
सोध्नु ल नारायणीलाई, उर्लेको भेलमा कति हुन्छन् बालुवाका कणहरू ?
एउटा देशको कथा
श्रीषादेवी शाही
एकदिन सुटुक्क सोध्नु ल
बगिरहेको त्यो नारायणीलाई
नदीको पानीमा कति हुन्छन्
बालुवा कणहरू ?
बगरमा थुप्रिने बालुवे कण
नदीको पानीले मुछेर
बनाएको घर
न तिमीले खेलौना भन्यौ
न मैले बाललिला ठानेँ ।
समयको हुरीले भत्काउनुअघि नै
भत्काइदिएको भए आफ्नै हातले
सायद सपनाहरूको कहिल्यै
जन्म हुने थिएन ।
ल्याक्टो चकलेटको खोलको एक छेउ
तिम्रो हातमा
अर्को छेउ मेरो हातमा
तन्केको त्यो लहरलाई
न तिमीले प्लास्टिक ठान्यौ
न मैले भ्रम मानेँ ।
दाँतले टोकेर
वा तानेर बेस्मारी टुटाएको भए आफैले
सायद रहरहरूको जन्म पनि
कहिल्यै कहिल्यै हुने थिएन ।
त्यही चोइटिएको सपनाले त हो
त्यही टुक्रिएको रहरले त हो
बगिरहेको मान्छेहरूको नदीको भेलमा
म पनि एउटा कण भइदिएँ ।
सोध्नु ल नारायणीलाई
उर्लेको भेलमा कति हुन्छन् बालुवाका कणहरू ?
यो मरूभूमि शहरमा त केवल
बालुवाका कणहरू उडिरहन्छन्
र, भेलको लहर बोकेर
बगिरहन्छ मान्छेको नदी मेरो देशमा ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)