
यो जित कस्को ? जनताको !
कविता
पेशल आचार्य
मौसमी नारा होइन यो
यही नारा हजुर बाउले लगाए
२००७ सालमा
यही नारा बाउले लगाए
२०४६ सालमा
यही नारा हामीले लगायौं
२०६२÷०६३ सालमा
यही नारा छोराहरूले लगाए
२०७२ असोज ३ गते
संविधान जारी हुँदा
अहिले तुमुल ध्वनिका साथ
यही नाराहरू लागिरहेछन्
यो जित कस्को ? जनताको !
मात्र यहाँ घटना र सालहरू पृथक् भए
तर नाराहरू उही रहे
पात्र र प्रवृत्ति फरक देखिए
तर नारा एउटै भए,
यो जित कस्को ? जनताको !
जनता कस्को ? ‘…’
भविष्यमा यस्तै नाराहरू
अनवरत रूपले लाग्नेछन्
जब मुठी कसेर आकासतर्फ
उज्याउने छन् युवाहरूले,
अब जनतालाई त नारा होइन
चारा चाहिएको छ
जनताले पूरा नहुने सपना
खोजेका होइनन्
पूरा हुने विपना खोजेका हुन्
जहाँ भुइँ मान्छेहरू
मजाले हाँस्न सकून
जहाँ भुइँ मान्छेहरू
मजाले श्रम गरेर बाँच्न सकून
सीपयुक्त शिक्षा होस्
निर्यात बोकेको कृषि होस्
बिसेक हुने खालको अस्पताल होस्
शिशुहरू
युवाहरू
र वयोवृद्धहरू
सबसबै आफ्ना ठाउँमा प्राकृतिक खुसीले असमेल हून्,
सडकले नारा मात्र नकोरलोस्
सडकले आन्दोलन मात्र नब्याओस्
सडकले असन्तुष्टि मात्र बमन नगरोस्
चौतर्फी उत्पादन होस्
निर्माण होस्
दिग्दिगन्तसम्म चिर शान्ति फैलिरहोस्,
तब मात्र हुनेछ-
नाराको सफलीभूत वर्तमान
यो जित कस्को ? जनताको !
जनता कस्को ? समृद्ध देशको !!!
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)