जीवन त गाउँमा हुँदो रहेछ

जीवनको पहिलो यात्रा संस्मरण

आरम्भ आचार्य
नोबेल एकेडेमी, (हाल एस्इई दिएर घर बसेका विद्यार्थी)

पहिलो दिन

मेरो पुरानो मामाघर ओखलढुङ्गाको महभीर भन्ने गाउँमा पर्छ । आजभन्दा ४३ वर्षअघि नै मेरा मावलका हजुरआमा, आमा, मामा र सानीमाहरू तराई सुनसरी इनरुवा बसाइँ सर्नु भएकाले म ओखलढुङ्गा हेर्न जाने रहर पूरा भएको थिएन तर यसपटक मावलमा देवाली भएकाले हामी सपरिवारलाई नै निम्ता आएकाले सोही निम्ता मान्नका लागि हामी महभीर गएका थियौं । घरको हेरचाहका लागि बाबा, हजुरबा र हजुर आमा बस्नु भयो ।

हामी ओखलढुङ्गाका लागि २०७९ साल बैशाख २७ गते मङ्गलबारका दिन काठमाडौँबाट बिहान ५ बजे हिँड्यौं तर स्थानीय चुनावका कारण गाडी अभावले हामीले बिहानको बस ८ बजे मात्र चढ्न पायौं । त्यसपछि बस चेक जाँचका लागि सल्लाघारीमा डेढ घन्टा रोक्यो । हामीले काठमाडौँ बिहानको १० बजे मात्र छोड्न पायौं । अब भने हाम्रो यात्रा सुरु भयो ।

यो यात्रामा म (यात्रा निबन्धकार) र मामु गीता, आन्टी पविता, स्वीकृत दादा, रमिला माइजू, रुद्राङ्शु भाइ र मामुकी दिदीकी छोरी सन्तोषी रिमाल समेत गरी ७ जना थियौं । यात्रा बडो रमाइलो गरी अघि बढ्दै थियो ।

प्रायःजसो बस यात्रामा हिँड्दा म नयाँ ठाउँहरू हेर्न औधी मन पराउँछु । त्यसैले मैले खोजेरै भए पनि झ्यालको सिट रोजेको थिएँ । बाहिर हेर्न सुविधा भएकाले सो यात्रामा मैले बाहिरी दृश्य राम्ररी अवलोकन गर्ने मौका पाएँ । हाम्रो गाडी धूलीखेल हुँदै रफ्तारले अघि बढ्यो ।

बीपी राजमार्ग सम्मको बाटो त ठिकै थियो तर खुर्कोटदेखि पूर्व पट्टिको बाटो भने अलि पहिले गएको पहिरोका कारण केही कठिन लाग्दयो । लगभग सजिलै गरी यात्रा गरिरहेका हामी बाटामा पर्ने एउटा ठूलो खोलामा पुल नबिनएका कारण खोलाबाटै गाडी वारपार गर्नुपर्ने ठाउँमा पुग्यौं ।

सो खोला नाघेर हामी चढेको गाडी अघि बढ्यो ।

त्यहाँ खोलामा एउटा हायस गाडी फँसेका कारण हामी आधा घन्टा त्यहीँ अल्मलियौं । त्यसै बेला एउटा ठूलो माछो मरेर त्यही नदीमा आइपुगेका कारण मानिसहरू ठूलो माछो हेर्न घुँइचो लागे । हामीले गाडीबाटै अजङ्गको माछो हे¥यौं । यसरी फेरि हाम्रो यात्रा सुचारु भयो किनकि त्यो दिनको हाम्रो गन्तव्य ओखलढुङ्गाभन्दा अघि पर्ने महभीर थियो जहाँ हामी गैरहेका थियौं ।

गाडीले दिउँसोको ४ बजे खाना खान घुर्मीमा रोक्यो । खानाको समय ढिलो भएका कारण हामीले खाना सट्टा थुक्पा खाएर पेट भर्ने निधो गरेम् । थुक्पा बनाउन लगाएर हामीले खायौं र फेरि गाडी चढ्यौं ।

त्यसपछि गाडीले हामीलाई साँझ ७ बजेतिर ओखलढुङ्गाको रमाइलो डाँडा भन्ने ठाउँमा छोड्यो । हामीलाई त्यहाँ एउटा टाटा सुमोले कुरिरहेको थियो र त्यही सुमो चढेर हामी महभीरतिर तिर लाग्यौं जहाँ आजको हामो यात्राको गन्तव्य थियो ।

हामीलाई त्यहाँ पुग्न रमाइलो डाँडाबाट करिब १ घन्टा लाग्यो । रातको ८ बजेतिर ठूला हजुर बाको घर (मावल) पुगेर हामीले हातमुख धोयौं । खाना खाने बेला भएकाले खाना खान बाहिर बसिहाल्यौं । भोलिपल्ट देवाली भएका कारण हामी त्यस दिन मूल दियो भएको घरमा पसेनौं । यस दिन यसरी नै अन्य कोठामा सुतेर आरामदायी रात बिताइयो । थाकेको हुनाले कतिखेर निदाइयो केही थाहा भएन ।

दोस्रो दिन

दोस्रो दिन मावलमा देवाली भएका कारण अरू सबेरै उठे पनि म भने बिहानको ६ बजे मात्र उठेँ । नुहाई धुवाई गरेर चोखो लुगा फेरेँ ।

त्यसपछि हामी दाहालकी कूल देवी इन्द्रमाला भगवतीको दर्शन गर्न गयौं । उहाँको दर्शनपछि हामी सबै देवाली हेर्न महभीरबाट लामी डाँडातर्फ लाग्यौं ।

कुल पूजा गर्ने देवी थान अलिक टाढा भएका कारण हामी हिँड्दा हिँड्दा थाक्यौं पनि । त्यसदिन मैले जीवनमा पहिलोपटक देवाली देखेर नौलो अनुभव गरेँ । धामीहरू कामेको देख्दा र बली दिएको देख्दा मलाई अलि डरडर लाग्यो ।

त्यसै दिन सबैजना उतै व्यस्त रह्यौं । बेलुका घर ल्याएको प्रसाद ग्रहण गर्यौं । राती स्पिकर बजाएर हामी सबैले नाचेर मनोरञ्जन समेत गर्यौं । त्यसदिन सुत्न अलि ढिलो भएछ । घडी हेरेको त ११ पो बजिसकेछ ।

तेस्रो दिन

तेस्रो दिन फेरि सबैरै उठेर दाहालकी अर्की कुल देवी रक्तकाली माताको दर्शन गर्ने काम भयो । त्यस दिन हामी खाना खाएर जङ्गल डुल्न गयौं । फुल्ने समय नभए तापनि हामीले वनमा २ वटा गुराँस फूल देख्यौं । केटाकेटीको मन त हो थाम्न सकिएन । टिप्यौं ।

केही समय हिँडेर थाकेपछि हामी एकछिन झगरपुरको चौतारीमा बस्यौं । घर फर्कनु पर्ने आवश्यकता भयो । फेरि आफ्नो घर फर्कनतिर लाग्यौं । त्यस दिन हामी लगभग १० किलोमिटर जति हिँडेछौं ।

चौथो दिन

चौथो दिन भने स्थानीय चुनावको दिन थियो । बिहान सबैरै खाना खाएर हामी सबैजना १० बजेतिर रामपुरतिर भोट हाल्नका निम्ति भनेर झ¥यौं । रामपुर महभीरबाट अलिक ठाढै रहेछ ।

रामपुरको श्री वरुणेश्वर माध्यमिक विद्यालयमा चुनावको बुथ बनाइएको रहेछ । भोट हाल्न मिल्ने सबैजना त्यहाँ भोट हाल्न जानु भयो । हामी पाहुना भएकाले दर्शकका रुपमा गयौं । हामी भोट खसाल्न नमिल्ने जतिले रामपुर घुम्यौं । नजिकै रहेको मोलुङ खोलादेखि लिएर हामी सहिद पार्कसम्म घुम्यौं ।

हिँडदा हामी सबैलाई पसिना आएछन् । केही थकावट् महसुस समेत भयो । थाकेपछि हामीले वर पीपलको चौतारामा बसेर चटपटेको मीठो स्वाद् समेत लियौं । फर्किंदा उकालो बाटो पर्नाले हामीलाई हिँड्न अलिक गाह्रो प¥यो । बाटामा हामीलाई पानीले भेट्यो । हल्का पानीमा रुझियो पनि ।

यसैगरी मेरो चौथो दिनको मावल बसाइ पनि रमाइलो भ्रमणमै बित्यो ।

पाँचौ दिन

पाँचौ दिन खाना खाएपछि हाम्रो यात्रा ओखलढुङ्गा बजार सम्मको रह्यो । सुमोमा ४५ मिनेट यात्रा गरेपछि हामी करिब बिहानको १० बजेतिर रमाइलो डाँडामा पुग्यौं । हामी पहिला ओखल भएको ठाउँमा गयौं र त्यसपछि सिद्धिचरण पार्क घुम्यौं । त्यहाँ केही फोटा खिचिसकेपछि हामी माथि वीरेन्द्र पार्कतिर पनि गयौं ।

त्यहाँ एउटा स्तुपा बनाइएको रहेछ । नजिकै ओखलढुङ्गा जिल्लाका चार महान् स्रष्टाहरूका शालिक (गायिका मेलवा देवी, युगकवि सिद्धिचरण श्रेष्ठ, लोकगीत गायक पाण्डव सुनुवार र राष्ट्र गानका रचयिता प्रदीपकुमार राई ‘व्याकुल माहिला’) बनाएर राखिएका थिए । त्यहाँ उभिएर हामीले ती शालिकहरूमा अभिवादन गर्यौं । मैले कोर्स बाहिरका किताबमा पढे अनुसार जनताका छोराछोरीहरूबाट जिउँदो मानिसको शालिक बनाएको त्यहाँ पहिलोपटक देखेँ । त्यो शालिक गीतकार व्याकुल माहिलाको थियो ।

जिउँदो मानिसको शालिक बनाएर सम्मान गर्दा यदि त्यो शालिक बनाउने व्यक्तित्वले शालिक बनाइसके पछिको जीवनमा कुनै ठूलो गल्ती गरेमा शालिकको महत्व नहुने हुनाले संसारमा त्यसरी नागरिकहरूका तहबाट जिउँदो मानिसको शालिक बनाउने चलन छैन भनेर भनिँदो रहेछ । पछि घरमा मैले सो कुरा बाबालाई समेत सोधेँ । वहाँले मेरो कुरामा सहमति जनाउनु भयो । म ढुक्क भएँ ।

फर्किंदा हामीले मिठा काफल र ऐँसेलुको स्वाद् लिने मौका पायौं । त्यसपछि हामी २ बजेतिर पुनः महभीर फर्कियौं । त्यो बेलुका हामीले एकछिन डाँडा छेउमा गएर केहीबेर ध्यान ग¥यौं । दिनभरिको थकाइले गर्दा राति ९ बजेतिरै सुतिएछ । यो दिन गाउँले जनजीवन नजिकबाट देखेकाले मेरो मन सारै खुसी भयो ।

छैठौं दिन

छैठौं दिन हामी सबै बिहानै ४ बजे उठ्यौं । आज घर आउने कार्यक्रम थियो । बिहानको ६ बजे बस चढ्यौं । हामी जसरी ओखलढुङ्गा आएका थियौं त्यसैगरी प्राकृतिक दृश्यहरूको अवलोकन गर्दै दिउँसोको ४ बजे काठमाडौँ आइपुगेम् ।

हामीलाई लिन मेरो बाबा लोकन्थलीमा स्कुटर लिएर आउनु भएको रहेछ । मेरो ६ दिनको रमणीय र अविश्मरणीय ओखलढुङ्गा यात्रा यसरी नै सम्पन्न भयो ।

यो यात्रामा मैले देखे भोगेका कुराहरू यहाँ जस्ताको त्यस्तै लेखेको छु । अब भविष्यमा यसैगरी नयाँनयाँ ठाउँको यात्रा गरेर लेख्ने इच्छा छ । यो कार्यमा मलाई मेरी मामुले यात्रा टिपोट गर्न र लेख लेख्नका लागि बाबाले हौसला दिनु भयो ।

यो यात्राबाट मैले ‘जीवन त गाउँमा पो हुँदो रहेछ’ भन्ने कुरा राम्ररी थाहा पाएँ । यात्रामा जान लाग्दा मेरो बाबाले (वहाँ पेशल आचार्य हो, जो आफैँ पनि नेपाली साहित्यको स्थापित कवि तथा निबन्धकार हुनुहुन्छ) ‘भ्रमणमा जाने भए भाइ दैनिकी लेख्नु र आएपछि मलाई टाइप गरेर पठाउनु है ! म कुनै राम्रो पत्रिकामा छपाउन दिन्छु’ भनेर केही रूपैयाँ पकेट खर्च, कलम र डायरी दिनु भयो ।

हामीले यात्रामा देखे भोगेका कुराहरू यसैगरी लेखेर तथा लेख बनाएर छाप्ने गरे किताब सजिलै बन्ने रहेछ भन्ने कुरा मैले यसपटक राम्ररी बुझेँ ।

मैले गाउँको यति लामो यात्रा योभन्दा अघि कहिल्यै गरेको थिएनँ । त्यसैले मलाई ओखलढुङ्गाको गाउँको यात्राले निक्कै प्रभाव पारेको छ । त्यही प्रभावको एउटा ससानो प्रमाण यो यात्रा संस्मरण हो, जो यहाँ मैले पस्कन पाउँदा खुसी भएको छु ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button