
जनता र सरकारको थाल किन फरक छ ?
कविताः बाको थाल
गुरुदत्त ज्ञवाली
अलि पहिले
बाले भात खाने थाल
बा बस्ने पिर्का
भात पकाउने कसौंडी
कसौंडी भित्रको अन्न
फरक हुन्थे, अलग हुन्थे ।
बाले खाने गरेको घ्यूको हर्पे र थुर्मी
ती पनि अलग हुन्थे
त्यो देखेर
म पनि बा बन्ने रहर गरेँ
मैले भात खाने थाल
यो मेरो हो भन्न थालेँ
मेरो पालामा बाको जस्तो पिर्का थिएन
हर्पे र थुर्मी थिएन जमानाले
अलग्गै कसौंडी थिएन
अन्न त झनै फरक थिएन ।
एक दिन मेरो सानो छोराले
म भन्दा पहिले
मेरै थालमा भात खाएको देखेँ
म झनक्क भएँ मनमनै
सोचेँ
उही भात, उही दालको झोल
उस्तै स्टीलको थाल
मेरो छोरो र म
कसरी मेरो मात्र थाल हुन्छ ?
के छ त्यो मेरो भनिएको थालमा ?
आज मेरो बाको कुनै अलग्गै थाल छैन, दाल छैन
चुलो चौका अलग्गै छैन
मेरो त झनै छैन ।
सरकार,
सरकारका मान्छे
हेर्छु आज उनीहरूको
उनीहरूको रवाफ बेग्लै छ
खाने कवाफ बेग्लै छ
चाल ढाल बेग्लै छ
खाने थाल बेग्लै छ ।
मेरो बा, म र मेरो छोराको भान्सा समान हुँदा
हामी जनता र सरकारको
थाल किन फरक छ ?
उनीहरूको
मुटुको चाल किन फरक छ ?
उनीहरूको पिर्का
उनीहरूको रगतको छिर्का
हामीभन्दा किन फरक छ ?
बासँग सोधुँ सोधु लागेको छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)