोठामा फर्किंदा सरस्वती क्याम्पस अगाडिबाट र सोह्रखुट्टेको ओरालोबाट गणेश हिमाल प्रष्ट देखिँदा भने त्यही हिमाल फेदको आफ्नो गाउँघरको सम्झना आउँथ्यो । आमा–बा, दाइ र बहिनीहरूको न्यास्रो घनीभूत हुन्थ्यो ।

काठमाडौं आएकै वर्ष भदौ–असोजमा गोदावरी मेला लागेको थियो । एक महिनासम्म चल्ने गोदावरी मेला भर्न पटक–पटक गरी आएका हाम्रा गाउँका चालिस–पचास जना पाहुनालाई मैले भात पकाएर खुवाएको छु । गोदावरी मेला भर्न दार्खाली सिम्खडा दाजुभाइहरू, पौडेल खलक, रिजाल र नेवारहरू आएका थिए । बस्ने ठाउँ जहाँ पायो, त्यहीं नमिल्ने । गाउँलेहरू लज र गेस्टहाउसमा बस्न नजाने । होटलमा गएर खाना पनि नखाने । त्यसैले विद्यार्थीको कोठामा पाहुना लाग्न आएका । म स्वयंपाके भएकाले पाहुनालाई मैले नै पकाएर खुवाउनुपरेको थियो । गाउँमा फर्केर तिनले मेरो बखान गरेछन् । ‘छोरा भनेको त साधु साइँलाको जस्तो हुनुपर्छ । त्यति सानो ठिटोले हामीलाई पकाएर ख्वाए, मानमनितो गरेर कोठामा राखे’ भनेको सुन्दा आमा गद्गद् हुनुभएको थियो रे ! आखिर म पाहुनालाई परमेश्वर मान्ने कुल र आमाको संस्कारित छोरा जो थिएँ !

मंसिरमा कक्षा नौ को अन्तिम परीक्षा दिएर गाउँ गएँ । पछि मार्कसिट हेर्दा खुसीले बुरुक्क उफ्रिएँ । प्रथम श्रेणी (६३ प्रतिशत) मा पास भएछु । ‘सी’ सेक्सनमा भर्ना भएको केटोले ‘ए’ सेक्सनमा फड्को मारेर प्रथम श्रेणी ल्यायो भनी गाउँभरि चर्चा भयो । आमा, बुवा, दाइ सबै मक्ख पर्नुभयो ।

दस कक्षामा पनि कडा मिहिनेत गरें । असार–साउनबाटै म्याथको ट्युसन र कोचिङ पढ्न थालें । असोजमा भएको टेस्ट परीक्षामा पनि मेरो फस्र्ट डिभिजन आयो । एसएलसीमा अझ धेरै ल्याउनुपर्छ भन्दै मास्टरहरू हौस्याउँथे । म राति नौ बजेतिरै सुतिहाल्थें । सुत्नुअघि चिनी घोलेर दुई–तीन ग्लास पानी पिउँथेें, पिसाब लागोस् र चाँडै उठ्न सकियोस् भनेर । राति साढे तीन बजेतिर उठेर बेलुकाको जुठोभाँडा माझ्थें । चिसोपानीमा बाटामा राखेको भाँडा माझ्न थालेपछि निद्रा भागिहाल्थ्यो । अनि कालोचिया पिएर पढ्न बस्थें । डेढ–दुई घण्टापछि घरबाट ल्याएको घिउमा सुजी भुटेर हलुवा बनाउँथें । त्यही खाएर बिहानपख ट्युसन जान्थें । फर्केपछि हतार–हतार खाना बनाउँथें र खाएर विद्यालय पुग्थें ।

कहिलेकाहीं खर्च अभाव हुन्थ्यो । मन लागेको जस्तो तरकारी खान पाइँदैनथ्यो । पसलेले उधारो दिँदैनथे । विद्यार्थी हो, कसको छोरा–कसको नाति के मतलव ? बीस पच्चीस रूपैयाँ बाँकी राख्नुप¥यो भने पनि ‘हुँदैन, हुँदैन’ भन्थे । आफन्तहरुसँग पैसा माग्न जान सङ्कोच लाग्थ्यो । कैयौंपटक तरकारी किन्ने पैसा नहुँदा गुन्द्रुक वा ज्वानोको झोलसँग मात्रै पनि भात खाएँ । त्यसैकारण आज पनि म फजुल खर्च खासै गर्दिनँ । बरु, आर्थिक अभावकै कारण पढ्न नसकेका विद्यार्थीलाई सहयोग गर्छु । यसो गर्दा भित्रैदेखि सन्तोष लाग्छ ।

२०४९ साल माघमा एसएलसी परीक्षा दिएपछि मलाई गाउँमा र काठमाडौंमै पनि ट्युसन पढाउने ‘अफर’ आएका थिए । त्यतिखेर पढाउनतिर लागेको भए मास्टर भएर बस्थें होला तर मैले कृषिकर्ममा बुबालाई सघाउन थालें । त्यो वर्ष धादिङका उत्तरी भेगमा भएको कृषि प्रतियोगितामा साग र आलु उत्पादनमा हामीले प्रथम पुरस्कार जित्यौं ।
जेठ मसान्ततिर हुनुपर्छ, घरभन्दा माथिको पाटोमा धानको बीउ राख्न माटो जिलाइरहेका थियौं । एसएलसीको रिजल्ट भएको खबर सुनियो । दौडँदै काकाकहाँ गएर कन्फर्म गरें । हो रहेछ । रिजल्ट त आयो तर परिणाम थाहा पाउन समस्या । आकाशवाणीको चलन थियो । आकाशवाणीमार्फत मेरो सिम्बोल नम्बर धादिङबेसीमा टिपाइयो । त्यहाँबाट काठमाडौंमा टिपाएपछि भोलिपल्ट बल्ल रिजल्ट थाहा भयो– पास, त्यो पनि प्रथम श्रेणीमा । मेरो भुइँमा खुट्टा रहेन ।

शान्ति विद्यागृहबाट त्यो वर्ष १२० जनाले एसएलसी दिएकोमा ४७ जना पास भएछन् । तीमध्ये सात जनाको प्रथम श्रेणी । म विद्यालयमै चौथो भएछु र गणितमा सबैभन्दा धेरै (९७) नम्बर ल्याउने विद्यार्थी बन्न पुगेछु । कुनै बेला सबैभन्दा गाह्रो लाग्ने विषयमै एसएलसीमा उत्कृष्ट नतिजा आयो । साहस, धैर्य र मिहिनेतसाथ लागिपर्ने हो भने मानिसले जीवनमा जस्तै सङ्कटका पहाड पनि छिचोल्न सक्छ भन्ने यो नतिजाले पुष्टि गरेको थियो मेरा लागि ।

(सिम्खडाकृत ‘हिँडे पुगिन्छ’ बाट)

लेखक सिम्खडा ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button