नयाँ वर्षमा लेख्नु छ राष्ट्रिय कविता

कविता: नयाँ वर्ष !

लक्ष्मी रायमाझी
विराटनगर

कति लेख्नु
फूलको कविता ?
चुल्ठोमा सजिन
कुनै फूल फुल्दैन भने
कति लेख्नु
नदीको कविता ?
मनको डाह चिस्याउन
कुनै नदी बग्दैन भने
कति लेख्नु
निलो आकाशको कविता ?
अशान्त मेटाउन
आकाशको
कुनै निलो पोखिदैन भने !

वर्षौं पुरानो पात्रो
भित्तोमा झुण्डिएर
जिस्क्याउँछ
मेरो जीर्ण
मनोभावलाई
पुरानो भित्तेघडी
समय सूचना दिन छाडेर
तिखो सुइले घोचिरहन्छ
आफ्नै मुटुलाई !

म पुरानो
मन लिएर खोजिरहेछु
सम्भाव्य सम्भावनाहरू
अब म
काँडा
र फूलको कविता लेख्छु
अब म
बगरमा
प्यास मेटाउने
नदी देख्छु
अब म
निलो आकाशको
मात्र होइन
गर्जिएर वर्षिएको
बादलको
कविता लेख्छु !

फेर्नु छ
अब मैले भित्ते पात्रो
फेर्नु छ
अब मैले रोगी भित्ते घडी !

यो माटोमा
राष्ट्रियताको बीज छर्दै
आपसमा
मेलमिलापको
सुगन्ध भर्दै
मेची
महाकाली
जोगाउन
काँडेतारले घेर्दै
यो अखण्ड भूमिमा
जन्माउनु छ
एउटा
अर्थपूर्ण देशको कविता
नयाँ वर्षमा लेख्नु छ
राष्ट्रिय कविता
जहाँ हरेक पुरानाहरू
नयाँ हुन्
हरेक पछिल्लाहरू
अघिल्तिर हुन्
हरेक अपमानितहरु
सम्मानित होऊन्
यसर्थ
म लेख्छु
अब एउटा नयाँ कविता !


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button