प्रश्न जुम्रालाई सोध्ने कि मानिसलाई ?

कविताः जुम्रा

सोनाम सज्जन किराती

हिँड्ने बेला
किन मलाई जुम्राहरुले टोक्छन् ?
किन यतिसारो
जुम्राहरु सल्बलाउँछन् ?
के जुम्राहरु पर्नु
जुम्राहरु जाग्नु
मेरो यो थोत्रे शरिरको लागि
साँच्चिकै आवश्यक थियो ?

वा, बाध्यताले पर्यो जुम्रा
र, मलाई टोकिरहेछन्
यी प्रश्न जुम्रालाई सोध्ने कि मानिसलाई सोध्ने ?
जुम्राको मान्छे चुस्ने हक छ कि छैन ?
यो सोध्न मान्छेलाई
हुन्छ कि हुँदैन ?
यावत प्रश्नहरुले
मलाई नै किन हिँड्ने बेला चिमोट्छन् ?

जुम्राहरु मारिनु
के जायज छन ?
जुम्राहरु पर्न नदिन
सरसफाइ नियमित उचित हुन्छ ?

वा सम्झना बिर्सना स ल ल ल ल
या राज्य चलेको मुलुकभित्र
जुम्राबिरुद्ध
मोर्चा बनाएर बोल्नु हुँदैन ?

सायद
जुम्रा र मानिस
समाजभित्रको
मानव सम्बन्धमा केहि फरक छैन
नापतौल गर्नुस् न
एकले देश लुट्छ
अर्कोले फेरि लुट्न सघाउँछ
कानुनको बर्खिलापमा जान्छ
अनुच्छेद भत्काउँछ
र, थप्छ अध्यादेको खेल रोजेर ।

हेर्नेहरु टिकडम
हेर्नेहरु अन्धो
देख्नेहरु थुक्का
देख्नेहरु नदेखे जस्तो गरेर
उठेर हिँडिदिन्छन्
प्रश्न उठाउँदैनन किन ?

यही हैन त
हालको महान थिङ्क ट्याङ्करहरु
यिनीहरुको अवधारणाहरु
किन लुला छन् ?

यसरी जुम्राहरु फस्टाउनुमा
किन कलिला कानुनको
दोष देख्छन्
यहाँ जुम्राहरुलाई
कैदखाना वा
अदालतको आदेशमा
कहिले हिरासतमा जान्छन्
वकिल साब
न्याधिवक्ता
महान्यायाधिवक्ता
मलाई खराखरी भन्दिनुस् न ।

मैले थाहा पाएको
प्रधान न्यायधिसलाई समेत
टोक्न पुगेको छ अरे ।

जुम्राका बादशाहहरु
जुम्राका सिपाहीहरु
शहरको गल्ली गल्ली
गाउँको कुना काप्चा
छ्यापछ्याप्ती पसिसकेका छन रे
कन्सिरीदेखि गुप्ताङ्गसम्म
फैलिएर देशै जुम्रामय बनाउँदै छन् अरे
अनि पो बल्ल
फैसला आउँछ
एकमुठी मात्रै मार्ने आदेश छ अरे !

अनि अरु
किर्णाको संख्या
जुका, उपिया, उडुसको संख्या
अझै सानो सानो सुलसुलेलाई त
मार्नै असम्भव होला सरकार ?
यो सब
श्रीपेचधारीले हुर्काएर
वा तपाई गणतन्त्रवादी भएर ?
सानो सानो झुन्डहरु त
अचेल राष्ट्रको मुलघरदेखि
तमाम हेडसरहरुको दैलोसम्म
समस्या बनेर बसिराछन् रे
यस्तो बेला
म बोलुम् कि नबोलुम् सरकार
लु भनिदिनु पर्यो अब त ?


(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button