
डेढ दर्जन कृति लेख्ने ओमवीरसिंह बस्न्यात रहेनन्
काठमाडौं, २८ चैत । साहित्यकार ओमवीरसिंह बस्न्यातको ८० वर्षको उमेरमा गत शुक्रबार संयुक्त राज्य अमेरिकाको कोलोराडोमा निधन भयो । उनी लामो समयदेखि हृदय रोगले पीडित थिए ।
उनका राष्ट्र निर्माता पृथ्वीनारायण शाह, आदिकवि भानुभक्त, युवक कवि मोतिराम, राष्ट्रकवि माधव घिमिरे, सगरमाथा आरोही प्रथम नेपाली महिला पासाङ ल्हामु, रारा ताललगायतका विषयमा महाकाव्य, खण्डकाव्यका साथै अन्य उपन्यास, कथा, कविता, गीत आदि गरी डेढ दर्जन कृति प्रकाशित छन् ।
‘बाबा–ओमवीरसिंह साहित्यिक पुरस्कार’का संस्थापक कवि बस्न्यात आफू स्वयम् पनि विभिन्न साहित्यिक पुरस्कार र सम्मानबाट सम्मानित भएका थिए ।
लामो समय निजामती स्वास्थ्य सेवामा कार्यरत वरिष्ठ जनस्वास्थ्य अधिकृत बस्न्यातले २०१९–२०२० सालदेखि केही वर्षसम्म विकट स्थान हुम्लामा रही स्वास्थ्य सेवा गरेका थिए । उनको हिजो कोलोराडोमै सनातन् हिन्दु परम्परा अनुसार अन्त्येष्ठि गरिएको परिवारबाट जानकारी प्राप्त भएको पत्रकार एवम् लेखक श्रीरामसिंह बस्नेतले नेपालनाम्चालाई बताए ।
काठमाडौं कालिमाटी निवासी स्व.बस्न्यातका पत्नी, तीन छोरा र तीन छोरी छन् ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



