सिद्धिचरण श्रेष्ठ: कृतिले सम्झिने सधैँ

प्रीति आत्रेय ज्ञवाली

कवि ता कविता लेख्ने कविताले नलेखिने ।
कविता मनमा हुन्छिन् लेखिए मात्र देखिने ॥१॥

सविता गर्दछिन् जागा उठ हे जन ! भन्दछिन् ।
कविता गर्दछिन् जागा जाग हे जन ! भन्दछिन् ॥२॥

अँधेरो घरको रोक्ने सविता एक उज्ज्वल ।
अँधेरो देशको रोक्न कविता बन्छ माध्यम ॥३॥

कवि ता कविता बोल्छन् गर्छन् कर्म कवित्वमा ।
नहारी नित्य लेख्छन् यी डुब्दछन् भाव सिन्धुमा ॥४॥

कवि ता एक आवाज आगाज जनकाप्रति ।
कवि ता सिद्ध नै हुन्छन् रम्दछन् प्रकृतिप्रति ॥५॥

कवि ले हिम्मतै गर्ने असत्लाई हटाउन।
चल्दछन् नित्य डग्दैनन् सत्यलाई बचाउन ॥६॥

हियामा देश राखेर कविले बोल बोल्दछ ।
घातीले घात नै गर्दा कविको मन पोल्दछ ॥७॥

निहत्था कवि ता हुन्छन् अस्त्र ता लेखनी हुने ।
विना रक्त गरे वार शब्द ता शस्त्र नै बने ॥८॥

सम्पत्ति कविको मात्र लेखनी शब्द लेख्दछ ।
आनन्द शब्दमा खोज्छ कृत्यमा नित्य बाँच्दछ ॥९॥

हे सिद्धि ! लेखनी तिम्रो सिद्धहस्त थियो सधैँ ।
छैनौ तिमी यहाँ ऐले कृतिले सम्झिने सधैँ ॥१०॥


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button