कविताः मल कारखाना !

पेशल आचार्य

कोही पनि देख्दिनँ
व्यक्ति, कर्मचारी, नेता र मन्त्री
जिम्मेवार भएर
यो देशमा
मलका बारेमा बोल्ने !

दिनभरि बोलिराछन्
गगन थापाले केके बोले
भन्दै पर्दैन
केपी ओलीले केके बोले
भन्नै पर्दैन
शेरबहादुरले केके बोले
भन्नै पर्दैन
प्रचण्ड, माकुने र झलनाथहरु
विचरा दिनै नबिराई
बोलिराछन्
मुखले थेग्ने गरी बोलिराछन्
कराई राछन्
कहिले सडकमा
कहिले सदनमा,

म जनता मेरो कहीँ ठाउँ छैन
बोल्ने !
म किसान मेरो कहीँ ठाउँ छैन
विद्रोह गर्ने !
म भोटर मेरो कहीँ ठाउँ छैन
विद्रोह गर्ने !

म मल चाहन्छु
मेरो नेता माल चाहन्छन्
म लिडर हून भन्छु
उनी देखादेखी डिलर बन्छन्
म नेता बन्नै पर्छ भन्छु
उनी लेता बन्छु भन्छन्
र पनि म पाँच वर्षमा हात काटेर
भोट हाल्छु
थुक्क मेरो बुद्धि (कुबुद्धि)
म नेतालाई हाल्ने भोट
आफूलाई हाल्न सक्दिनँ
किनकि मेरो पार्टी छैन
मेरा कार्यकर्ता छैनन्
मेरा हनुमानहरु छैनन्
मेरा साइबल स्यालहरु पनि छैनन्
म किसान एक्लो छु
म किसान नितान्त निरीह छु,

काठमाण्डू फोहरले भरिएको छ
तर मल बनाउने कोही भएनन्
बिजुली निकाल्ने कोही आएनन्
ऊर्जा बनाउने महावीरहरु
दयाको भिख मागिरहेछन्
सरकार महावीरहरुलाई
हियाइरहेछ
महावीरहरु उदासीमा दिन बिताइरहेछन्
शून्य छ वैज्ञानिक
कामविहीन छ आविष्कारक
हातमा कुनै काम छैन मजदूरको
काम नपाएर टोलाई बस्छु
आकासतिर हेरेर म किसान !

म मल खोजिरहेको छु
मकैमा हाल्न खोजेँ
पाइनँ
अहिले धानमा हाल्न खोजिरहेछु
पाएको छैन
हिउँदमा गहूँमा हाल्न खोज्छु
पाउँदिन
एउटा कुरा भन्छु है !
यो जाबो मल दिन नसक्ने हुतिहारा सरकार
अब किसानलाई चाहिएन
एक चाहिएन
दुई चाहिएन
तीन चाहिएन
चाहिएन ! चाहिएन !! चाहिएन !!!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button