
हँ, के हुँदैछ यहाँ ?
कविता
नमिता दवाडी
एक युगपछि फर्किएकी छु आफ्नै जगमा
र, गर्दैछु उत्खनन आफ्नै निशानीको
आऊ न बिन्ती सघाउ न !
बिछोडको बेला तिम्रो आँसुले भिजेको
मेरो काँध उस्तै छुर्लुप्प छ
आऊ नपत्याए छाम
खोइ, खोइ मेरो आँसु ?
हाए राम !!
आँसुको टाटो सम्म छैन तिम्रो काँधमा
आँगनको डिल जुन साहुको जमिन हुने गर्थ्यो
तिम्रो बनाएर आएँ प्रिय
हँ, के हुँदैछ यहाँ !
देखिन्न त मेरा पाइतालाका डोबहरु
जहाँ म होस, बेहोसमा
दिवा अनि रात्रीमा अबिराम ओहोरदोहोर गरिरहन्थेँ
थुक्क !
म आफैंले पठाएको वैभवले पुरेको हो मेरो पाइलाको छाप ?
म मै हु ?
तिमी ! तिमी नै हौ ?
यो हाम्रै सन्सार हो ?
आऊ ! कुदेर आऊ
हेरेर तिम्रो मुटुको ऐनामा
मलाई मेरो हुलिया निर्क्योल गर्न देऊ !
हे भगवान को हो त्यो ?
उफ्!
मुर्छा परेर हाँसिरहेको
तिम्रो मुटुको भित्तामा ??
अनि म ?
म खोइ म ?
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



