![](/wp-content/uploads/2021/01/c1-780x470.jpg)
ती दिनः लोडसेडिङमा सौराह सम्झँदा
अशोक सिलवाल
उज्यालोलाई हुस्सुका सेता कणहरुले उज्यालो हुनबाट रोक्दैछन् । ज्ञात भयो, ‘सेतो’ पनि उज्यालोविरुद्ध हुँदोरहेछ । तर, चितवनको बछ्यौलीसम्मको यात्रा शुभारम्भलाई रोक्न सकेन त्यसले । सीउसीउ गर्दै दुवै हात खल्तीमा राखेर हिंड्दैछु । पर्यटकीय परिचय बोकेको सौराह आसपासका ग्रामीण बस्तीका विकास र परिवर्तनहरु नियाल्न ।
कान्तिपथबाट गाडी चढ्नु छ । त्यहीं भेटिने छन्, काभ्रेकी गीता दाहाल । उनी आफ्नी सानी छोरीलाई सौराह घुमाउन लाँदैछिन् । तर यो यात्राको प्रमुख उद्धेश्य त्यो होइन । छोरीको आँखामा सौराहको ‘दृश्य–कल्पना’ छ । आमा गीता भने बछ्यौलीको विकास बर्णन गर्न रमाइरहेकी छिन् ।
आमाछोरी सौराहसम्मको ‘टुरिष्ट कोच’को अन्तिम सीटमा छन् । र, म भने ड्राइभर छेउको सीटबाट काठमाडौंलाई बाइबाई गर्दैछु । हामी एउटै गाडीमा तर फरक सीटमा छौं । तर, हाम्रो गन्तब्य एउटै छ, बछ्यौली । उनी यसपटक बछ्यौली यात्राको सहयात्री र पथप्रदर्शक भएकी छिन् । उनले मलाई बछ्यौली पुर्याउने छिन् र स्थानीय महिलाहरुलाई चिनाउने छिन् ।
थानकोट काटेपछि अर्कै वायुमण्डलमा आएजस्तो भयो । आहा ! कस्तो मीठो हावा । संयोग कस्तो भयो भने त्यति नै बेला न्यानो घाम पनि लाग्यो । चीसो हावा न्यानो घाम । मन एकपटक बेस्सरी नाच्यो । मन सधैं यसरी नै नाचे पनि हुन्थ्यो नि ।
त्यहीँनेर ड्राइभरले गाडी रोके मिनी शौचका लागि । पुरुषहरुले त फटाफट आफुलाई ‘फ्रेस’ बनाए । तर, दिदीबहिनी भने केही छिन अक्क न बक्क परे । प्राकृतिक प्रकृयाभन्दा पर उनीहरु पनि कसरी हुनसक्थे र ? लाज मान्दै गाडीभन्दा केही पर पुगेर केहीबेर पछि फर्के ।
गाडी फेरि स्टार्ट भयो, एकपटक हर्न पनि बज्यो । खलासीले सबै यात्रु आए भन्यो । ड्राइभरले सोध्यो, ‘मान्छे गनेको हो ?’ खलासीले भन्यो, ‘हो, बत्तीसजना रहेछन् ।’ गाडी केही अगाडि बढ्दै थियो, अरु मान्छे पनि देखिए सडकछेमा गाडी रोक्ने इशारा गर्दै गरेका । ड्राइभरले खलासीतिर फर्केर अलि झर्कदै भन्यो, ‘यसले त साना बच्चाहरु पनि गनेर बत्तीस पुर्याएछ ।’ तर। पहिले उसले बच्चालाई गन्ती गरेको रहेनछ ।
ओहो ! कस्तो अनौठो । ड्राइभर र खलासी दुबैको हिसाबकिताबमा बच्चाहरु त गन्तीमै परेनछन् । जहाँ र जुन समाजमा बालबालिकाको यो हविगत हुन्छ, त्यहाँ सभ्यताले पुर्णता नपाएको पुष्टि हुन्छ ।
थानकोटबाट हामी चढेको गाडी ओरालो लाग्दै थियो । ओर्लिन त्यति गाह्रो हुँदैन । त्यतिबेला अलि सम्हालिए पुग्छ । तर, काठमाडौं खाल्डोतिर आउँदै गरेका गाडीहरु उकालोमा बेस्सरी कन्दै थिए । तिनको कष्ट देखेर धेकल्न जाउँ कि जस्तो लाग्यो । काठमाडौंको मागलाई सम्बोधन गर्न ती मालवाहक गाडीहरु सकी नसकी उक्लिरहेका थिए ।
यात्रा र तीव्रताबारे पनि अर्के अनुभुति भयो । फुच्चे गाडीहरु ठूल्ठुला गाडीहरुलाई ‘ओभरटेक’ गर्दै थिए । त्यो देखेर नयाँ पुस्ताले पुरानो पुस्तालाई उछिन्दै अगाडि बढेजस्तो लाग्यो । नयाँ पुस्तामा परिपक्वता नहोला र अरु धेरै चीज नहोला । तर, तीव्रताचाहिं पक्कै रहेछ भन्ने ‘ओभरटेक’ प्रतिस्पर्धाले पुष्टि गरे झैं लाग्यो ।
हाम्रो लागि त्यो पल विशुद्ध यात्रामय थियो । तर, ड्राइभर र खलासीका लागि भने यात्रा स्वयममा एक पेशामात्र थियो । पेशा पक्कै पनि यात्राजस्तो रोमाञ्चक र मनोरञ्जक हुँदैन । नियमितताले जन्माएको निरसताविरुद्ध तिनीहरु संगीत सुन्न चाहन्थे । संगीत त हामी पनि सुन्न चाहन्थ्यौं । इच्छाहरु एकाकार भए । तर, त्यहाँ तिनै ड्राइभर, खलासीको बोलवाला थियो । कम्तीमा ड्राइभर सीटको ठिकमाथि रहेको क्यासेटमा चक्का हाल्ने सन्दर्भमा । खलासी नेपाली गीतको चक्का दिन्थ्यो । ड्राइभर हिन्दी गीतको चक्का दिन आग्रह गथ्र्यो । हिन्दी र नेपाली गीतको प्रतिस्पर्धा नै भएको थियो । ड्राइभर भर्सेस खलासी । नेपाली भर्सेस हिन्दी ।
हिन्दी गीतप्रति ड्राइभरको आशक्ति देख्दा नेपाली मनोविज्ञानमा हिन्दी गीत-संगीत कति गहिरोसँग बसेको छ भन्ने प्रष्ट हुन्थ्यो । त्यसो त भन्ने गरिन्छ कि गीत-संगीतको कुनै भुगोल हुँदैन, सीमा हुँदैन । यहाँ यस्तै भएको थियो ।
त्रिशुली नदीभन्दा ठिकमाथि रहेको चिल्लो सडकमा हामी यात्रारत थियौं । सडकमा गाडीको गति निरन्तर अगाडि बढिरहेको थियो । र, तल नदीमा पानी पनि उस्तै गतिमा अविचलित । गाडी र पानीको निरन्तर गतिले एउटा दिव्य जीवनर्शन प्राप्त भयो, ‘निरन्तर कर्म नै जीवनको सत्य हो ।’
कुकुरद्धय सडकछेउ झगडा गरिरहेको दृश्य पारदर्शी सीसाबाट प्रष्टै देखिन्थ्यो । गाडीभन्दा केही अगाडि त्यस्तो झगडा भइरहेको थियो । झगडाको कारण के थियो, थाहा भएन । ती झगडा गर्दै थिए र रिसमा तिनले आँखा देखेनन् । हामी चढेको गाडी तीब्र गतिमा थियो । जसै हामी अगाडि बढ्दै थियौं, ती कुकुर झन्डैझन्डै गाडीको पांग्रामुनि परेका । तिनको भाग्य बलियो रहेछ । संयोगले ती बाँचे । ड्राइभरको जय होस् । कुकुरद्धयको पनि जय होस् ।
झगडाले यदि केही निम्त्याउँछ भने विनाशमात्र । रिसले अन्धोपनबाहेक अरु केही जन्माउँदैन । र, परिणाम दुखान्त हुन्छ । कुकुरद्धयको ‘झगडा–दृश्य’ले झगडाविरुद्ध सचेत बनायो । झगडा मुर्दावाद । मेलमिलाप जिन्दावाद । कम्तीमा देश बनाउँछौं भन्नेहरुले कुकुर प्रसंगबाट केही सिके पनि हुन्थ्यो नि !
जब हाइवेबाट गाडी बछ्यौलीतिर लाग्यो, टाँगाहरु देखिन थाले । त्यसभन्दा पहिले नारायणघाटतिर देखिएको थियो, रिक्साको बाक्लोपन । काठमाडौंमा ‘साइकल चहलपहल’ पातलिंदै गएको धेरै भइसक्यो । तर, चितवनतिर साइकल त जीवनशैली नै रहेछ ।
![](/wp-content/uploads/2021/01/c4.jpg)
केही विदेशी र केही स्वदेशी सहयात्रीसँगको त्यस दिनको बसयात्रा अन्त्य गर्दै काभ्रेकी गीताका आमाछोरीसहित गाडीबाट ओर्ल्यौं । अमेरिकी मुलका दुई युवतीहरु बसको झ्यालबाट विदाईको हात हल्लाउँदै थिए ।
शुक्रवार माघ १० गते २०६५ । साढे १२ बजे बछ्यौली-सौराह आइपुगेका हामी । तर, यो समय यस ठाउँमा न गर्मी न जाडो छ । काठमाडौंको जाडो यहाँ छैन न त वैशाख-जेठको यहींको गर्मी नै छ । मौसमको मादकताले मन मस्त छ ।
…
सौराह आसपासका गाउँबस्तबिाट काठमाडौं फर्केपछि त्यस क्षेत्रको र खासगरी मैले जानेको, बुझेको, भोगेको, छोएको समय, स्थान र सन्दर्भलाई लेख्दैछु । मुलुक लोडसेडिङले अन्धकार छ । दिउँसोको उज्यालोको समय लेख्ने फुर्सद छैन वा समय मिलाउन सकिरहेको छैन । रातको वा बिहान सबेरैको समय पुस्तक लेखनको लागि छुट्याएको छु ।
बिहान जब चार बजे बत्ती आयो लेख्न थालें, केही पेज लेखें । र, त्यसलाई सिरानी छेउ राखेर दिउँसोको बाहिरफेर कर्म गरें । राती घर फर्कें, बिहान लेखेको कापी खोजें । कापी त भेटियो तर बिहान लेखिएका पानाहरु थिएनन् । ती च्यतिएका थिए । लेखिएका ती पानाहरु नभेटाएपछि साह्रै रिस उठ्यो । मैनबत्तीको उज्यालोमा निदाइसकेकी ज्योतिलाई व्युझाएँ । म रिसले आगो भएँ । कड्केर सोधें, ‘खोइ, यो कापीका पानाहरु ?’
रुन्चे स्वरमा उसले भनी, ‘मैले होइन, छोरीले ।’ मलाई झन रिस उठ्यो । तर, त्यो रिसभन्दा पनि बढी चाहिं मेरो अक्षरप्रेम थियो । के श्रीमती र एक बर्ष नपुग्दै गरेकी अबोध छोरीप्रति रिस उठ्ने गरी अक्षरप्रेम पलाउनु व्यवहारिक हो ? लाग्यो अक्षरप्रेम खतरनाक हुन्छ । पिता र पति हुनुको कर्तव्य र क्षमाशील मनोविज्ञान लुप्त हुने यसप्रकारको अक्षरप्रेम फोस्रो हो । पछि यस्तो लाग्यो, यदि विहान लेखेका पानाहरु नच्यातिएका भए कम्तीमा अहिले लेखिएका थप केही अनुच्छेदहरु लेखिने थिएनन् र ती प्रसव अवस्थामा रहने थिए अनन्तसम्म ।
बलिरहेको मैनवत्तीले अन्धकारलाई चिर्दै छ, च्यातिएका कागजले मेरो अन्धकार–चेतनालाई धुजाधुजा पारेजस्तै गरी ।