माडीको माछाभात, मलेखुको मासुभात

केबीजीको निमन्त्रणाले तानिरहेको छ । साँच्चै भनुँ भने मलेखु पुग्न आतुर छु ।

यात्रा

राजेन्द्रमान डंगोल

हो, सकिँदोरहेनछ घडीको सुइलाई जित्न । साढे दश बजेछ माडी भ्यू रिसोर्ट पुग्दा ।

बिहान चियाबाहेक केही खाइएन । प्राकृतिक दृश्यपानले आँखा अघाए पनि पेटमा अन्न नपर्दा भने भोकको आगो बल्दोरहेछ । मनले भनिरहेछ– अघि फेदीबाट हिँड्नुअघि नै खानाको अर्डर गरेको भए आइपुग्नेबित्तिकै दाब्न पाइने रहेछ । ब्यर्थमा भात पाकुन्जेल कुर्नुप-यो । बेकारको टाइम लस !

“कति बेर लाग्छ खाना तयार हुन ?” कुकलाई सोधेँ ।

“दाल तयार छ । एउटा चुलोमा भात बसाल्छु । अर्कोमा तरकारी । घडी हेरेर पौने घन्टामा तयार पारिदिन्छु । बरु करी चाहिँ चिकेन गरुँ कि फिस ?” कुकको सोधनि हुन्छ ।

उनले फ्रिज खोलेर भर्खरै मारेर ल्याएको ताजा माछा देखाए । माछाको लागि प्रख्यात ठाउँ हो माडी । आएको बेला चाख्नै प¥यो नि ! फेरि माछा भएसम्म जाबो ब्रोइलर कुखुरा के खाई भो । हामीले रोज्यौँ माछा ।

भनेकै समयभित्र माछा र भात पकाउन भ्याए माडी भ्यू रिसोर्टका कुकले । हाम्रो इच्छाबमोजिम नै उनले सस्र्यू हालेर पकाएका थिए । यसै पनि भोजनभन्दा भोक नै मिठो भन्छन् क्यार । त्यसमाथि माछाको झोल । भिरबारीमा बाँदर फालहानेजसरी पो फालहानेथ्यो भातका गाँस ।

केबीजीको निमन्त्रणाले तानिरहेको छ मलाई । साँच्चै भनुँ भने मलेखु पुग्न आतुर भइरहेको छु म ।

“नगए नि हुन्न र बैकुण्ठताल ?” मैले छ्वास्स कुरा राखेँ समूहमा ।

यता बचेको समय केबीजीकोमा रमाइलो गरेर बस्न पाइन्थ्यो कि भन्ने मेरो सोच जो थियो ।

“यहाँसम्म आइसकेका छौँ । कति बेर लाग्छ र, जाऔँ न ! फेरि आइन्छ, आइन्न के थाहा ?” माधवजीको आग्रह ।

चिसै हात लिएर बैकुण्ठतालतर्फ कुलेलम ठोक्यौँ हामी ।

वसन्तपुरको पिच सडकमा सलल गुडेको जीप कच्चीसडकमा छिरेपछि भ्यागुता उफ्रेझैँ उफ्रन थाल्छ । च्वास्स र चुस्स घोच्दै थियो, अटेसमटेस मेरो पेटमा । लाग्दै थियो– कतै मैले माछाको काँडा नचपाई त निलिनँ !

खरकट्टाको बैकुण्ठचोकबाट साढे ३ कि. मि. दक्षिण लागेपछि आइपुग्छ बैकुण्ठ मेलास्थल ।

“बाला चतुर्दशीका शतबिज छर्न आउनेको भीड हुन्छ ।” मेलास्थल पुगेपछि अर्जुनले भने ।

त्यहीँबाट बगेर जाँदोरहेछ बैकुण्ठतालको पानी । खोलाको पारिपट्टि भित्तामा शिवजीको मूर्ति छ । वारिपट्टि फराकिलो छ– बैकुण्ठ मेलास्थल । धादिङमा आँखुखोला विद्युतगृहबाट निस्केको पानी जमाएर ‘नेत्रताल’को बनाइएको छ । बैकुण्ठ मेलास्थललाई अलि पर सारेर यो ठाउँका कृतिम ताल बनाउने हो भने पोखराको फेवातालमा जस्तै डुङ्गा चल्थ्यो । तालको छेउछाउ होटलहरू चल्थे । रेस्टुरेन्ट चल्थे । यो ठाउँ पर्यटकीय केन्द्रको रूपमा रुपान्तरण हुने थियो । डाँडाडाँडामा भ्यू टावर बनाउनेहरूलाई यस्तोे चाहिँ बुद्धि किन नपलाएको होला भन्ठान्छु म ।

“यहाँबाट करिब २० मिनेट जति हिँड्नुपर्छ”, अर्जुनले भने ।

सुरुमा माधवजी र ममात्र तयार भयौँ ।

हामी सिँढी चढेर डिलमा पुग्दा बाँकी सहयात्रीहरू पनि हाम्रै पदचाप पछ्याइरहेका थिए ।

सिँढीको टुप्पोमा पुगेपछिको बाटो तेर्सिएको छ । अलिक अघि बढेपछि आउँछ मन्दिरलगायत लहरै स्थापना गरिएका शिवलिङ्गहरू । काठमाडौँको पशुपतिस्थित वागमतीपारिका शिवलिङ्गहरूको याद दिलाउँदोरहेछ यसले ।

शिव भनेको ईश्वरको एउटा नाम । लिङ्ग भनेको चिह्न । शिवलिङ्गको अर्थ हुन्छ ईश्वरको कल्याणकारी स्वरूपको प्रतीक । शिवलिङ्ग– शिवको स्वरूप मानिने निराकार चिह्न । शिवलिङ्ग– ब्रह्माण्डको आकृति । हिन्दु धर्ममा ईश्वरीय शक्तिका प्रतीक मानिन्छन्– ब्रह्मा, विष्णु र महेश्वर । सृष्टिकर्ता ब्रह्मा, पालनकर्ता विष्णु र संहारकर्ता शिव । यी तीनको समन्वयबाट समस्त चराचर जगत संचालन भइरहेको हिन्दु मान्यता छ । शिव पुराणलगायत हिन्दु धर्मशास्त्रमा शिवलाई यथार्थरूपमा तिनै शक्तिहरूको एकीकृत रुप मानिएको छ । त्यसैको प्रतीक हो– शिवलिङ्ग ।

यस्तो खालको अर्थ हुँदाहुँदै पनि तिललाई पहाड बनाइदिन्छन्, हिन्दु धर्मलाई विस्तापित गर्न चाहनेहरू । नबुझेर त किन हुन्थ्यो र, बुझपचाएरै ‘हिन्दूहरू शिवको गुप्ताङ्गलाई ईश्वरको रुप मानेर पूजा गर्छन्’ भनेर प्रचार गरिदिन्छन् । कहिलेकाहीँ पर्यटकलाई पशुपति घुमाउन जाँदा “ह्वाई डु यु वर्सिप शिवलिङ्ग इभन दो यु नो इट इज शिभज जेनिटल्स ?” भनेर फ्याट्टै सोधिहाल्छन् । उनीहरूलाई कुरा बुझाउन कम सकस हुँदैन मलाई । फेरि नबुझेकालाई भन्दा बुझपचाउनेलाई बुझाउन झन् कठिन हुँदोरहेछ ।

तेर्सो बाटोले डो¥याएर मलाई खोलाको किनारमा पु-याउँछ । जब पछाडि फर्केर भर्खरै आफूले टेकेको धर्ति हेर्छु तब पहाडको चरणमा पुगेको प्रतीत हुन्छ । संसारमा आजसम्म कसैले पनि पहाडको सर्वमान्य परिभाषा दिन नसकिरहेको यथास्थितिमा खोलाको किनारबाट पहाडलाई हेर्दा पहाडकै परिभाषा खोज्ने प्रयत्न गर्छु । परिभाषा खोज्दा खोज्दै सोमेश्वरदेखि सगरमाथासम्मका तस्बिरहरूले भरिन्छ मेरो मस्तिष्क ।

किनारमै छन्– शिव र रामसीता मन्दिर तर पुजारी छैन । सत्तल छ तर बटुवा छैन । कसैले छाडेको घरजस्तै शून्यशून्य लाग्छन्, ती संरचना देख्दा ।

म सुन्छु– मन्द गतिमा छरिएको खोलाको सङ्गीत । नयाँ वस्त्र फेर्नै लागेको सालघारीले वर्षगीत गुन्गुनाइरहेको प्रतीत हुन्छ ।

सहयात्रीहरू धमाधम सेल्फी लिँदै थिएँ म बैकुण्ठताल पुग्दा ।

आफैँमा सुन्दर हुन्छ तालतलैया । चारैतिरको हरियालीले तालको सौन्दर्यलाई अझ मोहक बनाएको छ । हप्प गर्मी भइरहेको थियो पहाडको खोँचमा । माथिबाट दुई छहरा बैकुण्ठतालमा पौडन फालहालिरहेको देख्दा आफू पनि झ्वाम्मै फालहालूँ झैँ लाग्छ ।

अन्नपूर्ण बेसक्याम्पको पदयात्राबाट कठ्याङ्ग्रिएर आएका पर्यटकहरू ‘हटस्प्रिङ’मा डुब्नकै लागि कास्कीको झिनुडाँडामा बास बस्छन् । अन्नपूर्ण चक्रीयमार्गमा पदयात्रा गर्नेहरू थाकेको ज्यानलाई म्याग्दीको ‘तातोपानी’मा डुबाएर पुर्नताजगी दिन्छन् । बैकुण्ठताललाई व्यवस्थित गर्ने हो भने चितवनको गर्मीले उफरमाउलो भएका पर्यटकहरू शीतल अनुभूति गर्नकै लागि पनि यहाँसम्म आउने थिएँ ।

बैकुण्ठतालपछि हालसालै स्थापना गरिएको राममन्दिर पुग्छौँ । मन्दिरभित्र छन्– राम, सीता र लक्ष्मणका मूर्ति । बाहिरपट्टि छ– हनुमानको मूर्ति । भक्तजनहरूको आउनेजाने भइरहेको छ । अचेल खुबै चर्चा बटुलिरहेको छ यो ठाउँले । यो ठाउँको बारेमा बुझ्न चाहन्थेँ म ।

त्यही बेला मन्दिर दर्शन गरेर निस्केका एक भक्त भटिन्छन् । उनको नाम– रीम रानाभाट । उनी शीतलपुरबाट आएका । उनीसँग संवाद गर्छु म– “यो ठाउँलाई अयोध्यापुरी भनिन थालेको रहेछ । यो नाम नयाँ हो कि पुरानो ?” सोधे ।

“पुरानै हो । २०१७ सालमा अयोध्यापुरी आदर्श गाउँ पञ्चायत थियो ।”

खरकट्टामाथिको जङ्गललाई औँल्याउँदै उनी अगाडि भन्छन्– “ऊ त्यो पारिपट्टिको गोद्दक हो । त्यहाँबाट दश कि. मि. माथि अनकन्टार छ । त्यहाँ राम वनबास बसेका बसेका रे । पाण्डवहरू पनि त्यही बसेका थिए रे । त्यहाँ पानीको इनार पनि छ ।”

“डाँडामा पानीको इनार ! कसरी बनाए होला ?” उनको कुरा सुनेर अचम्भित हुन्छु म ।

“पाण्डवहरू गुप्तवास बस्न आउँदा भिमसेनले बनाएका रे । सुन्दा काल्पनिक लाग्छ यो कुरा । त्यहाँ गएर हेर्नुभो भने यथार्थ लाग्छ ।” अझ प्रस्ट्याउँछन् उनी ।

उनी अगाडि भन्छन्– “रामनवमीमा मेला लाग्छ त्यहाँ । पौराणिक महत्त्वको ठाउँ हो । प्रचार नभएर पो ओझेलमा परेको छ ।” दुखेसो झल्किन्छ उनको भनाइमा ।

“ओझेलमा पेरका ठाउँ त कति छन् कति नेपालमा । राजधानीमा त छन् । चितवनमा हुनु कुन ठुलो कुरा भयो र ! सबै कुराको समय आउँछ । माडीले धैर्यता गर्न अझै बाँकी छ ।” म भन्छु ।

उनको कुरा सुनेपछि मलाई लाग्छ– मान्छेमा हुने दैवि शक्ति, परमात्मा वा अदृश्य शक्तिप्रतिको आस्था र विश्वास जे भए पनि पर्यटन प्रवद्र्घनका हिसाबले चाहिँ भइरल बनाउनु पर्ने ठाउँ रहेछ । निःसन्देह पर्यटकीय उपज हुन् यी सम्पदा । यही कुराहरू देखाएर पर्यटन व्यवसाय चलाउन सकिन्छ ।

आगो लिन गएजस्तै पो भयो अयोध्यापुरीमा । संयोगले भेटिएका रीम रानाभाटबाट महत्वपूर्ण जानकारी पाइयो । समय अपुग हुने भयले उनीसँगको छोटो संवादपछि फर्कन्छौँ हामी ।

राममन्दिरबाट भरतपुर लाग्छौँ हामी ।

तुफानले हाँकिरहेको जीप खोलामा पुगेपछि हठात् रोकिन्छ ।

“ल यही हो बाँदरमुँडे । हेर्ने होइन त स्मारक ?” चालक बोल्छन् ।

कसैले यो ठाउँको नाम मात्र लिँदा पनि रिङ्गाटा चल्छ मलाई । नेपालको इतिहासकै एउटा कहालीलाग्दो कालखण्ड थियो माओवादी द्वन्दकाल ।

त्यस ताक यही घटनालाई लिएर विदेशी पर्यटकहरू आश्चर्यचकित हुँदै मसँग सोध्ने गर्थे– “शन्तिका अग्रदूत जन्मेको देशमा पनि सशस्त्र युद्ध ?”

भलै माओवादीबाट भएको त्यो घटना मानवता विरोधी र जघन्य अपराध थियो । क्रुरता र कायरताको पराकाष्टा नै थियो ।

तै पनि म भन्थेँ– “उनीहरू देश र जनताका मुक्तिका लागि यसो गरिरहेका छन् ।”

यसो भन्दा मलाई माओवादीको कट्टर समर्थक रहेछ भन्ने ठान्थे होलान् उनीहरू । किनकि मेरो जवाफ सुन्दा उनीहरू मुख चिप्रिक्क पार्थे । आँेठ लेब्य्राउँथे । र, निधार खुम्च्याउँथे ।

जनयुद्धको सबैभन्दा ठूलो कलङ्क सिवाय केही थिएन त्यो घटना । यात्रुबसलाई निशाना बनाएर गराएको त्यो विस्फोटमा एकचालिस जनाले मुक्ति पाए । उनीहरू स्मारक बनेर अमर भएका छन् । उपचारको क्रममा अर्को तीन जना मरे । बहत्तर जना घाइते । गाडीबाट ओर्लेर हेर्छु, घटनामा ज्यान गुमाएका र घाइतेका नामले कोरिएको छ स्मारक ।

घटना घटाउनेलाई कुनै ग्लानी हुँदैन । अपराध छिपाउने दुष्प्रयास चाहिँ हुन्छन् । क्षमा याचना गरेको अर्थमा उनीहरूले न्याय पाउँछन् । तर आजपर्यन्त अन्यायमा छन् पीडित र आहतहरू । योभन्दा ठुलो विडम्बना के हुन सक्ला !

नेपालमा राजनीतिक दलहरू जीम्मेवार हुने कहिले होला ! बिरक्त लाग्छ मलाई यो देशको फोहरी राजनीति देख्दा । राजनीति त जनताका लागि गर्ने हो तर जनतालाई नै टाढा राखेर राजनीति हुन्छ यहाँ ।

राजनीतिमा स्थाइ सत्रु हुँदैन भनेको सत्य रहेछ । उति बेला जसको टाउकोको मोल तोकेका थिए, अहिले उनैसँग घाटी जोड्न पुगेका छन् । पहिलेका सत्रु, अहिलेका मित्र शक्ति । बाँच्नु मात्र पर्छ, केके देख्न पाइन्छ केके !

सिलावरको डिक्चे कुच्याएको जस्तो कच्याक्कुचुक्क परेको बसको उही आकृति मेरो आँखा सामु आउन थाल्छ । मेरो मनले भन्छ– ‘कुनै पनि नेपालीको मानसपटलबाट सायदै आझेल पर्ला यो त्रासदीपूर्ण घटना ।’

मनमा यस्ता अनेक तर्कना आइरहेकै बेला भरतपुरस्थित यदुनाथ भट्टराईको घरमा आइपुग्छौँ हामी ।

यति बेला घडीले ठ् याक्कै पौने तीन बजाएको छ ।

त्यही बेला फोन आउँछ केबीजीको–

“अझैँ हिँड्नु भएको छैन ?”

“अब पन्ध्र मिनेटमा ।”

“आउनु त हुन्छ नि !”

“अवश्य ।”

“यहाँ मैले तयारी गर्नु मात्र होला नि !”

“हुँदैन ।”

“हामी ठिक दुई घन्टामा आइपुग्ने छौँ ।”

विश्वस्त रहेनछन् उनी । विश्वस्त पारियो ।

यदुनाथ भट्टराई र उनका परिवारलाई बिदाइको हात हल्लाएपछि कारको ड्राइभर सिटमा बस्छु । अघिसम्म अर्जुन सुवालको प्यासेन्जर थिएँ, अहिले चालक बनेको छु । धन सर, रमेश सर, र माधवजीलाई घरघर पु¥याइदिएपछि मात्र जीम्मेवारी पूरा हुन्छ मेरो । यही हो, एउटा प्यासेन्जर हुनु र चालक हुनुको अन्तर ।

किलामा बाधिराखेको बाच्छोलाई दाम्लो फुकाइदिएपछि बुर्कुसी मारेझैँ बत्तिन्छु म । मलेखु आइपुग्दा अस्ताउन लागेको घामले अन्तिम रश्मि फ्याँक्दै थियो । बजारबाट एक किलोमिटर माथि पुगेपछि बाटैमा भटिन्छन् केबीजी । बाटैमा अभिवादन साटासाट गरेपछि उनकै पाइला पछ्याउँछौँ हामी ।

बान्की परेको हरियो डाँडाको फेदीमा बसेको छ नयाँ बस्ती । बस्तीको नाम पनि डाँडागाउँ । तरेली परेका छन् फराकिला बारीका पाटा । तीमध्ये एउटा पाटा बनाएका छन् केबीजीले चिटिक्क परेको साढे दुईतले घर । घर अगाडि छ, परालको खलियो । अलि पर छ फूल खेलाइरहेको आँपको बोट ।

वरिपरिका दृश्य पनि देखिने । मलेखु बजारमा गुडेका गाडीको कर्कस आवाज सुन्नु नपर्ने, न त बजारको हल्ला नै । यहाँ आइपुग्दा म आफैँ जन्मेको गाउँ कपासखोरियाको झल्को आउँछ मलाई । कपासखोरिया जस्तै सुन्दर र शान्त छ डाँडागाउँ ।

गहुँ र तोरी सपारेका छन् बारीमा । जाँगर पनि कति चल्छ केबीजीलाई । कुँढारमा फलाएका छन्, काँक्रो, मूला, लसुन, प्याज, फर्सी, बन्दा, भ्यान्टा, काउली, आलु र सिमी । जग्गाको कमी भए पो । उनको कुँढार हेर्दै गर्दा मैले घरमा गमलामा रोपेको तरकारी सम्झन्छु । सोच्छु– काठमाडौँमा अलिकति जग्गा भइदिए त यसरी नै तरकारी फलाउने थिएँ । बट्टाईं, कडकनाथ, कालिज र सागिने कुखुरा पालेका छन् उनले । त्यो पनि दुईचार वटा हो र, दुईचार सयको सङ्यामा ! पर्यटन इलमी उनी कृषि कर्म पनि त्यत्तिकै फापेको छ उनलाई । गर्न सके के हुँदैन र । काम गरेर थकाइ लाग्दैन उनलाई ।

सन् २०१२ मा माथिल्लो मुस्ताङको पदयात्राकै सिलसिलामा मैले ल्होमान्थाङमा चिनेको हुँ उनलाई । पखेरामा जन्मेका उनले जीवनमा मेरै जस्तै गाई गोठालो, खनजोत, र मेलापातका अनुभव सँगालेका छन् । काठको काम गर्दा गर्दै सन् २००० मा उनी टुरिजममा फालहाले । अनि त केही वर्षमा ट्रेकिङ कम्पनि नै खोले । पर्यटन र कृषिलाई सँगसँगै लगिरहेका छन् उनले ।

आजको रात यतै बस्ने भन्ठानेका रहेछन् केबीजीले । हामी खाजा मात्र खाएर फर्कने भन्दा झनक्क रिसाउँछन् उनी । धन सरको बाध्यता बताउँछु म । यथार्थ थाहा पाएपछि साम्य हुन्छन् । बेलुकीको खाना खाएर मात्र फर्कने अनुमति पाउँछौँ हामीले । हतारहतार भोजन तयार गर्छन् बुढाबुढी मिलेर । कालो मासको दाल, मसिना चामलको भात, खसीको फ्राइमासु, काउलीको तरकारी र नुन पिरो मिलेको ट्वाक्क परेको नेपाली गोलभेडको अचार । मिष्ठान्न भोजन गर्छौं । भोजन मिठो भोकले मात्र होइन, आत्मीयताले पनि हुँदोरहेछ । दशक नाघिसकेको छ उनको र मेरो मित्रता ।

खाना खाइसकेपछि एकेक गिलास दूध पिएर मात्र बिदा पाउँछौँ ।

हामी पाहुना बनिदिएकोमा खुसी, रात नकाटेकोमा बेखुसी हुन्छन् केबीजी । कोशेलीस्वरूप सबैको हातहातमा एकेक झोला आलु र काउली थमाउँदै उनी भन्छन्– “अर्को पटक त बस्नेगरी आउनू होला है !”

पाहुना पनि बनियो, कोशेली पनि पाइयो । क्या मज्जा !

केबीजीसँग आठ बजे छुटेका हामी सबैलाई पु-याएर आफू घर आइपुग्दा रातको तोस्रो प्रहर सुरु भइसकेको रहेछ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button