कविताः लाश, जसलाई केही क्षणअघि ‘युमाश’ भनिन्थ्यो
युमाश शेर्पा
ऊ..
त्यही हो, मेरो लाश
जसलाई केही क्षणअघि
‘युमाश’ भनिन्थ्यो
… अब बिर्सने छन् क्रमशः ।
सम्झनु–बिर्सनु
कटुसत्य हो ।
थाहा छ, मलाई
अब मेरो लाशमाथि
झिंगाहरू भन्किने छन्, भुनभुन
जोडजोडले आफ्ना पखेंटा फिजार्ने छन्
नाकको डिलमाथि
आँखाका पलकमा ।
लाचार म
मेरो लाशमाथि भन्कने झिंगाहरूलाई
तर्साउन वा भन्काउन नसक्ने अवस्थामा छु ।
गिद्धहरू आएर मेरो मासु लुच्छन् होला
मानिसका झुन्डले निर्जिव मलाई नियाल्लान् ।
निर्दोष मेरो मरण
यस क्षण ‘अनुमान’ बनेको छ
तर, म टुलुटुलु हेरिरहेको छु
एकोहोरो हेर्छु,
कोही देख्दैनन्,
स्पर्श महसुस हुन्न !
लाचार बस्तीमा
मेरो लाश
एकनास पल्टिरहेछ !
किटाणुहरूका लागि आज
‘महाभोज’ भएको छ ।
उफ !
कति विवश म
मेरो लाशभित्र
मेरै आत्मा किन छिर्न सक्दैन ?शरीर त्याग्दासम्मको रति
आत्मा हुञ्जेलसम्म किन त्याग्न सकिनँ ?
जे होस्, म मरिसकें
अब लाश भइसकें
बोल्न सक्दिनँ !
हेर न,
ऊ…पर कुनामा
मेरी प्रिय डाँको छाडिरहेकी छन्,
देख्यौ ?
सुन्दर हत्केला
लपक्कै भिजिसके आँसुले,
म मरिसकें
त्यही पनि प्रतीक्षारत छिन्,
उनलाई के थाहा ?
मेरो लाश उनैअघिल्तिर पल्टिरहेको छ,
एकनास मुढासरी…!