
एउटा सपनाको विपनामा अन्त हुन्छ
कविताः निष्क्रिय आत्माहरू
प्रशान्ती राई
सामसिङ्ग खासमहल लोवर घुम्ती गाउँ, कालेबुङ, भारत ।
एक हूल मानवहरु निज मानसिकताको
झोली मन अनि मष्तिष्कमा भिरेर
हिँडिरहेछ गडप गडप ।
थकाई मार्छ कहिले सुनसान सडक
सुनसान गल्ली अनि सुनसान चौपतीहरूमा
शिकार गर्छ निहत्था प्राणीलाई
प्यास मेटाउन आफ्नो यौवनको ।
कलिला चिचिला कोपिलाहरू यौवनको य अक्षरसम्म
जसले चिनेका छैनन्
आफू जस्तै सरल अनि कोमल
अरूलाई पनि ठान्दछन्
कुनै एक सम्बन्धको बाहाना गरेर
चिथोलीदिन्छ, लुछिदिन्छ
तिनको चित्कार तिनको पुकार
एकैक्षणमा समाप्त हुन्छ
अनि फालिन्छ कुनै जंगलमा या त कुनै रेलको पटरीमा ।
मानवताको खोल ओढी भोकाएका राक्षसहरू
यौवनलाई लुछेर एकै
गाँसमा सक्ने क्रममा लागिपर्छन्
ऐय्या आत्थासंग बगेको आँशुको नदी
बग्न नपाई निष्प्राण भएर
त्यही सुकिदिन बाध्य बन्छन् ।
बिहानी बिउँझाउने चरीको स्वर
गला काटिएर छट्पटिन्छ
छम् छम् बज्ने पाउजुको धुन्
अनि ताते गर्ने पाइलाहरू
सबै सबै काटिएर निष्प्राण हुन्छ ।
आज एउटा सपनाको विपनामा अन्त हुन्छ
भविष्यको तारा रात नभई झरिजान्छ
न्यायको आवाज बोकेर हिँडेको एक मुठी
मैन बत्तीको उज्यालोसंगै
जूलूस, धर्ना सबै सबै
खै कुन हावाको एक फुकाईमा नै निभिजान्छ ।
त्यसैले त यहाँ एउटा गडप गडपको आवाजसंगै
निष्क्रिय आत्माहरू खुल्लारूपले डुलिरहेछ, डुलिरहन्छ
डुलिरहन्छ ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



