
फुल्छन् र झर्छन् सयपत्री र अफिमका फूलहरु
कविताः निरपेक्ष यो समय यही
रविन्द्र केसी
प्रारब्ध र पुरुषार्थसँग
प्राप्ति र तिर्सनासँग
बेखबर र चासोहीन झैँ
निरपेक्ष रहन्छ सधैँ
यो समय ।
जीवनहरु त आउँछन् र जान्छन्
समवेदनाहरु पनि उर्लिन्छन् र सेलाउँछन्
तर शुन्यदेखि शुन्यसम्म
निरपेक्ष रहन्छ सधैँ
यो समय ।
आउँछ अविराम
कयौं ऋतु चक्रहरुमा
अनि फुल्छन् र झर्छन्
सयपत्री र अफिमका फूलहरु
उदाउँछन् र अस्ताउँछन्
सपनाका घाम र आशाका जुनहरु
तर उसरी नै आफ्नै सुर र लयमा
निरपेक्ष रहन्छ सधैँ
यो समय ।
मानिसका उमेरका
उकाली ओरालीहरुसँग
अनुभुतिका भन्ज्याङ्ग र चौतारीहरुसँग
उस्तै समभाव र समदुरी
तर उसरी नै आफ्नै सुर र लयमा
निरपेक्ष रहन्छ सधैँ
यो समय ।
रमाउँछ ऊ
जीवन र मृत्युहरुमा
सृष्टि र संहारहरुमा
मानिसका भ्रम र चेतनामा
यो भन्दा
बलशाली त अरु के होला ?
बन्धन यही, मोक्ष यही
अज्ञान यही, निर्वाण पनि यही
शून्यदेखि फेरि अर्को शून्यसम्म
निरपेक्ष यो समय यही ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)




उत्कृष्ट लेखन समय! यथार्थ परक।🌹🙏