
उस्तै गरी उदाउने अस्ताउने घाम छन्
दीन पन्थी
उस्तै गरी उदाउने अस्ताउने
घाम छन्
उसैगरी घुमिफिरी आउने
हाम्रा याम छन् ।
बोल्छन् न युधिष्ठिर कतै
न कतै कृष्ण छन्
दुशासनले नंग्याउँछ
हेर्ने सबै हराम छन् ।
लुगा लगाई हिड्यौं भन्छन्
म त सबै नांगै देख्छु
लज्जा नै फालेपछि यी
कपडाका के काम छन् ?
नववर्षको शुभकामना यस
साललाई यस्तै भो
प्रार्थना गरौं उम्मेद्वार बनोस्
जस्का गोजीमा दाम छन् ।
लोकतन्त्र भो कोलतन्त्र रे
समाजवाद भो मसाजवाद
जे हुन्छ होस् भइरहोस्
हाम्रा रक्षक राम छन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



