
फेवाः तिमीले आफ्नो रुप कहिल्यै फेरेनौ
कविताः आहा ! फेवा
मोहन के. श्रेष्ठ
आहा ! फेवा तिम्रो रुप कति सुन्दर
मलाई मन पर्छ त्यो रुप
जुन रुप तिमीले कहिल्यै फेरेनौ ।
तिम्रो मुटुमा रहेको पानी फेर्यौ तिमीले
डुङ्गा खियाउने दाईहरु कति फेरे तिमीले
डुङ्गा जिर्ण भइ कति त डुङ्गा नै फेरे तिमीले
तर तिमी कहिल्यै फेरेनौ
जहिल्यै जवानीले धपक्क बले झै
बलि नै रह्यौं तिमी ।
म बालक बेला पनि तिमी उस्तै
म जवान हुँदा पनि तिमी उस्तै
अहिले म अर्ध वयस्क भैसकेको छु
अहिले पनि तिमी उस्तै
चम्किलो रुप तिमीले कहिल्यै फेरेनौ ।
म त के ?
म त के ?
मेरा बुवा हजुरबुबा जिज्युबुवाहरु फेरे तिमीले
मैले पनि एक जुनी मात्र त पाएको छु
मलाई पनि फेर्ने छौं तिमीले
यस्तै मेरा पुर्खा पुर्खा फेरिरहे तिमीले
कति फेर्ने छौ अझै पनि तिमीले
तिमी भने जहिल्यै उस्तै
सुन्दर रुप तिमीले कहिल्यै फेरेनौ ।
फेवा,
तिमीले के के मात्र फेरेनौं ?
तिम्रो नाममा कबिता लेख्ने कति कवि फेरे
तिम्रो बर्णन गरेर लेख्न नथाक्ने कति लेखक फेरे
तिम्रो गीत बनाएर गाउदै हिड्ने कति गायक फेरे ।
अझै कति के के फेर्ने हुन कुन्नि ?
तर तिमी भने जहिल्यै उस्तै
सबैलाई मोहित पार्ने रुप लिई
माछापुच्छ्रेको छाया संग रमाईरहेकी
पोखराको काखमा खेलिरहेकी
फेवा,
तिमी कहिल्यै फेरेनौ
मलाई मन पर्छ त्यो तिम्रो सुन्दर रुप
जुन तिमीले कहिल्यै फेरेनौ
जुन तिमीले कहिल्यै फेरेनौ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)