बैङ्ककको भेज आइटम पनि टेस्ट गरौँ न

कथाः कुहिरो फाटेपछि

श्रीरामसिंह बस्नेत

रवीन झसङ्ग भयो । होटलको डाइनिङ हलको कुनाको टेबलमा बसेर मेनु नियालिरहेकी पल्लवीलाई देख्दा एकछिन त उसलाई विश्वासै पनि लागेन । उसले अलिपरैबाट नियालेर हे¥यो । तर त्यो केटी अरु कोही नभएर पल्लवी नै थिइ ।

पल्लवी अर्थात् उसकी पूर्वपत्नी, उसको जीवनको पुरिन नसकेको एउटा घाउ । वैवाहिक सम्बन्ध विच्छेद भएपछि यति नजिकबाट पल्लवीसँग जम्काभेट भएको आजै हो । करिब दुई वर्षको यस अन्तरालमा एकपटक उसले एउटा विवाह भोजमा अलि परैबाट पल्लवीलाई देखेको थियो । त्यतिखेर ऊसँग जम्काभेट होला भनेर खाना पनि राम्रोसँग नखाइ रवीन भोजबाट फर्केको थियो ।

तर आज बैङ्ककको यस तारे होटलमा पल्लवीलाई अनायास देख्दा रवीन अचम्ममा परेको थियो । ऊ केहीबेर पल्लवीको नजिक जाउँ कि नजाउँ, बोलूँ कि नबोलूँ भन्ने दोधारमा प¥यो । पल्लवीका आँखा भने किताबै जत्रो मेनुमा अल्झिरहेका थिए । वेटर अर्डर लिन टेबलछेउ आइपुगेकाले पल्लवीको ध्यान त्यसतर्फ गयो । त्यतिखेरसम्म रवीनले अर्कै टेबलमा आसन जमाइसकेको थियो । तर ऊ पल्लवीले सजिलै देख्न सक्ने स्थान छानेर बसेको थियो ।

वेटर अर्डर लिएर गएपछि पल्लवी रेस्टुरेन्टको वरिपरि हेर्न थाली । अनायास उसका आँखा एउटा सर्टको बुट्टामा गएर ठोकिए । त्यो सर्टको बुट्टासँग ऊ राम्ररी परिचित थिई । उसले राम्ररी ठम्याएर हेरी । त्यो सर्ट लगाइरहेको रवीनलाई चिनेपछि उसको पनि आश्चर्यको सीमा रहेन । अनायास उसको ओठबाट हलुका मुस्कान फुस्कियो । त्यो उसले विचार गरेर ल्याएको मुस्कान थिएन । शायद मनबाट अनायास आएको थियो, जसमाथि उसको नियन्त्रण थिएन । त्यो मुस्कानको जवाफमा रवीनका ओठ हाँसेनन् तर नजानिँदो किसिमले उसका आँखा हाँसे । त्यहाँ उनीहरूलाई चिन्ने अरु कोही पनि थिएनन् । त्यसैले ऊ उठेर पल्लवीको टेबलमा गयो । पल्लवीले पनि कुनै अप्ठ्यारो मानिन । अहिले भने ऊ जानेरै मुस्काई र सोधी– ‘कताबाट नि यहाँ ?’

‘मनिलामा ट्रेनिङ्ग थियो, त्यो सकेर आएको, अनि आफू नि ?’

‘म पनि एउटा सेमिनारमा भाग लिन आएकी । यहाँ आएको तीन दिन भयो ।’

‘डिनर के अर्डर ग¥यौ ?’

‘भेज आइटम ।’

‘किन ?’

‘आज बिहिबार ।’

‘ए, अँ ।’

रवीनले बिर्सिएको कुनै कुरा सम्झिएझैँ गरी भन्यो । वेटर पल्लवीको डिनर लिएर आयो र टेबलमा सजाइदियो । अनि रवीनलाई अर्डर सोध्यो । उसले पनि भेज आइटम नै मगायो ।

पल्लवीले सोधी, ‘किन नि भेज ?’

बैङ्ककको भेज आइटम पनि टेस्ट गरौँ न ।’

दुवैजना एउटै टेबलमा मुखामुख गरेर बसेका थिए । ती दुईका बीच थोरै मात्र कुराकानी भइरहेको थियो । भएका कुरा पनि अफिस, बैंङ्कक, मनिला आदिबारे सीमित थिए । तर उनीहरू दुवैका मनमा भने अरु नै कुरा खेलिरहेका थिए । मनका कुरा व्यक्त गर्नचाहिँ सकिरहेका थिएनन् । दुवैले खाना खाइसकेपछि डेजर्टका रूपमा फलफूल र आइसक्रिम लिए । रवीनले, ‘आइसक्रिमले घाँटी दुख्दैन आजकल ?’ भनेर सोध्यो ।

‘यस्तो गर्मी छ यहाँ, दुख्दैन’, पल्लवीले सहजरूपमा जवाफ दिई ।

विगतमा आइसक्रिम वा अरु कुनै चिसो खायो भने अक्सर घाँटी दुख्ने आफ्नो समस्या रवीनले अझै सम्झिरहेकामा पल्लवीलाई नजानिँदो किसिमले रमाइलो पनि लाग्यो ।

रवीनले बिल मगायो । वेटरले रुम नम्बर सोध्दा उसले बतायो, फोर ट्वेन्टी फाइभ ।

‘सेम रुम म्याम् ?’ भनेर वेटरले सोध्दा पल्लवीले झस्किँदै भनी– ‘नो नो, फोर थर्टी सेभेन ।’

‘ओके, जस्ट अ मिनट’ भन्दै वेटर बिल लिन काउन्टरतिर गयो । बिल आएपछि दुवैले आ–आफ्नो बिलमा सही गरिदिए ।

वेटर ‘सवादिखाप’ (धन्यवाद) भन्दै फर्कियो ।

रातको १० नाघिसकेको थियो । रवीन त चाहन्थ्यो पल्लवीलाई लिएर बाहिर एक चक्कर पैदल घुम्न । तर त्यो प्रस्ताव राख्ने आँट उसमा आएन त्यतिखेर । तैपनि रवीनले सोध्यो– ‘अब रुमतिरै हो ?’

‘अँ, भोलिको पे्रजेन्टेसन अलिकति अपडेट गर्नु छ’, पल्लवीले भनी ।

दुवैजना लिफ्टतिर लागे । चौथो तलामा पुगेर लिफ्ट रोकियो । रवीनको ‘गुड नाइट’ को जवाफमा पल्लवीले अलिकति मुस्काएर ‘नाइस स्लिप’ भनी । रवीनलाई त्यो पनि अलिकति व्यङग्य जस्तो लाग्यो । दुवैजना एउटै तलामा रहेको आआफ्नो कोठातर्फ लागे ।

आजको यो अनपेक्षित जम्काभेटले उनीहरू दुवैका मनमा उथलपुथल ल्याएदिएको थियो । त्यसैले मनमा कुरा खेल्नु स्वाभाविकै थियो । रवीन पटक्कै निदाउन सकेन । विगतमा पल्लवीसँग बिताएका तीतामीठा क्षणहरूको सम्झनाले उसलाई बिथोलिरह्यो । निदाउनका लागि उसले कोठाको मिनीबारमा रहेको ह्विस्की दुई पेग पिएर सुत्ने विचार ग¥यो । तर फेरि सोच्यो, यदि राति पल्लवी यो कोठामा आई भने वा उसलाई बोलाई भने रक्सी खाएको मुख लिएर ऊसँग कसरी भेट्नु ? त्यसैले मिनीबारतिर हात लगाउने आँट उसले गर्न सकेन । बरु टेबलको बोतलबाट पानी पियो ।

उता पल्लवी पनि छट्पटाइरहेकी थिइ । उसलाई पनि निद्रा पटक्कै लाग्न सकेको थिएन । केहीबेर ल्यापटपमा अलमलिने उपक्रम गरेकी थिइ । तर त्यसमा उसको ध्यान केन्द्रित हुनै सकेन । ठूलो डबल बेडमा लमतन्न परेर ऊ पल्टेकी थिइ– मनमा विगतका नाना कुरा खेलाउँदै । बेडको खाली ठाँउमा उसको हात बराबर जान्थ्यो । ऊ घरिघरी बेडको त्यो खाली भागलाई छामिरहन्थी, केही खोजेजस्तै । ऊ बेडसँगैको साइड टेबलमा रहेको इन्टरकम फोनतर्फ पनि घरिघरि हेर्थी, फोनको घण्टी बजिहाल्छ कि भनेर । होटलको यो कोठामा उसले तीन रात बिताइसकेकी थिइ, तर यस्तो छट्पटी हिजो–अस्ति भएको थिएन ।

रवीन पनि निदाउन नसकेपछि टिभी हेर्न लाग्यो । तर रिमोट कन्ट्रोलमा जति थिचे पनि कुनै पनि च्यानलमा उसका आँखा स्थिर हुन सकेनन् । त्यसपछि ऊ पे–च्यानलतिर लाग्यो । त्यसमा आउने नग्न चलचित्रको पनि प्रारम्भिक दृश्यपछि अरु हेर्न उसलाई लोभ लागेन । दुई पटक उसको हात फोनको रिसिभरसम्म पुगेर फर्कियो तर इन्टरकममा ४३७ नम्बर थिच्ने उसको आँट भएन ।

दुवैको मनमस्तिष्क विगत कोट्याउनमा नै ब्यस्त थिए । उनीहरूको विवाह असाध्यै सौहाद्र्रपूर्ण भएको थियो । तर सानातिना असमझदारीले ठूलो रूप लिन पुगेपछि दुई वर्ष पनि नपुग्दै उनीहरूका जीवनका गोरेटा अलगअलग भइदिए । उनीहरूबीच मायाको कमी थिएन, शायद विश्वास वा समझदारीको कमी थियो । विवाह हुनुअघिको रवीनको डायरीका केही पानामा लेखिएका कुरालाई लिएर विवाह भएको केही महिनापछि पल्लवीले रडाको मच्चाएकी थिइ । त्यसमा उसका माइती पक्षले घिउतेल थपिदिएका थिए ।

विवाहअघि केही केटीहरूसँग रवीनको हिमचिम रहेको पल्लवीले रवीनको डायरीबाट थाहा पाएकी थिइ । त्यसै विषयलाई लिएर उसले सुरुसुरुमा व्यङग्यात्मक घोचपेच, अनि पछि ठाडै झगडा गर्न थालेकी थिइ । माइती पक्ष त रवीनको डायरीका धेरै पानामा नाम उल्लेख भएका दुईजना केटीसँग झगडै गर्न जानुपर्छ भनेर पल्लवीलाई उक्साइरहेका थिए । रवीनले ती केटीहरू पनि विवाह गरी आआफ्नो घरजम गरेर बसेका र अहिले आफूसँग सामान्य मित्रताबाहेक अरु कुनै सम्बन्ध नभएको भनी जति सम्झाउन खोजे पनि पल्लवी मान्न तयार भइन ।

त्यसपछि रवीनले पनि पल्लवीको स्कुल र कलेज जीवनबारे सोधखोज गर्न थाल्यो । स्कुलमा १० कक्षा पढ्दा पल्लवी सधैँ पहिलो बेन्चमा बस्ने गर्थी र विज्ञान पढाउने एक युवक शिक्षकले सधैँ पल्लवीसँगै किताव लिने गरेको, क्लासमा सबैभन्दा बढी ध्यान उसैलाई दिने गरेको भन्नेसम्म उसले पत्ता लगायो । त्यसैलाई निहँु बनाएर उसले पनि पल्लवीसँग जोरी खोज्ने ग¥यो । अब दिनदिनैजसो घरमा झगडा हुन थाल्यो ।

एक साँझ ह्विस्कीको सुरमा रवीनले पल्लवीलाई हात छाड्यो । पल्लवीले पनि रवीनलाई झाङ्गलझुङ्गल पारी । दुवैजनाले एकअर्कालाई झोंँक देखाउने होडमा कोठाका दुई–चारवटा चिज पनि फुटाले ।

पल्लवीले त्यसै रात आफ्नी दिदीलाई रुँदै फोन गरेर बोलाइ र ऊसँगै माइती गई । ऊ फेरि फर्केर आइन । यस घटनाले यति गम्भीर रूप लियो कि ‘लोग्ने–स्वास्नीको झगडा परालको आगो’ भन्ने प्रचलित नेपाली भनाइलाई गलत सावित गर्दै अदालतसम्म पुग्यो र सम्बन्ध विच्छेदमा पुगेर टुङ्गियो । यसबीचमा उनीहरूबीच समझदारी कायम गर्ने÷गराउने प्रयास कुनै पक्षबाट पनि भएन । दुवैजना आआफ्नो जागिरमा ब्यस्त रहे, मनमा जे भए पनि । यस्तै पुराना घटनाक्रमको फ्लासब्याक मनमनै नियाल्दै छट्पटी र अर्धनिद्रामै दुवैजनाले आआफ्नो कोठामा रात काटे र बिहानपखमात्र केहीबेर निदाए ।

होटलको रेस्टुरेन्टको बे्रकफास्ट टेवलमा पल्लवी पुगिसकेकी थिइ । तर उसले एक ग्लास जुसमात्र लिएकी थिइ । ब्रेकफास्टका लागि रवीन पनि आउँछ भन्ने अव्यक्त प्रतीक्षामा ऊ थिइ । नभन्दै केहीबेरमै रवीन आइपुग्यो । ऊ राति राम्ररी सुत्न नसकेकाले बिहान केही ढिलासम्म सुतेको थियो । तर ब्युँझनेबित्तिकै ऊ पनि ब्रेकफास्टमा पल्लवीलाई भेटिने आशामा रेस्टुरेन्टतिर हान्नियो । दुवैले मुखले धेरै कुरा गरेनन् तर आँखाले भने धेरै कुरा गरे । दुवैका आँखा अनिदो भइरहेको एकअर्काले महसुस गरे । दिउँसो दुवैजना आआफ्नो काममा ब्यस्त रहने भएकाले बेलुका डिनरमै भेटिएला भन्ने आसमा उनीहरू छुट्टिए ।

आज पल्लवीको ध्यान सेमिनारमा हिजो–अस्तिको जस्तो केन्द्रित थिएन । उसले जसोतसो आफ्नो पे्रजेन्टेसन सिध्याई । पटकपटक प्रस्तुत गरिसकेको विषय भएकाले उसलाई त्यसमा कुनै अप्ठेरो थिएन । सबै सहभागीले उसको प्रस्तुतिलाई रुचाउँदै ‘वन्डरफुल’, ‘माइन्ड ब्लोइङ’, ‘अमेजिङ’, ‘एक्सिलेन्ट’ आदि जस्ता अङ्ग्रेजी विशेषणका शब्दसहित तारिफ गरे । केहीले जिज्ञासा राखे । उसले छोटोमीठो उत्तर दिई । उसलाई मनमनै हाँसो पनि उठिरहेको थियो । करिव आधा दर्जन पटक प्रस्तुत गरिसकेको विषयमा कुनै थप मेहनत नगरी मनमस्तिष्कमा अर्कै कुरा खेलाएर प्रेजेन्टेसन गर्दा पनि सबैले तारिफ गरेको देख्दा ।

आफ्नो प्रेजेन्टेसन सकिएपछि सेमिनारमा बस्न उसलाई आज जाँगर लागिरहेको थिएन । उसलाई डिनर टाइम कहिले होला जस्तो भइरहेको थियो । तैपनि सेमिनारमा आजको कार्यक्रम सकेर होटल फर्कँदा बैङ्ककको गर्मीले उसलाई उकुसमुकुस बनायो । उसलाई आफ्नो कोठामा पुगेर नुहाउन हतार लागिरहेको थियो । एक त ऊ गर्मी पखाल्न चाहन्थी, अर्को साँझ रवीनसँग भेट हुँदा ताजा भएर प्रस्तुत हुन चाहन्थी । त्यसैले ऊ सबै लुगा खोलेर बाथरुमभित्र पसी । बाथरुमको ठूलो ऐनामा आफूलाई राम्ररी नियाल्दा उसलाई आफैँ लाज लाग्यो ।

उसले सम्झी, रवीनसँग विवाह भएको केही दिनपछि ऊ घरको बाथरुममा नुहाउन पस्दा रवीन पनि सँगै नुहाउन आउँछु भनेर जिद्दी गरेको, उसले सुरुमा नमानेकी, बाथरुमको ढोकामा लगातार ढक्ढकाएर हैरान पारेपछि उसले ढोका खोलिदिएकी । त्यसपछि दुवैजनाले एक–अर्काको जीउ मिचिदिएर नुहाएको, नुहाउँदानुहाउँदै बाथटबलाई नै बेड बनाएर उपद्रो गरेको आदि । उसले अहिले पनि पुलुक्क होटलको बाथटबलाई हेरी, घरको बाथटब सम्झँदै । नुहाइसकेपछि फेरि उसले ठूलो ऐनामा आफूलाई हेरी । यतिखेर पल्लवीलाई केही वर्षअघि आफूले पढेको डिएच लरेन्सको उपन्यास ‘विमिन इन लभ’ को एक प्रसङ्गको सम्झना भयो जहाँ लरेन्सले सर्वाङ्ग नाङ्गो भएर ऐनामा हेर्नुलाई पोर्नोग्राफीको प्रारम्भिक चरण भनेर उल्लेख गरेका थिए ।

उसले नुहाइसकेर कपाल ड्राइ गरी, अनि हलुका मेकअप गरी । आज किन हो उसलाई साडी लगाउन मन लाग्यो । बैङ्ककमा साडीको आवश्यकता नहुने भए पनि उसले के सोचेर हो काठमाडौँबाट आउँदा एकसेट साडी–ब्लाउज, पेटिकोट सुटकेसमा हालेकी थिइ । आज त्यो काम लागेको उसले ठानी । ऊ होटलको लबीमा झर्दा साँझको सात नाघिसकेको थियो ।

रवीन अघि नै आएर लबीमा रहेको थाइल्यान्ड साइट सिइङका प्रचार सामग्री हेर्दै प्रतीक्षाको घडी काट्दै थियो । उसलाई देखेर पल्लवी पनि त्यहींँ पुगी र सोधी, ‘कतिखेर आउनुभएको ?’

‘एकछिन भयो’, रवीनले सहजरूपमा जवाफ दियो । उसले पल्लवीलाई खुट्टादेखि माथिसम्म नियालेर हे¥यो । हलुका गुलाफी रङ्गको साडीमा ऊ नवविवाहिता जस्ती देखिएकी थिइ । तर उसले केही भनेन । हिजो उसले लुज टि–सर्ट र पाइन्ट लगाएकी थिइ जसमा उसले त्यति हेक्का राखेको थिएन ।

उनीहरू डाइनिङ हलतिर गएर हिजोको जस्तै गरी बसे । केहीबेर कोल्ड ड्रिङ्क्समा अलमलिए । रवीनले अफिसको र आफ्नो कामको सिलसिलामा दिउँसो बैङ्ककमा यताउता गएको बतायो । उनीहरू थोरै बोल्थे, धेरै एकअर्कालाई हेर्थे । यसैबीच पल्लवीले आँट गरेरै सोधी, ‘अर्को विवाह किन नगरेको नि ?’

रवीनले छोटो जवाफ दियो, ‘अघाएर ।’

एक निमेष मौन रहेर उसले पनि सोध्यो, ‘आफूले किन नगरेको नि ?’

पल्लवीमात्र के कम थिइ र ?, उसले पनि सटिक जवाफ दिइ, ‘चेतेर ।’

दुवैजना शायद आआफ्नो जवाफमा सन्तुष्ट भए, त्यसैले एकअर्कालाई हेरेर हाँसे ।

डिनर खाइसकेर हिजो जस्तै दुवैजना लिफ्टबाट माथि उक्लिएर आ–आफ्नो कोठातिर लागे ‘गुड नाइट’ साट्दै । कोठामा पुगेर एक्लाएक्लै भएपछि दुवैजनाको छट्पटी बढ्यो । निदाउन पनि नसक्ने, चूप लाग्न पनि नसक्ने स्थितिमा उनीहरू थिए । टिभी हेर्न खोज्थे तर कुनै पनि च्यानलमा अड्न सक्दैनथे ।

करिव एक घण्टा यो छट्पटीमा बितेपछि रवीनले जे पर्ला–पर्ला भन्ने सोचेर हिम्मत गरी इन्टरकम फोनमा ४३७ नम्बर थिच्यो । एकै रिङमा उताबाट पल्लवीले फोन उठाइ । रवीनले विस्तार भन्यो– ‘मलाई अलि सञ्चो भएन ।’

पल्लवीले ‘ए…’ भनेर फोन ढ्याक्क राखिदिइ । रवीन जिल्ल प¥यो । व्यर्थै फोन गरेछु जस्तो लाग्यो । उसले सोच्यो– यसको घमण्ड अझै उस्तै रहेछ । ऊ फोन गरेकामा पछुताइरहेको थियो ।

केहीबेरमा उसको कोठाको कलबेल बज्यो । ऊ केही झस्कियो । को होला भन्ने अन्दाज गर्न सकेन । तर पनि गएर विस्तारै ढोका खोल्यो । नाइट गाउन लगाएकी पल्लवी उसको सामु उभिएकी थिइ । एक क्षणअघि उसले पल्लवीप्रति बनाएको नकारात्मक धारणाप्रति रवीनले मनमनै लज्जित महसुस ग¥यो ।

ढोकाबाट भित्र पस्दै पल्लवीले सोधी, ‘के भयो ?’

रवीनले सरासर झुट बोल्यो, ‘अलि टाउको भारी होला जस्तो भा’छ ।’ ––‘धेरै टेन्सन लिएर होला ।’

‘हैन, के टेन्सन छ र ?’

‘खै म टाउको मिचिदिन्छु ।

दुवैजना ओछ्यानमा बसे । पल्लवीले रवीनको टाउको मिचिदिइ । एकक्षणपछि रवीनले पल्लवीको हात आफ्नो हातमा लियो । पल्लवी एकक्षण टोलाइ र सोधी, ‘दुख्न कम भयो ?’

रवीनले ‘भयो’ भन्ने सङ्केतमा टाउको हल्लायो ।

अनि पल्लवीको हातलाई उसले आफ्नो हातमा लियो र चुम्यो, निधारमा चुम्यो र गाला मुसा¥यो । पल्लवीलाई खपिनसक्नु भयो र ऊ रवीनको छातीमा टाउको राखेर धित फुकाएर रोइ । रवीनले उसलाई ‘नरोउ’ भन्न सकेन । किनकि उसका आँखा पनि रुझिरहेका थिए र गला अवरुद्ध भइरहेको थियो । दुवैका मुखबाट कुनै शब्द निस्किरहेका थिएनन् । उनीहरू कसिलो अँगालोमा बाँधिएका थिए । पल्लवीको आँसुले रवीनको टि–सर्ट भिजिरहेको थियो । हिक्का थामिएपछि पल्लवीले टाउको उठाएर रवीनलाई हेरी र मुसुक्क हाँसी । लामो रुवाइपछिको यो मुस्कानमा साँच्चै नै निश्चल प्रेम छचल्किरहेको थियो, झरीपछि झुल्केको घामजस्तै । रवीनले पल्लवीको अनुहार नजिक ल्याएर उसको आँसु पुछिदियो र ओठमा गहिरो चुम्बन ग¥यो । पल्लवी आँखा चिम्म गरेर लठ्ठिइरही ।

रवीनले बिस्तारै पल्लवीको नाइटगाउन उतारिदियो । उसले कुनै आपत्ति गरिन । मानौँ उनीहरू वर्षौंदेखि बिछोडिएका प्रेमी–प्रेमिका थिए । अथवा बाटो भुलेर धेरै ठाउँ भौतारिँदै आज अनायास भेट भएका पूर्वसहयात्री थिए । उनीहरूले यो रातलाई विवाहको सुहागरात भन्दा पनि उन्मादपूर्णरूपले भोगे । पल्लवी आफ्नो कोठामा गइन, रवीनकै अँगालोमा रात बिताइ । हिजोको रात छट्पटीमै बिताए पनि आजको रात उनीहरूले न्यानो अँगालोमा बिताए । रवीनसँग सम्बन्ध टुटेदेखि संसारभरकै लोग्नेमान्छेप्रति एकप्रकारको घृणा पलाएको थियो पल्लवीको मनमा । त्यतिबेलादेखि जमेर बसेको घृणा रवीनको न्यानो स्पर्शले एकैक्षणमा आज पुछिदिएको थियो । त्यसैले ऊ लामो समयदेखिको तल्तल् मेटिएको अनुभूति गरी मस्त निदाएकी थिइ ।

भोलिपल्ट बिहानपख मात्र पल्लवी आफ्नो कोठामा गई । उनीहरूले आज पनि ब्रेकफास्ट सँगै खाए । रवीन आजको फ्लाइटबाट काठमाडौँ फर्कनुपर्ने भएकाले ऊ फर्कियो । उसलाई पल्लवीलाई छाडेर जान मन लागेको त थिएन तर बाध्यता । पल्लवी पनि सेमिनार सकेर दुई दिनपछि काठमाडौँ फर्की ।

काठमाडाँैको अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलबाट बाहिर निस्कनेबित्तिकै पल्लवीले ‘वेलकम टु पल्लवी’ लेखेको प्लेकार्डले मुख छोपेर एउटा मानिस उभिइरहेको टाढैबाट देखी । उसलाई अनौठो लाग्यो । अफिसबाट कोही लिन आएछ कि जस्तो पनि लाग्यो । पहिला त यसरी विमानस्थलमा लिन कोही आउँदैनथ्यो । ऊ नजिक गएर हेरी । प्लेकार्डले मुख छोपेर उभिने त्यो मान्छे अरु कोही नभएर रवीन नै थियो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button