नाथे सपना पनि देख्न सकिएन जिन्दगीमा

तीन गजल

दिपेन ढुङ्गाना

तिमीलाई जितमा आफुलाई हारमा राखेको छु
बाँकी जीवन मदिराको आधारमा राखेको छु ।

पिउनलाई मलाई रोक्न सक्दै सक्दैन कसैले
दुईचार जना मान्छे सरकारमा राखेको छु ।

जति मातिए पनि यादहरु उम्किने छैनन्
जतनसँग मैले त्यस्तो कारागारमा राखेको छु ।

म भित्र नखोज्नु मेरो आत्मा सम्मानलाई
पिउन नपुगेर मैले बजारमा राखेको छु ।

नाथे सपना पनि देख्न सकिएन जिन्दगीमा
दिन सक्नेहरुले मौकै नै दिएन जिन्दगीमा ।

दु:खहरुको चप्पल बनाएर लगाएदेखि
जस्तै अप्ठ्यारोमा पनि चुडिएन जिन्दगीमा ।.

बाहिर माग्नेहरु नहेरि फलफूलभित्र लगिन
खै, मुर्तिले खाईरहेको देखिएन जिन्दगीमा ।

रक्सी र असरको ती व्यक्ति बयान गर्छन्
जसले झुकिएर नि रक्सी पिएन जिन्दगीमा ।

के यी आँखालाई म समुन्द्रसँग दाज्न सक्छु
पोखिएर आँखाबाट पानी रितिएन जिन्दगीमा ।

मर्नुभन्दा अगि भेटेरै मरु भनी सम्झन्छु
आफुलाई अप्ठ्यारो पर्दा जननी सम्झन्छु ।

अरु बेला त तिमी सम्झनामा नि आँउदैनौँ
जब मुटुको धड्कन चल्छ अनि सम्झन्छु ।

यति धेरै गुन लगाएका छन् जीवनमा,
ती अक्षर चिनाउनेलाई मरे पनि सम्झन्छु ।

पहिलो तारिक यसकारण चिन्तामा बित्छ,
खल्ती छाम्छु त्यसपछि घरधनी सम्झन्छु ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button