जीतको सगरमाथाबाट हारको गहिराई

जीत

नारायण घिमिरे
अध्यक्ष, प्रगतिशील लेखक संघ, महोत्तरी

सुन ए मान्छेहरु हो, सुन
आजको रात
प्रसव बेदनामा छ
उसलाई
भोलि बिहानै
उज्यालो जन्माउनु छ
जुन उज्यालोले
आजका
अहङ्कारका अँध्याराहरुलाई
उन्मादका पहाडहरुलाई
र स्वैच्छचारिताको पराकाष्ठलाई
सहजै समापन गरेर
युगानुकुल
मानव बस्ती बसाउनु छ
जुन बस्तीमा
हिमाल आफ्नो जीवन देख्न सक्छ
पहाड आफ्नो प्राण भेट्न सक्छ
र तराई आफ्नु उर्जा उमार्न सक्छ
जुन जीतमा
हिमाली जीवन
पाहडी प्राण र तराईको उर्जा छैन
म कसरी पत्याउँ ?
यो जीत मेरो पनि हो भनेर ।

जीतको सगरमाथाबाट
हारको गहिराई नाप्न
लम्पसार परेका एक हुल फित्ताहरु
नागरिक स्वाभिमानलाइ बन्धकी राखेर
सामाजिक सद्भावलाई
कागजी टुक्रामा टुक्राटुक्रा पारेर
आफू अनुकुलको पाक्तौलिमा
अनुकुलकै खिचडी पकाएर
लत्याएको जनादेश उपर
धावा बोल्न
समाधी समाधीबाट
उठिरहेका छन् सहिदहरु
र गरिरहेका छन् खबरदारी ।

फेरि पनि तिमी भन्छौ
यो जीत जनताको हो
म कसरी पत्याउँ ?
यो जीत मेरो हो भनेर ।

सितलहरमा नछोपिएको आँङले
तुषारामा पौठेजोरी खेलेको खालि पैतलाले
र हिउँमा ककृएका हातहरुले
अनुमोदन नगरेको
तिम्रो फूल अबिरलाई
बेदना चपाएर ङिचिक्क हाँस्ने
हिमालले नपत्याएको तिम्रो जीतलाई
पहाडी खोल्सिखोल्सिमा
संगीत भर्न नसकेको तिम्रो जीतलाई
तराइका फाँट फाँटमा
जीवन उमार्न नसकेको तिम्रो जीतलाई
म कसरी पत्याउँ ?
यो जीत मेरो पनि हो भनेर ।

चिया बगानमा न फुलेको सपना
यार्चागुम्वामा नउम्रिएको उमङ्ग
कारखानामा नभेटिएको कर्म
र खेतमा नटुसाएको जीवन देखेर
म कसरी पत्याउँ ?
यो जीत मेरो पनि हो भनेर ।

हिउँ पग्लेला उचाइमा
फुट्लान चट्टान पर्वतमा
तर बर्षौदेखिको
हाम्रो दुखको सगरमाथा
ढल्न सकेन गर्लम्म भने
चेतनाका शृङ्खला
उचाइमा धरहराको, सकेन उठ्न भने
म कसरी पत्याउँ ?
यो जीत मेरो पनि हो भनेर ।

आमाको काखमा नभेटिएका सन्तान
बाबुको कर्ममा नभेटिएको सन्तान
जस्को लागि देश विरानु भयो
जस्ले चाहेरै पनि
बगेनन् पसिना उस्को प्रिय माटोमा
जो परिवारको रहर पूरा गर्न
अरबको तातो बालुवामा
आफ्नो समृद्धिको टुसा खोजी रहेको छ
फगत तिम्रो कुटिल बातमा
आफ्नो जीवन आफुबाटै अलग्याएर
खाडीको गहिराईमा
आफ्नो देशको उचाई नाप्ने
बलबीरे कान्छो हेर्दा
म कसरी पत्याउँ ?
यो जीत मेरो पनि हो भनेर ।
र्
ए मान्छेहरु हो, सुन्
सुन, ए मान्छेहरु हो, सुन
मेरो जीतमा
हिमाल हाँस्नु पर्छ
पहाड नाच्नु पर्छ
र तराइ गाउँनु पर्छ ।

मेरो जीतमा
श्रमिक जित्नु पर्छ
मालिक जित्नु पर्छ
किसान जित्नु पर्छ
रोजगार जित्नु पर्छ
बेरोजगार जित्नु पर्छ
अझ भनौँ
मेरो जीतमा
देश जित्नु पर्छ
नागरिक जित्नु पर्छ ।

तिमी जुन जीतलाई
जुन फूल अबिरलाई
जनताको जीतको संज्ञा दिदैछौ नि
हो, त्यही जीत
हो, त्यही फूल अबिर
आखिर
नागरिक हारको सुरुआती भएको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button