ओए ! आमा भात देऊ

कविता

गुरुदत्त ज्ञवाली

दोक्रे उमेरसम्म आमाको लाम्टो चुसियो
टकेर्निएपछि
बेत बसेकी कुखुरीको झाम्टो चुसियो
सितन दारु भो
खर्च,
बाउले पेन्सन बुझेको भारु भो ।

बाउले मलाई जन्माउन हो क्या र ?
एउटी महिला
नाताले आमा भन्नु पर्ने
मेरो घरकी नोकर्नी
गुहु मुत सोहोरेर पालिन् मेरो
सिगान पुछेर फालिन् मेरो
बैँसले कटकट्टिएको जाँगे
धोएर पखालिन् मेरो

भान्सा कुरिन् मैले भात नखाए पनि
भात पकाइन् म घरमा नआए पनि
युगको दोभानको म त जब्बरस्वाँठ मान्छे
टन्न दारु खाएँ, मनभरी बैस फकाएँ
अहँ, आमाले प्रतिवाद गरिनन्
खोई किन हो कुन्नि ? मसँग डराइनन्
न कहिल्यै चर्को स्वरले कराइन्
र कहिल्यै मतिर कर्के नजर गराइन्

भन्न त भन्थिन्
आ बाबु जुम्रा हेरुँ भनेर
जुम्रा भए पो हेर्ने ?
मैले जवाफ दिन्थेँ
यमराजलाई सराप्थिन् जुम्रा नाश भो भनेर
भन्थिन् अझ
जुम्रा त एउटा बहाना हो
स्नेह पग्लिन्छ रे जुम्रा हेर्दा
यो मेरो चाहना हो

आफू त लक्का जवान
दिनै पिच्छे लभर फेरिन्छ
ज्यान ढाक्ने कभर फेरिन्छ
दारुले कुल्ला गरिन्छ
टेन्शन भो कि त टिल्ल परिन्छ
न आमालाई टेरिन्छ
न मामालाई टेरिन्छ
बाउ लाहुरे मान्छे
सधै आच्छा लिकिन् छ
घाँस दाउरा मेला पात
उही काम बिगिन् छ
उही काम इण्डिङ्ग छ

दारुमै रल्लिन्छ
दिन भर हल्लिन्छ
बिना तलबकी नोकर्नीलाई
रात दिन काममा दल्लिन्छ
जन्माएकी हुनाले आमा भन्नु पर्दोरहेछ
ओ आमा भात देउ
ओ आमा दाम देउ
ओ आमा लुगा धोइदेउ
क्या शान छ यार

धेरै दिन मैले यसरी दारु खाएँ
एक दिन दारुले मलाई खाएछ
यमराजले मलाई नै चाहेछ
करीब मरेको मेरो ज्यान भो
लभरहरुको ध्यान भो, गुहार पाइन्छ कि भनेर
अहँ, कसैले कुल्चेर हिँडे दोबाटोमा
कसैले थुकेर हिँडे
र अरु लुकेर हिँडे
म ढलें
म गलें
म जलें
म बिहोश भएँ

एकदिन
एउटी बुढी जस्ती मान्छेले
बोकेर लगेझैं लाग्थ्यो
आँखा बन्द, होश मन्द मेरो
मलाई मशान घाट लगिएँ जस्तो लाग्थ्यो
अस्पतालको शैयामा जाग्दा
उनै बुढी जस्तीले रगत दिएकी
म त्यही रगतमा तङ्ग्रिएको
बाबाले खुट्टा समातेर मतिर पुर्लुक्क हेर्दै
ताता आँशुले सेकाएका
म झस्कें, बाबा झस्के
किनकि म शायद बाचेँ
यस्सो हेरेँ छेवैकी बुढी जस्ती मान्छेलाई

आमा…….!
मेरी जन्मदाता,
मेरी प्राणदाता
न रुन सकिन् आमा
न हाँस्न सकिन् आमा
किनकि
उनको रगतले
मेरो शरीरको दारु
पखालिँदै थियो
आमा निथ्रँदै थिइन्
म तङ्ग्रिँदै थिएँ ।
आमाको काखमा


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button