
भो नआऊ नेताजी हाम्रो गाउँमा भोट माग्न
चन्द्र श्रीस
फेरि पनि चुनाव आयो भनेर
दलबलसहित भोट माग्न हिंड्दै छौ रे
हाम्रो गाउँमा त भो नआऊ नेताजी भोट माग्न
यो गाउँका मान्छे हरु सङ्ग त
मनै भरि चोटै चोट मात्र छ ।
पहिले पनि भोट माग्दा स्मार्ट पालिका बनाउँछु भन्यौ
मोनोरेल र पानीजहाज ल्याउँछु भन्यौ
गाउँको सबै कुना र काप्चाहरु पक्कि बाटोले जोड्छु भन्यौ
उच्च गुणस्तरको स्वास्थ्य र शिक्षा
निशुल्क उपलब्ध गराउछु भन्यौ
बृद्ध, बिधवा, दलित र सबै खाले सिमान्तकृत समुदायलाई
उच्च आत्मसम्मानसहित मुलप्रवाहमा ल्याउँछु भन्यौ
खानेपानीको धारा घर घरमै पुुर्याउँछु भन्यौ
गाउँमै रोजगार सृजना गर्छु भन्यौ
के भनेनौ र भन्नुपर्ने सबै कुरा भन्यौ
समग्रमा पालिकाभरि सुशासन कायम गर्छु भन्यौ
तिनै पुराना बाचा र कसम खाँदै
अहिलेको चुनावमा पनि भोट माग्दै छौ रे
भो नआऊ नेताजी पुरानै बाचा कसम खाँदै
हाम्रो गाउँमा भोट माग्नलाई ।
किनभने,
तिम्रो बचन र कर्ममा मेल खाएन
तिम्रा आश्वासननहरु कहिँ कतै पुरा भएन
बन्दै नबनेको बाटोलाई बन्यो भनेर
किर्ते कागज मिलाई लाखौं रकममा लुट मच्चाएछौ
तर थाहा छ नेताजी
त्यहि जर्जर बाटोमा दुर्घटनामा परी
पुछारघरे कान्छाले ज्यान गुमायो
ठुलाथरे पुतलीलाई सुत्केरी ब्यथाले च्याप्दा
एउटा सुडेनी नपाएर अकालमै ज्यान गुमायो
खानेपानी लिन घण्टौ टाढा छिराखोला गएको
भेडिखर्के भाउजु पानीको गाग्री सङ्गै लडेर
गम्भिर घाइटे भएर चल्नै नसक्ने जिउँदो लाश भए
मन्दिरमा पुजा गर्न गएको आरने साहिला
कथित उच्च जातकाले धोवि धुलाई गरेर
शारीरिक र मानसिक रुपमा अपाङ्ग भयो
गाउँमा रोजगारको अभावले युवाहरु
बिदेशिन बाध्य भए
खै कता हराए तिम्रा ती पुराना बाचा र कसमहरु
स्मार्ट पालिका र सुशासनहरु ?
तर तिमीहरुले त
कामै नभएका थुप्रै परियोजनाहरुको
परियोजना सम्पन्न प्रतिबेदन बनाएर
करोडौं रकम कुम्ल्याएछौ
स्वास्थ चौकी बनाउनको लागि आएको बजेटबाट
आफ्नो लागि गाडी किनेछौ
स्कुलको बजेटबाट तलव पाउने गरी
आफ्नै भतिजलाई ड्राइभर नियुक्ति गरेछौ
हिँडेर दस मिनटमा पुगिने ठाउँको पनि
भ्रमण भत्ता लिएछौ
यस्ता अनगिन्ति चोटहरु छन्
हाम्रो गाउँका जनजनको मनमनमा
जसको कारण ती चोटिल मनहरुले
तिमीहरुलाई भोट दिनै सकिदैन
तिमीहरूको लागि हाम्रो गाउँमा
एउटा पनि भोट छैन ।
त्यसैले त भनेको नि
भो नआऊ नेताजी हाम्रो गाउँमा भोट माग्न ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



