अनुदान त पाइन्थ्यो होला तर ऐलानी जग्गाको फर्म दर्ता गर्न नमिल्ने रहेछ

लघुकथा: मुख बुजो

मित्र ‘उराठी’ गौतम
अमरपुर, गुल्मी, हालः तिलोत्तमा-२, रुपन्देही

प्रशस्त जग्गाको विचमा चिटिक्क परेको ढाई तले पक्कि घर । बारीमा प्लाष्टिक टनेल लगाएको । टनेलभित्र लटरम्म तरकारी फलेको । बाँकि जग्गामा पनि काउली, प्याज, लसुन, आलु हलक्क सप्रिएको । तोरी फुलेर पहेँलपुर । एकातिर भैँसी गोठ । गोठमा मोटाघाटा सातवटा दुहुना भैँसी । अर्कोतिर बङ्गुर खोर । खोरमा विभिन्न जातका बङ्गुर र रहर लाग्दा पाठापाठी । कति राम्रो मिलेको जग्गा ! त्यसमाथि विनयजङ्गको कृषि र पशुपालनको संयोजन । उनको मिहिनेतले सार्थकता पाएको छ । उनको घरमा आउने जो कोही लोभिन्छ, प्रभावित भै हाल्छ ।

संयोगले आज उनको घरमा पुग्ने अवसर जुर्यो।

‘यत्रो व्यवस्था गरि बस्नु भएको रहेछ । कृषि पशुपालनबाट मनग्गे आम्दानी हुन्छ होला । वार्षिक कति हुन्छ आम्दानी ?’, मैले जिज्ञासा राखेँ ।

‘धेरै त के हुनु र त्यस्तै वार्षिक पाँच सात-लाख जति मात्र हुन्छ । त्यसैबाट घर खर्च, छोराछोरीको पढाइ आदि खर्च चलेकै छ, ठिकै छ’, उनले स्वभाविक जवाफ फर्काए ।

‘यस्तो कृषकलाई त सरकारले अनुदान पनि दिन्छ त । अनुदान कति पाउनु भयो ? फर्म दर्ता गर्नु भएकै होला ?’, मेरो थप जिज्ञासा ।

‘अनुदान त पाइन्थ्यो होला तर ऐलानी जग्गाको फर्म दर्ता गर्न नमिल्ने रहेछ । जग्गाको पूर्जा नभएको सुकुम्वासी न परियो । सरकारले पूर्जा कहिले दिने हो ? कुर्दाकुर्दै जिन्दगी वित्ने भो’, उनको जवाफले मुखमा बुजो लाग्यो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button