फेर्न लगाइएको बयान

सुदृष्टी लक्ष्मी

गोधुली साझँमा बसेर सुन्तलीले
सुम्सुम्याउँदै थिइन् गर्भकी छोरीको भविष्य
गुन्दैथिइन् कल्पनापुरको खुसी
त्यसैबखत भनेका थिए श्रीमानले
मिठाइ बाँड्नुपर्दैन आमा गाउँलेलाई
सरजाम बटुल्नुपर्दैन बा छैठीलाई ।

अनि एक्कासि खाली गर्न लगाएको थियो
सुन्तलीको कोख,
र, आफ्नै श्रीमानबाट भएकी थिइन् अपराध करार सुन्तली
छोरा जन्माउन नसक्ने आइमाई ।

जुनेली रातका झकमन्न जुनहरू झैँ
कपिका पानाभरि ‘क’ फुलाउन सिकाउने,
मधुर मुरलीको धुन झैँ
अक्षरहरूमा लय भर्न सिकाउने गुरूले
हातपात गरेको भन्दा
भनेका थिए आफ्नै बाबुले,
चाल नपावस् कसैले
कुरा काट्नेछ समाजले
र, आज‌का दिनबाट स्कुल जान छोडेकी छे चमेली ।

आफ्नै हाकिमबाट बलात्कृत भएकी जुनेली साइकलको चैन जसरी
फैसा घुमाइरहेथ्यो अदालत,
झर्किदै थिए छिमेकी
पैसाको प्रलोभनले लागेको झुट्ठा आरोप हो यो ।

बक्दै थिए रमितेहरू
शब्द शब्दमा राँको बोकेर
गर्दै थिए नारा, जुलुस
हाकिमलाई रिहा होस्, प्रिय हाकिम निर्दोष छन्
र, उल्टै गरेछन् दोषी करार चरित्रहिन केटीको बदनामी नाराले
बक्न लगाइयो र बकियो,
निर्दौष छन् हाम्रा हाकिम ।

कसौंडीमा मसी लगाउन,
अगेनाबाट निकालेको खरानीको झुम्का जति पनि
भत्किँदा सडकको छेउ,
प्रकोपले मासेको पुरै गाउँमध्ये
एक आना जति जमिनको,
पूजिबादी धरहरा भत्किदा
च्या च्या रोइरहनेहरू,
बकबकाइरहनेहरू ।

पितृसत्तात्मक भ्यूटावर ठडिँदा
खुसीले बौलाउनेहरू हो
उक्ल समयको कठघरामा
शताब्दीयौदेखि अनि सिङ्गै
भुगोलभरि,
कालोपत्रे नगरिएको महिलाको सुरक्षा
नठड्याइएको अस्मिता र अस्तित्व
नचुडालिएका हिंसाका विसाक्त शाङ्लाहरू,
नभत्काइएका पुजीवादी पितृसत्तात्मक लुप्त पर्खालहरूको भन्नू इतिहास
र, दिनु मानवताको परिभाषामा ।

अब आएको छ तिम्रै पालो
फेर्न लगाउनेछौ बयान,
सत्तासीनको सुलीमा चढ्दै गर्नु फासी
अदालतले गर्देछ सहिद घोषणा
तब आफैविरूद्ध दिनेछौ बयान
उत्पिडक हामी हौं भनेर ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button