तिमी मामाको छोरी, म मामुको

कथा

रूपा अधिकारी

सुनौलो भविष्य खोज्दै ओस्ट्रेलिया पुगेको रमण आभ्यासँग प्रेममा पर्‍यो । विदेशी जीवनका उतारचढाव सामना गर्दै आभ्या र रमण लिभिंग टुगेदरको रूममा बस्न थाले । दुवैको एकै सपना थियो राम्रो पढने र ओस्ट्रेलियाको पिआर लिने । सँगै बस्ने क्रममा आभ्या गर्भिणी भई । गर्भको सन्तानको माया लाग्न थाल्यो । सन्तानमाथि कसैले पनि औँला नउठाउन भनी उनीहरुले विवाह गर्ने निर्णय गरे । परिवारको समर्थनमा विहे गरे । केही समयपश्चात छोरी जन्मिइन् ।

छोरी त जन्मिइन् तर विदेशको जीवन अत्यन्त कष्टकर रहँदा उनीहरुले छोरीको लालनपालन राम्रोसँग गर्न सकेनन् । छोरीलाई नेपाल लगी आफ्नो बाबुआमाको जिम्मा लगाई उनीहरु आफ्नो विदेशी जीवनसँग मुकाविला गर्न थाले । समयको दौरानमा उनीहरुको छोरी रिस्ता हुर्कंदै ठुली हुँदै गइरहेकी थिई । रमणको बाबुआमा पनि अशक्त हुँदै गए । तब उनीहरुले आफ्नो छोरीको जिम्मा दिदीलाई लगाए ।

आभ्या आफ्नो जन्मदाताको पहिचानबाट नितान्त अचेत थिई । उस्को स्कूल भर्ना हुने समय आयो । बाबुआमाको आग्रहमा राम्रो स्कूल हालिदिएकी थिइन् फुपुले । फुपुकी पनि छोरी भएकिले रिस्तालाई घरमा साथी थियो । समय चलिरहेको थियो । विस्तार रिस्तालेआफ्नो बाबुआमा पहिचान गरी । बाबुआमाको लालनपालन नपाए पनि फुपुले राम्रो शिक्षा र संस्कार दिएकी थिइन् । रिस्तालाई कुनै अभाव हुन दिएका थिएनन बाबुआमाले । आफ्नो सन्तानसँगै राख्न खोजे पनि उनीहरु विदेशी जीवनसँग लाचार थिए ।

पढ्दै हुर्कंदै ठुली हुँदै गइरहेकी थिई रिस्ता । एकदम अब्बल थिई पढ़ाइमा । बित्दो समयसँगै पढ्ने साथी अदिप्तको परीवार डिभि परेर अमेरिका जाने भए । यो कुराले रिस्तालाई धेरै पिर पर्‍यो । अदिप्त गएपछिका दिन रिस्ता आफुलाई एक्लो महसुस गर्न थाली । विस्तारै ऊ पढ़ाईलाई कम ध्यान दिने पनि गर्न थाली ।उस्मा भइरहेको शारिरीक परिवर्तनसँगै उस्मा आफ्नो जीवनदेखि नै असन्तुष्टि सुरु भइसकेको थियो ।, र, धेरै मानसिक परिवर्तन हुन थालिरहेका थिए । ऊ आफ्नो साथी अदिप्तको यादमा पनि टोलाइरहन्थी । उस्लाई आफ्नो फुपुको घरले पनि असन्तुष्ट बनाइरहेको थियो ।

बाबुआमालाई नेपाल आउन ऊ आग्रह गरिरहन्थी । तर उनीहरु तिम्रो भविष्यको लागि त हो छोरी, तिमी राम्रो पढ भनिहरन्थे । उस्को पढ़ाई झनझन बिग्रदो थियो ।अमेरिका पुगेको अदिप्त पनि उता गएर अस्थिर भई रिस्ताको यादमा हराएको परिवारले थाहा पाई केहि समयको लागि नेपाल पठाई दिए । अब अदिप्त नेपाल आइ होस्टल बस्ने भयो । यो सब कुरा थाहा पाएर रिस्ता खुशी भई । उस्को पढाइमा भने सुधार आउन सकेन । रिष्ता र अदिप्त एक अर्कालाई धेरै माया गर्थे । जब अदिप्त अमेरिकाबाट आयो उस्ले पुरानी रिस्ता पाउन सकेन ।

रिस्ता आफ्नो बाबुआमाको साथको लागि तड्पिरही । तर उस्ले आफ्नो चाहना पुरा गर्न पाइन । उसलाई फुपुको घरमा बस्ने मन छैन । साथीहरुसँग होस्टेल बस्छु भनी । परिवारले समर्थन गर्‍यो । ऊ पनि होस्टेल बस्न थाली । होस्टेल बसेपछि ऊ अदिप्तसंग खुलेर हाँस्थी । तर पनि एक प्रकारको बेचैन थिई । उस्को यो हालत देखेर विदेशमा झैँ फुलवडी चेकअप गराउने मनसाय राख्यो अदिप्तले । उस्ले आफ्नी प्रेमिकालाई सम्पूर्ण चेकजाँच गरायो । तत्पश्चात पनि उनीहरु दुवको मन बेचैन भयो । समस्याको समाधान थिएन । तर पनि अदिप्तले उस्लाई साथ दिन छोडेन ।

यसरी नै केही समय चलिरहयो। रिस्ताले पढाई पनि छोडी । अदिप्त पनि निशब्द थियो । उस्ले एक पटक रिस्ताको बाबुआमालाई कुरा राख्ने निर्णय गर्‍यो । तर रिस्ताको अनुरोधमा ऊ रोकियो । तर पनि रिस्ताको बाबुआमालाई पढाई छोडेको जानकारी दिई रिस्ताको लागि हजुरहरुको साथको खाँचो छ भनी नेपाल फर्कन अनुरोध गर्‍यो । उस्का बाबुआमाले अब छोरीलाई उतै बोलाउने निर्णय गरे । तर रिस्ता मानिन । उनीहरु छोरीको लागि केही समय नेपाल आए । उस्लाई पढ़नु भनी सम्झाए । तर अब उसले पढेर आफुले केही नपाउने भनी केही समय बाबुआमाको साथ बस्ने चाहना गरी । बाबुआमाले उस्को विवाह गरिदिने निर्णय गरे । उस्ले विवाह गर्न पनि अस्विकार गरी ।

बाबुआमाले उस्लाई विहेको लागि दवाव दिइराखे । विहेको लागि राज़ी गराउन कुटपिट समेत गरे । तब उस्ले घर छोडी । उस्ले घर छोडेपछि उस्को खोजी गरियो । शंकाको घेरामा अदिप्त मुछियो । प्रहरीले छानविनको नाममा उस्लाई दिनुसम्म दुख दिए । जति नै दुःख दिए पनि उस्ले मुख खोलेन । यसरी केही प्रमाण नभेटिएपछि प्रहरीले अदिप्तलाई छोडिदियो ।

दुई प्रेमी गुपचुप रूपमा एक अर्कालाई भेटिरहेका थिए । अदिप्तले विशेष भूमिका निर्वाह गरिरहेको थियो, रिस्तालाई एक्लो हुन नदिन । केही समयपछि रिस्ता अदिप्तको साथ आफ्नो बाबुआमाको घर पुगी । ऊ अत्यन्त कमजोर देखिन्थी । तर उनीहरुलाई देखेर बाबुआमाले आफ्नो आवेगलाई थाम्न सकेनन् । दुवैमाथि जाई लागे । उनीहरु दुवैलाई निर्ममतापूर्वक कुटपिट गरे । विहेको लागि जबरजस्ती अदिप्तलाई राजि गराईयो । अदिप्त भोलि बिहान सब कुरा खुलेर गर्ने मनसाय बनाई सुत्यो । बिहान अबेरसम्म पनि रिस्ता नउठेपछि आमा उस्को कोठामा गई । उस्ले छोरीको सिरानीमा एउटा पत्र हात पारी ।

आदरणीय बुबाआमा,

हजुरहरूलाई मुख खोली पोख्न नसकेको कुरा यस पत्रमा कोर्दै छु । दरो मुटु लिएर पढ्नुहोला । जब म जान्ने बुझ्ने भएँ, मेरो बाल्यकाल फुपुको घरमा बितिरहेको कुरा महसुस गर्न थालेँ, जुन हजुरहरुलाई थाहा नै छ । फुपुदिदीको छोरी आफ्नो बाबुआमाको काखमा लुटुपुटु खेल्थी । म भने त्यो काखमा जानु हुन्न थियो । “मामाको घर जाऊ न, तिमी मामाको छोरी हो । म मामुको छोरी हो भनिरहँदा नै मैले हजुरहरूमा मेरो गन्ध पाउन थालेकी हुँ । हुर्कदै गएपछि फुपुको छोरीमार्फत मैले आफ्नो बाबुआमा चिन्ने अवसर पाएँ ।

हजुरहरुको काखले क्षितिज पारीबाट मलाई लालायित पारिरहेको थियो । त्यो काख मृगतृष्णा बनेको थियो मेरो लागि । हजुरहरुसँगै हुने आशा नै आशामा म बाँचिरहेँ । जब हजुरहरूलाई आफ्नो जन्मदाता भनी चिनेँ, मेरो मन हजुरहरूको साथ पाउन बेचैन थियो । फुपुले राम्रो शिक्षा र संस्कार नदिनु भएको होइन । तर राक्षसरूपी फूपाजुबाट म लुटिइराखेकी थिएँ । सानी हुँदा त ललीपपमा लालायित बनाई ममाथि नराम्रो गरेको मैले पत्ता नै पाईन । उस्को क्रियाकलापबारे म बुझ्ने नै थिईनँ । फुपु र दिदीसँग मैले माया गरेको कुरा नगर है भनी ऊ मलाई लुट्थ्यो । हरेक बहानामा म उस्को नजिक हुनुपर्थ्यो । नानीलाई घुमाई ल्याउँछु, स्कूल पुर्‍याइदिन्छु जस्ता यावत बहानामा म लुटिन्थेँ । फुपु अफिसबाट ढिला घर आउने दिन ऊ खुशी हुन्थ्यो ।

म अबोधले त्यो घृणित कार्य बुझ्न सकिनँ । जब ममा शारिरिक परिवर्तनहरु आउन थाले, ममाथि भइरहेको त्यो कार्य योनशोषण रहेछ भन्ने बुझेँ । मैले प्रतिकार गर्दा पनि ऊ यौन पिपासु भई आफ्नो कामवासना पुरा गर्दथ्यो । म दिनदिनै निरिह भएँ । दिदीहरु सामु यो घृणित कार्य भनिदिने सामर्थ्य भएन ममा । मैले पटकपटक हजुरहरुलाई नेपाल बोलाएँ तर तपाईंहरुलाई विदेशी जीवनको नै लालच थियो । सँगै पढ्ने आदिप्त अमेरिका गएर पनि मेरो लागि आयो । तब मैले पनि ऊ बसे झैँ होस्टेल बस्ने निर्णय गरेँ । आफ्नो प्रेम पाएर पनि म खुशी हुन नसकेपछि उनले मलाई केहि रोग लागेको हो कि भन्ने आशंकामा विदेशमा झैँ होलवडी चेक अप लगे । तब मेरो रोग पत्ता लाग्यो । त्यो रोगले मलाई निरिह बनाइसकेको थियो । त्यसपछि मैले पढेर के गर्न सक्थेँ ? अनि के का लागि पढ्नु ? अनि मलाई सानो उमेरबाट शोषण गर्ने त्यो यौनपिपासु फुपाजुसँग कसरी बदला लिनसक्थेँ ?

ठुलाठुलाको पहुँच र ओहदामा थियो ऊ । मेरो कोहि थिएन साथमा । भएको प्रेमी पनि मेरो दुर्दशा देखेर कमजोर र निरिह भईरहेको थियो । तर, पनि मलाई हौसलाले जिताउन प्रयत्नरत थियो ऊ । जीवन बाँच्ने सपना देख्दादेख्दै मृत्युको सामना गर्नु परीसकेको थियो मलाई । तब मैले बाँकी जीवन हजुरहरूको साथ बिताउने संकल्प गरेँ । जब बाबुआमाको मायालाई नजिकबाट अनुभव गर्ने अभिलासाले नेपाल बोलाएकी थिएँ, तपाईंहरुले मलाई पढ्ने या विवाह गर्ने दवाव दिनुभयो । मसँग आँट थिएन यो दुवैलाई सामना गर्ने । मृत्युलाई शिरोपर गर्नु परेको विवशता जानकार हुँदाहुँदै पनि कसरी म विवाहलाई रोजी अर्को जीवन बर्बाद गर्न सक्थे र ? तसर्थ मैले घर छाडेकी हुँ ।

म हराएपछि अदिप्तलाई प्रहरी सामु कटाक्ष गरिदिनुभयो । उस्ले साँचो माया गर्थ्यो । तसर्थ ऊ प्रहरीको जटिल केरकार र शारीरिक पिडाबाट विचलित भएन ।जब ऊ प्रहरीबाट निस्केर मेरो सामु आयो, मेरो हालतले ऊ विक्षिप्त भइसकेको थियो । मृत्युसँग लडिरहेकी मसँग जीवनको अन्तिम घड़ी कुर्नुको विकल्प थिएन ।तर उसलाई आफ्नो प्राण आफुबाट चुडाएर बाँच्नु थियो । तसर्थ आज उस्को अनुरोधमा नै म पुन उसँग घर आएँ । तपाईहरू भने छोरीरूपी बोझलाई सदाको लागि पन्छाउन खोजिरहनु भएको थियो । आज पनि मेरो कारण उस्लाई निर्ममतापुर्वक कुटपिट गरी विवाहको लागि राज़ी गराउनुभयो । मलाई धेरै पिडा भईरहेको थियो । मेरो जीवनमा लागेको चोट अनि आफन्तरुपी दानवबाट भोगेको उल्झनहरू हजुरहरुको आँखामा आँखा जुधाई सुनाऊने सामर्थ्य भएन ममा । तसर्थ यो कागजको सहारा लिन पुगेँ ।

अब मेरो मन हलुका भयो ।

हजुरहरुलाई विदेश पलायन हुनुपर्ने के कारण थियो र ? पैतृक सम्पति सम्हालिनसक्नु छ। विदेशी भुमिको सुखसयलमा लालायित भई उतै लोभिनुभयो । उताको सुखमा ठुलो ठुलो सपना बुनिरहँदा आफ्नो एकमात्र सन्तानको खुशी टुटेको अनुमान नै लगाउन सक्नुभएन । कम्तिमा मेरो लागि अलिकति सोच्नु भएको भए र आफ्नो लालनपालनमा हुर्काउनु भएको भए आज यो दिन आउने थिएन । अब पछुताएर केही छैन । समय अबिरल खोला हो । बगिसक्यो । रोकिदैँन । डक्टरले निर्धारित गरेको मेरो समय नजिक आइसक्यो । मलाई पाठेघर क्यान्सर भएको छ । म मरे पनि मजस्ता कयौँ छोरीलाई विभिन्न माध्यमबाट हुने शोषणबाट जोगाउन पहल गर्नुस् । आफन्तको खोल ओढ़ेर र नारीलाई खेलौना सम्झेर यौन शोषण गरिरहेका नरपिचासलाई सजाय दिलाउनुहोस्, तब मेरो आत्माले शान्ति पाउने छ । मलाई माफ गर्नुस्, सन्तानको माया दिन सकिनँ ।

उहि अभागी छोरी रिस्ता ।

उस्का बाबुआमा यो पत्रको अन्तमा नपुग्दै अचेत भई ढलिसकेका थिए । प्रहरीले गाउँ परिसरबाट रिस्ताको लास बोकेर छिमेकिसहित घर पहिल्याउँदै आयो । अभिभावक खोज्यो र पत्र पढ्यो । खै, रिस्ताले न्याय पाउली, नपाउली ? ऊजस्ता कयौं छोरी यस्ता पिपाशुको शिकार भएर आफ्नो भरभराउँदो जीवनको अन्त्य गरिरहेका छन् । अदिप्त भने रिस्ताको मृत्युको खबरमा आफ्नो प्रेम सम्झिरहेको छ ।


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button