नयाँ वर्षमा चराका गीतहरु

पेशल आचार्य

फेरिएको छ
महिना
बद्लिएको छ
पात्रो
फरक भएको छ
क्यालेन्डर
पृथक् भएको छ
मात्र मानिसको मन
तर उस्तै छन्
हिजोका झैँ दिन चर्याहरु
विगतातीत भोगाइहरु
भूतप्रभावी सोचहरु ।

बिजुलीका लठ्ठामा बसेर
उस्तै गरी गाउँदै छन् चराहरुले
शान्तिका कलरव भावनानिश्रित गीतहरु
उस्तै गरी गोडेका मकैमा पाउलिएका छन् रानीपातहरु
उस्तै गरी
भाले खरायोले पोथी खरायोलाई छेकिरहेको छ
रानी मौरी उस्तै गरी फुल पारिरहेकी छिन्
भ्यागुतो पानीको आहालमा बसेर
उसैगरी ट्वार ट्वार गरेर कराइरहेको छ
सालका पात उसैगरी पलाएका छन्
रानी पात हालेर
फर्सी र काँक्राका बोटहरु आकास छेड्ने रहर बोकेर
उसैगरी आकास ठडिएका छन्् ।

फोगटमा मानिसहरु
नयाँ वर्ष भनेर चिच्याइरहेका छन्
केही पनि नयाँ छैनन्
सबका सब पुरानै छन्
सबै थोक पुरानै छन् ।

मात्र राग फरक भएको छ
मात्र अलाप पृथक भएको छ ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com मा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button