
दुर्गमका गाई भुँइसीलाई बधाइ !
कविता
पेशल आचार्य
अघिल्लो सरकारले
मान्छेका लागि विकास गर्यो
अब हुने सरकारले
जनावरका लागि गर्ने प्रतिबद्धता
जाहेर गरेछ
बधाइ छ, दुर्गमका गाई भुँइसीहरु ।
हिजो भ्यु टाउर बनाएर
घिउ बटुल्ने नेताले
फेरि जनता झुक्याउनकै लागि
मृत सपनाहरुको चिहानमा
दुर्गममा घाँस पराल ओसार्नका लागि
केबल कारहरु बनाउने
सगर्व घोषणा गरेछ
अतः बधाइ छ
दुर्गमका गाई भुइँसीहरु बधाइ छ
केबलकार चढेर आएका
घाँस खान पाउने भयौ
उच्च स्तरको घाँस पाएर
दूध पनि उच्च स्तरकै दिने हौला
सोच पनि उच्च स्तरकै हुने होला
सुगममा जन्मेका गाई भुइँसीले
तिम्रो गर्नु आरिस गरेका छन्
धन्य हौ तिमी
दुर्गमका पशुहरु ।
घोषणा पत्र भनेका
मृत चिहानका घारी न हुन्
जो कहिल्यै पूरा हुन सक्दैनन्
जो कहिल्यै सफल हुन सक्दैनन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



