दलबाट टिकट पाउनै गाह्रो छ, टिकट पाए पनि जित्न झन् गाह्रो छ

गाह्रो छ

राजकुमार कार्की
मे न पा-१५, झापा

नहुने गरिबलाई बाच्न गाह्रो छ
हुने धनीलाई झन्झन् गाह्रो छ
गरीबीमा सपना देख्न गाह्रो छ
देखेका सपनाहरू लेख्न गाह्रो छ !

भोको पेटलाई अब त भर्न गाह्रो छ
भरिएको पेटलाई सास फेर्न गाह्रो छ
पलपल मर्नेहरुलाई बाच्न गाह्रो छ
मरेर बाचेकाहरुलाई बाच्न गाह्रो छ !

बाच्दै मर्दै गरेकाहरुलाई बाच्न गाह्रो छ
आजकल गाह्रो भित्र झन्झन् गाह्रो छ
गाउँ घरमा महगीले बाच्न गाह्रो छ
शहरमा रहरले बाच्न झन् गाह्रो छ !

हजारले अब त बजार धान्न गाह्रो छ
हजारले अब त झोला भरिन गाह्रो छ
झोलामा ल्याको खोलामा फ्याक्न गाह्रो छ
फ्याकेको फोहोर फ्याक्न झन् गाह्रो छ !

दलबाट टिकट पाउनै गाह्रो छ
टिकट पाए पनि जित्न झन् गाह्रो छ
मासु भात सेन्तेराम ख्वाउन गाह्रो छ
जितेपछि उधारा बैना पुरा गर्न गाह्रो छ !

अर्काको बारीमा फलेको तेलको मूल्यको वृद्धि रोक्न गाह्रो छ
महगोमा किनेर सस्तोमा बेच्न झन् गाह्रो छ
मूल्य वृद्धि रोक्न अब त धेरै नै गाह्रो छ
महगीले मर्दै बाच्दै गर्नु पर्दा झन्झन् गाह्रो छ !

महगीलाई पाल्न भन्दा आयल निगमलाई पाल्न गाह्रो छ
आयल निगम घायल निगम हुँदा उपचार गर्न गाह्रो छ !
आजकल धनीलाई गरिब हुन गाह्रो छ
गरिबलाई पापी पेट भर्न सारो गाह्रो छ !

गाईको बाछोलाई आफ्नी आमाको शुद्ध दूध खान गाह्रो छ
भैंसीको पाडोलाई पनि आफ्नी आमाको शुद्ध दूध खान गाह्रो छ
आफ्नो र अर्को छुट्याउन आजकल गाह्रो छ
गला जोड्ने जति आफ्ना हुन भन्नलाई धेरै गाह्रो छ !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button